२०३६ सालमा जनमत संग्रहको प्रचार प्रसार भैरहेको थियो। सुधारिएको पञ्चायत कि नसुध्रेको प्रजातन्त्र भन्नेमा व्यापक तयारी थियो। पञ्चायती शासकहरु जोडबलले पञ्चायत सुधार्छौं भन्दै उफ्रिरहेका थिए। म जन्मेकै थिइनँ।Me

उबेलाका जिल्ला सभापति थिए। बडेमानको भुँडी भएका। उनी एउटा सेतो घोडा चढ्थे, हट् घोडा हट्। ती सभापति हाम्रो घरमा आए। घोडाबाट ओर्ले र बुबालाई पञ्चायतमा भोट हाल्न भने। म जन्मेकै थिइनँ तर मसँग जन्मिने धैर्य नै थिएन। प्रजातन्त्र र स्वतन्त्रताको पक्षपाती मजस्तो मान्छेका बाउलाई पञ्चायतलाई भोट हाल्न उक्साउने? । म सिधा बुबाको जिब्रोमा आएँ र सभापतिलाई भनेँ, ‘तपाइँलाई कसले अधिकार दियो पञ्चायतलाई भोट माग्न? प्रजातन्त्र हाम्रो आस्था हो, पञ्चायतलाई भोट हाल्न मेरो छाती चिरिनुपर्छ। ओखलढुंगाको मान्छेलाई पञ्चायतलाई भोट हाल्नुस् भन्ने?’

सभापतिले भने, ‘एकपटकलाई पञ्चायत सुध्रिने मौका दिनुस्, तातो रीस नगर्नुस्।’ मैले मान्ने कुरै थिएन। ‘जसले प्रजातन्त्रलाई भोट हाल्न रोक्छ, त्यसलाई अगाडि लाइनमा बसेर म भुटदिन्छु। तपाइँलाई थाहा छ, ओखलढुंगामा बच्चा जन्मिँदा समेत प्रजातन्त्र, स्वतन्त्रता भनेर रुन्छ।’ उनी केही हच्किए। मैले त मिलाएर गर्नुस् भनेको हुँ, आगे तपाइँको मर्जी। भोलि यही समाजमा बस्नुपर्छ भन्दै आँखा तरे। र फेरि हट्ट घोडा हट् गर्दै गए। धन्न केही अनर्थ भएन र जनमत संग्रहमा रक्तपात टर्‍यो।

*** ***

२०४६ सालमा बहुदलीय व्यवस्था जिन्दावाद भन्दै नारा लाग्न थाल्यो। गाउँमा जान्नेसुन्नेहरु झन्डा बोकेर नारा लगाउँदै हिँड्न थाले। नारामा के भन्थे थाहा छैन तर हामी फुच्चेहरु चाहिँ सिमाली र बाँसका लौरा बोकेर दौडिन्थ्यौं। झटन झटन- जिन्दावाद भन्दै लौरा माथि माथि उठाउथ्यौं। एकदिन नारा लाउँदै गाउँ डुल्ने क्रममा पञ्चायती खेमाकाहरुले डाँडाबाट घेरा हालेछन्। म स्कुलबाट भर्खर घर पुगेको थिएँ। गाउँमा एककिसिमको डर व्याप्त थियो।

मेरो चुप लागेर बस्ने स्वभाव थिएन। पञ्चहरुले घेरा हालेको ठाउँतिर अघि बढेँ। हेर्छु त, बहुदलबादीहरू तल खोलामा छलिएर बसेका छन्, पञ्चहरू डाँडामा। माथिबाट ढुंगा लडाएर मार्लान् भन्ने त्राही त्राही छ। बहुदलबादीहरू त्यही १०-१५ को संख्यामा थिए, उता पञ्चहरुको ठुलो ग्यांग। मैले झट्ट दिमाग लाएँ। ५ जनाजति तल खोलैमा बस्ने र पञ्चहरुलाई भुलाउने। बाँकी सबै छलिएर पञ्चभन्दा माथि डाँडामा जाने र आक्रमण गर्ने।

बहुदलबादीहरुलाई मेरो जुक्ति मन पर्‍यो। मेरो अगाडि एकजना मभन्दा उमेरमा अलि ठुलो दाजु थियो। उ त छलिएर हिँड्नुपर्नेमा नडराई पञ्चहरुको सिधै हिँड्ने। मैले भनेँ, ‘दाजु, लुकेर हिँड्नुस्, ढुंगा लडाए भने त मरिन्छ।’ उनले भने, ‘यी मुला पञ्चहरुको त्यत्रो हुति नै छैन। ठुलो समुह देखाएर तर्साउने मात्र हुन्। बहुदलका लागि ज्यान दिइन्छ।’ त्यसदिनदेखि उनीप्रति मेरो सम्मान बढेर गयो। उनले भन्दा पो थाहा पाएँ म पनि सिधै तलबाटै हिँडिरहेको रहेछु।

