हात्माकथा ३: रक्तपात टरेको त्यो दशैं


मैले काँधमा भिरेको भरुवा बन्दुक झिकेर दुईपटक हावामा पड्काएँ र कड्किएँ, 'राणा र राजा म चिन्दिनँ। नेपाल सेपाल मलाई थाहा छैन। मलाई दुईघन्टाभित्र ५ सय च्याङ्ग्रा चाहियो। त्योभन्दा जति कम हुन्छ त्यति लाश गिराइदिन्छु'। यो घटनापछि व जोङजुङ आफै मलाई भेट्न आए र  तिब्बती व्यापारीहरुलाई च्याङ्ग्रा दिन आग्रह गरे।


######





[caption id="attachment_627" align="alignright" width="383"] उबेला तिब्बतबाट हिँडाउँदै ल्याइएका च्याङ्ग्रा।
तस्वीर सौजन्य: म्याग्दी अनलाइन[/caption]



भदौसम्ममा त बारीमा कोदो रोपेर पनि सकिन्थ्यो। असार साउनमा रोपेको धान गोडेर पनि सकिन्थ्यो। काम गर्नेहरुका खुट्टाका औंलामा हिलोले खाएर बनेका घाउको खत भर्खर भर्खर बिसेक भइसकेको हुन्थ्यो। अनि चटारो हुन्थ्यो दशैंको। कुरो त्यही ८८ वा ८९ सालको हुनुपर्छ। भीम शमशेर प्रधानमन्त्री थिए भनेपछि ८९ साल नै हुनुपर्छ। सँधै हुने खानेले घर घरमा खसी काट्ने,  हुँदा खानेले हुने खानेकाबाट एक बिसौली मासु लगेर दशैं मान्ने चलन थियो। गाउँ समाजमा हुने यस किसिमको असमानता देखेपछि म दशैं मनाउनै सक्दिनथेँ। साँझ बिहान खानेबेलामा त्यो एक बिसौली मासु बोकेर निन्याउरो अनुहार लिएर घर फर्केका मान्छे देख्थेँ, तिनका बालबच्चा सम्झिन्थेँ।

राणा शासनको जगजगी थियो। पिताजी (बिपी जिपीबाउका बाबु कृष्णप्रसाद)ले राणा शासनको विरुद्ध बिगुल फुकेको बेला थियो। गाउँका द्वारे, डिट्ठाहरुको दबदबा थियो। म त नजन्मिँदैदेखिको झोंक्की र हठी स्वभावको मान्छे। अब यसरी हुन्नँ, कसैले चाहिँ सिंगै खसी ढाल्ने, कसैले चाहिँ बिसौलीले दशैं धान्ने? मनमा छटपटी बढ्यो, हुटहुटी भयो। मैले गाउँका डिट्ठालाई बोलाएर भनेँ, 'सुन डिट्ठा, गाउँमा जम्मा ५/६ घरमा सिंगै खसी ढल्छन्, अरु बाँकि तिनै खसी ढलाउनेहरुले दयाले दिएको एउटा पुच्छर, कोही एउटा राजखानीले दशैं टार्छन्। यो अन्याय भयो।' डिट्ठाले हात मल्दै धनुष्टंकार पोजमा भने, 'साना मुखिया हजुर, राजा हजुरहरुले चलाएको चलन, मैले के गर्न सक्छु र!' मैले आदेश दिएँ, अन्त के हुन्छ मतलब भएन तर अब यो गाउँमा सबैले समान रुपले दशैं मनाउँछन्। दशैं आउन पुगनपुग एक महिना बाँकी थियो। के गर्ने के गर्ने भन्ने छटपटी भयो।

ममा कोइरालाको रगत बगेको थियो। चितायो कि बितायो स्वभावको मान्छे। चुप लाग्ने कुरै थिएन। मैले गाउँका केही हुँदा खानेहरुलाई जम्मा पारेँ र भनेँ, ल जाम् तिब्बत। पहिला त सबै छक्क परे, साना मुखियाले तिब्बत किन जाम् भन्नु भो भनेर। हुनपनि त्योबेला म भर्खरै हजुरबाको शरीरमा थिएँ। मैले भनेँ, 'अब तिब्बतबाट च्याङ्ग्रा ल्याएर एक घर एक च्याङ्ग्रा बाँड्ने। गाउँमा अब भोजै भोज मनाउने।' डिट्ठाले चुइँक्कै गर्न सकेनन, मात्र मुन्टो हल्लाए।