हामी लुकेरै पञ्चभन्दा माथि पुग्यौं। उनीहरुको छेउबाटै एउटा ढुंगो लडायौं। हामी उनीहरूलाई लाग्ने गरी ढुंगा लडाउन सक्थ्यौं। तर हामी रक्तपात होस् भन्ने चाहन्नथ्यौं। भोलि त आखिर मिलेरै बस्नुपर्छ, दाजुभाइ नै हौं भन्ने हाम्रो ध्येय थियो। उनीहरुले तलबाट ढुंगा हानेर तर्साउन खोजे। हामीले फेरि अर्कोतिरबाट ढुंगा लडायौं। ढुंगा उनीहरुको छेउबाटै गयो। अन्तत: उनीहरु हार मानेर भागे।

***  ***

२०५८ सालको एक महिना। पल्लो गाउँमा एकजना पूर्व पञ्चको हत्या भयो। हत्या त्योबेलाका माओवादी भनिने अराजक जत्थाले गरेको थियो। हत्या रातिनै भएकोले बिहानसम्म त्यसको हल्ला हाम्रो गाउँसम्म आइपुगेको थियो। मेरो मन भत्भती पोल्न थाल्यो। म एकपटक मेरा भान्दाइसँग प्रौढ शिक्षाको चेकजाँचका क्रममा ती पञ्चको घर पुगेको थिएँ। उनकी श्रीमतीले हामीलाई घ्यूमा मेथी पड्काएर बाक्लो दूध चिया ख्वाएकी थिइनँ।

मेरा दिमागमा यी सबै दृश्य चलचित्रको कथा जस्तै गरी आइरहेको थियो। मैले आफूलाई रोक्नै सकिनँ। बिहान चिया पनि नखाइ त्यता दौडिएँ। म पुग्दा ती पूर्व पञ्चको शव आँगनमा लडिरहेको थियो। प्रहरी मुचुल्का उठाउँदै थियो। उनको हत्या हलोले हिर्काएर गरिएको रहेछ। मलाई असह्य भयो। रीसले आँखै देखिनँ। लुरुक्क परेर छेउमा उभिएका एकजना गाउँलेलाई सोधेँ, ‘माओवादी कता भागे?’ ती गाउँलेले भने, ‘खोइ, राति यहीं मास्तिर बसेछन् र बिहान सखारै भागेछन्।’ म ती माओवादीलाई खोज्दै बाटैबाटो घरतिर लागेँ। बाटोमा कतै पनि माओवादीको चालचुल थिएन। उनीहरूलाई नभेटेपछि स्वभाविक रुपमा रक्तपात टर्‍यो।

***       ***

२०५६ साल। म सदरमुकाम छेउमा फूपुको घर गएको थिएँ। मेरा काका गाविस अध्यक्ष हुनुहुन्थ्यो। कांग्रेसबाट जित्नुभा’को। काकाको बासै सदरमुकाममा हुन्थ्यो। म पनि दुई चारदिन काकासँगै सदरमुकाम बस्ने योजनामा थिएँ। तर काकाले उता गाउँतिर पनि रेखदेख गर्नुपर्छ भन्नुभएपछि म  सदरमुकामबाट फर्किँदै थिएँ।

म स्कूलबाट अलि तल पुगेको थिएँ। मेरो घरबाट १ घन्टाको दुरीमा थिएँ म। बाटोमा सेनासँग जम्का भेट भयो। सेनाले चेकिङ् गर्न खोज्यो। ‘कोइराला भन्ने चिनिनस्? बाटो छोड्छस् कि जागिर खाइदिऊँ?’ भन्या सेना लगलग काम्यो। बच्चैदेखिको झोंक्की स्वभावको मान्छे थिएँ। त्यसमाथि गाविस अध्यक्षको भतिजो। मेरो रीस मर्ने कुरै भएन। सेनाको हातबाट फ्याट्ट बन्दुक खोसेँ। उल्टोपटीबाट एक दिएँ र भनेँ, ‘आइन्दा मान्छे चिनेर चेक गरेस्’। बिचरो रुन मात्रै नसकेर घुँडा मारेर माफी माग्यो। सिपाहीले घुँडा मारेर माफी मागेकै कारण यो रक्तपात पनि टर्‍यो।

*** ****

गाउँमा म बदमासको राजा नै थिएँ। कहिलेकाहीं देशका युवराजका बारेमा सुनेका कथाले मेरो जीवनमा खुबै प्रभाव पारेका थिए। म घरमा कहिल्यै बस्दिनथेँ। कहिले कसकोमा, कहिले कसकोमा सुत्ने। एकदिन बिहान ब्रस बोकेर धारामा मुख धुन जाँदै थिएँ, गाइँगुइँ सुनियो। गाइँगुइँ मेरै बारेमा थियो। एकजना गाउँभरी कै कुरौटे काकी (गाउँभरीका महिलालाई काकी नै भनिन्थ्यो) ले मेरो चरित्रको बारेमा हल्ला फिँजाइछिन्।