#######


१० जना भएर राडी, चामल, सातु ढाकरमा कसेर लागियो तिब्बत। ११ दिनका दिन तिब्बत पुगियो। उता तिब्बतमा राणाहरुले पहिल्यै सरकारलाई भनेर १५ सय च्याङ्ग्रा नेपाल खाल्डोमा पठाउनू भन्ने अर्डर गरेका रहेछन्। हामी पुग्दा त कोही पनि व्यापारीले च्याङ्ग्रा दिनै नमान्ने। यता म १० जना मान्छे लिएर ११ दिन धाएर पुगेको छु। १३ औं दलाइ लामाको निधन भइसकेको अवस्था थियो। तिब्बतले चीनलाई ल्हासामा अफिस खोल्ने अनुमति दिइसकेको थियो। ल्हासा अफिसमा तिब्बत मामला हेर्ने व जोङजिङ हाकिम थिए।

मेरो रीसले टुप्पी काट्यो। नेपालका राजा त्रिभुवन थिए त्योबेला। तिनको खासै केही कुरा बिक्थेन। राणा प्रधानमन्त्रीले जे भन्यो त्यही सही थाप्थे। त्यसैले मैले नेपाल मान्छे पठाएर राजा वा राणासँग कुरा गर्ने जरुरत नै ठानिनँ। उसैपनि म भिमशमशेरलाई भेट्न नेपाल गएको भए उबेलै राणाशासनको इहलिला समाप्तै हुन्थ्यो मेरो रीसमा परेर। मैले काँधमा भिरेको भरुवा बन्दुक झिकेर दुईपटक हावामा पड्काएँ र कड्किएँ, 'राणा र राजा म चिन्दिनँ। नेपाल सेपाल मलाई थाहा छैन। मलाई दुईघन्टाभित्र ५ सय च्याङ्ग्रा चाहियो। त्योभन्दा जति कम हुन्छ त्यति लाश गिराइदिन्छु'। यो घटनापछि व जोङजुङ आफै मलाई भेट्न आए र  तिब्बती व्यापारीहरुलाई च्याङ्ग्रा दिन आग्रह गरे। सबैको सल्लाहमा एक घर दुई च्याङ्ग्रा दिने निर्णय गरे र हामीले ५ सय च्याङ्ग्रा पायौं। मैले कसैलाई गोली हान्नु परेन र दशैंको मुखमा रक्तपात टर्‍यो।

#######


ल्हासाको बाटो ५ सय च्याङ्ग्राको लहर हिँडाउँदै ल्याउँदा बल्ल दशैं आएजस्तो लाग्यो। ठाउँ ठाउँमा मान्छेको ताँती हुन्थ्यो च्याङ्ग्रा हेर्न। हुन पनि त्योभन्दा पहिले राणाहरुले बाहेक कसैले त्यसरी च्याङ्ग्राको बथान उठाउनै पाउँदैन थे।तिब्बत जानु अघि नै डिट्ठालाई २० मुरी धान भिजाएर चिउरा कुटाउन आदेश दिइसकेको थिएँ। ५ सय च्याङ्ग्रा खेदेर तिब्बतबाट हिँडेको १३ दिनमा गाउँ पुगियो। गाउँ पुग्दा १३ वटा च्याङ्ग्रा कम भइसकेका थिए। बाटोमा दिनको एउटा च्याङ्ग्रा खाइएछ। १० जना भरिया त सुँगुर मोटाए झैं मोटाएका थे गाउँ पुग्दा। उता गाउँमा २० मुरी धानका चिउरा तयार थिए। सबैको सल्लाहमा फूलपातीका दिन च्याङ्ग्रा काट्ने निर्णय भयो। त्यही दिन पीङ् हाल्ने, साँझ डिट्ठाको आँगनमा नाचगान गर्ने कुरो भयो।

फूलपातीको बिहान ५ बजेदेखि नै गाउँलेहरु जम्मा भइसकेका थिए। एउटा सिंगै बारीको पाटो सम्याइएको थियो। कोही पानी तताउने, कोही पीङको डोरी बाट्ने, कोही रोटे पीङका काठ रन्दा लाउने काममा व्यस्त। गाउँमा कहिल्यै नमनाइएको दशैं यसपाली मनाइँदै थियो। महिलाहरु बिहानैदेखि घाँस दाउरामा लागेका थिए। आज उनीहरुले पकाउनू नपर्ने आदेश भइसकेको थियो। तिब्बतबाट फर्किँदा ल्हासाको बजारका १० ओटा कपडा व्यापारीकाबाट थानथानका कपडा उठाइएको थियो। ४ गाउँमा दर्जीलाई कपडा सिलाउन बोलाइएको थियो। कपडा नाप्ने, कपडा काट्ने, सिलाउने, स्त्री लाउने सब छुट्टै थिए। यो बडा ठूलो उत्सव थियो। न डिट्ठा, न बिचारी, न डकर्मी, न सिकर्मी, सब बराबर, सब एकै ठाउँमा। यो एककिसिमको क्रान्ति थियो। यो सब मेरो हठीपनको परिणाम थियो।

केटाकेटीहरु बारीको यो कुना र त्यो कुना दौडिरहेका थिए। राति डिट्ठाको आँगनमा नाचगान गर्नका लागि पाल, मइन्टोल, मारुनी सबको तयारी पनि चल्दैथियो। भुइँमा मकैका ढोड विच्छ्याइएको थियो। यो विशेषप्रकारको दशैं थियो। सबै काम भनेजस्तै भएको थियो। दिउँसो भोज गरेर बाँकी च्याङ्ग्रा सबैलाई बराबरी बाँडियो।
########
त्यो सालपछि हरेक साल तिब्बतबाट च्याङ्ग्रा ल्याउने क्रम जारी भयो। पछि म हजुरबाको शरीरमा छिप्पिँदै गएँ। हजुरबाको शरीरबाट बुबाको शरीरमा आउपुग्दा म एककिसिमले अल्छे भइसकेको थिएँ। पहिलाको जोश ममा बाँकी थिएन। त्यसपछि मैले च्याङ्ग्रा लिन तिब्बत नजाने निर्णय गरेँ। त्यसको बदला जिल्लाभरीबाट च्याङ्ग्रा जम्मा गर्ने। च्याङ्ग्रा कम भए राँगा भए पनि उठाउने। आखिर मतवालीलाई च्याङ्ग्राभन्दा राँगै मन पर्थ्यो।

कुरो २००३ सालतिरको होला। पद्मशमशेर राणा प्रधानमन्त्री थिए तर रवैया फेरिएको थिएन। यता कांग्रेस पनि उत्पात मच्चाउँदै थियो। दशैंको १ महिना अगाडिदेखि नि म १५ जना मान्छेसहित च्याङ्ग्राको खोजीमा हिँडेको थिएँ। जहाँ च्याङ्ग्रा भेटिन्छ त्यहीं हिसाबकिताब गरेर गाउँ पठाइदिन आदेश दिँदै हिँडेको थिएँ। ओखलढुंगाको माम्खामा हो जस्तो लाग्छ, एकजना कटवाल थरको लुरेलुरे, कस्सेर फुक्दा ढल्लाजस्तो, तर बच्चैदेखि दादागिरी गर्ने। मेरो विचारमा उबेला त्यही ३/४ वर्षको हुँदो हो त्यो फुच्चे। हाम्रो गाउँका कसैले पनि कसैलाई च्याङ्ग्रा दिँदैनन् भन्दै जोरी खोज्न आए। तिनी पछि आर्मीको ठुलै पदमा पुगे जस्तो लाग्छ। हजुरबाको शरीरमै हुँदा तिब्बत थर्काएको मान्छेका अघि जाबो एकजना फुच्चे पाखुरा सुर्किँदै उभिएको थियो। मैले मेरो देब्रे हात ती व्यक्तिको काँधमा राखेँ। अघिसम्म पाखुरा सुर्किँदै उफ्रेका ती व्यक्ति थचक्कै बसे र स्याना मुखिया हजुर, गल्ती भयो भन्दै थरथर काम्न थाले। यहाँ पनि खासै रक्तपात हुने अवस्था आएन।

#######

अहिलेको दशैंको के कुरा गर्नू र खै? व्यवस्था फेरियो, छिमेकी फेरिए। देश फेरियो। तर डिट्ठा उही छन्, बिचारी उही छन्। एउटा च्याङ्ग्रा काट्नेहरु चारोटा काट्ने भए, एक बिसौली मासुले दशैं टार्नेहरु बिसौली पनि किन्न नसकेर एक पाउ मासुमा दशैं टार्न थाले। अझ हुनेहरु च्याङ्ग्रा काट्न दशैं पर्खिनै छोडे, नहुनेहरुले दशैं कहिल्यै नआओस् भन्नुपर्ने अवस्था आयो। रक्तपात मच्चाउने जोश पनि रहेन आफूमा र परदेशी भइयो। अब परदेशबाटै मासु आउँछ। मिति हेर्दै मासु किनिन्छ, ट्विटर र फेसबुक हेर्दै दाँत कोट्याइन्छ। पसलमा औषधिभन्दा सहजै मदिरा पाइन्छ, प्राय: पिइन्छ, कहिलेकाहीं मातिन्छ र नाचिन्छ। न त दशैं पर्खिइन्छ न त बिदा पर्खिइन्छ 😃

 हात्माकथाभागएकहात्माकथाभाग

Comments

Popular posts from this blog

देश छोडेका ५ बर्ष

भड्किएका हामी, बतासिएको बहश

निद्रा, तन्द्रा, भ्रम र यथार्थ