धारामा ती काकी पनि थिइन्। म केही बोलिनँ। मुख धुएँ, टाउको नुहाएँ। ती काकीले पानीको गाग्री भरिन्। उनी अघिअघि म पछिपछि। उनी पानीको गाग्रो बोकेर घर छिरिन्। म चाहिँ उनलाई आची ख्वाउँछु भन्दै एउटा दाउरामा आची बोकेर उनको घरभित्र छिरेँ। त्यसपछि त गाउँमा हंगामै भयो। पञ्च भलादमी बसे। मेरा आँखामा सिधा नहेरी हात मल्दै पञ्च भलादमीले ‘भाइ, एकपटकलाई माफी माग्देऊ, तिम्रो इज्जत बढ्छ’ भने। म त सानैदेखिको झोँकी। मैले गल्ती नगरेको कुरामा किन माग्ने माफी? ‘म माग्दिनँ माफी। मेरा बारेमा अफवाह फैलाउने आची खाने नै हो’ भनेर बम्किएँ। पञ्च भलादमीले चुँ पनि बोल्न सकेनन्। आखिर उनीहरू हच्किए र अर्को एउटा रक्तपात टर्‍यो।

*** ***

मैले जसरी पनि काठमाडौं त जानैपर्छ भन्ने सोच आयो। राजधानीजस्तो ठाउँ, एकपटक पुग्न पाए जीवनमा केही प्रगति गर्न सकिन्थ्यो कि झैं लाग्यो। विराटनगर बस्नै मन लागेन। सानामा बुबाले भन्नुहुन्थ्यो, ‘उमेर पुगेको छोरो घरमा बस्ने हैन। हामी १६ वर्षको उमेरमा त कलकत्ता पुगिसकेका थियौं।’ यो वाक्यले च्वास्स घोचिराख्थ्यो। ‘कलकत्ता नसकेपनि काठमाडौं त पुग्छु,’ मैले अठोट गरेँ। दाजुलाई भनेँ, मानेन। मैले जिद्दी छोडिनँ। एउटा पेन्ट र टिसर्ट झोलामा हालेँ र १ हजार बोकेर हिँडेँ।

त्यो बेला ‘गजराज भिभिआइपी कोच’ सारै चर्चित बस थियो विराटनगर-काठमाडौं चल्ने नाइट बस। फिल्म देखाउँदै ल्याउँथ्यो। कञ्चनबारीबाट त्यही बसमा चढेँ। काठमाडौं आइपुगियो। नयाँ बसपार्कमा ल्याएर बसले ओराल्दियो। कसैलाई चिनेको छैन, जानेको छैन। कहाँ जाने? भगवान भए हात थाप्लान् भनेर बसपार्कबाट बाहिर निस्कँदै थिएँ, काकाको छोरो टुप्लुक्कै। उसले रातोपुलमा मामाको छोराको कोठामा ल्याएर छोड्दियो।रातोपुलमा लामो समय बेरोजगार भएर बसियो।

भाग्यले एउटा जागिर पाइयो मार्केटिंगको। तलब उबेलाको ३ हजार। काठमाडौंमा क्याबिन रेस्टुराँको खुब चर्चा थियो। तलब आएको दिन रातोपुल कोठा नगइ सिधै पुरानो बानेश्वरको क्याबिन रेस्टुराँ छिरेँ। बिएर मगाएँ। चिकेन चिल्ली मगाएँ। क्याबिनमा एक्लै छु। वेट्रेस मगाको कुरा ल्याउँछन्, जान्छन्। मसँग त बस्दैनन् त। सानैदेखि झोंकी स्वभाव मेरो। म सिधै काउन्टरमा गएँ। ‘के हो? तपाइँका वेट्रेस मलाई साथ दिँदैनन्। यही हो सेवा?’

रेस्टुराँवाल डरायो। उसले निहुरिएरै भन्यो, ‘सर माफ गर्नुहोला, म एकजना पठाइदिन्छु। हजुर हल्ला नगरी बसिदिनुहोला।’ मेरो रीसको पारो तातिसकेको थियो। ‘म किन चुप लाग्ने? यो रेस्टुराँका सबै ग्राहक बोलाएर यहाँ हंगामा गर्दिन्छु।’ रेस्टुराँको मालिकले खुट्टै ढोगुँला झैं गर्‍यो र भन्यो, ‘भैगो सर, म दुईटी पठाइदिन्छु।’ म कयाबिनमा गएर बसेँ। दुईटी फ्यात्त परेका वेट्रेस आएर मेरा दुईतिर बसे। रेस्टुराँवाला पछि सरेकाले यो पटकको रक्तपात पनि टर्‍यो। तर ती वेट्रेसले  के के मगाए कुन्नि, बील तिर्दा त एकमहिनाको तलब झ्वाम्।

(नोट: यो अटोबायोग्राफीको एक अंश ट्विट गरेपछि आदरणिय दाजु भीम घिमिरेले मेन्सनमा हात्माकथा राम्रो छ भन्नुभएपछि यसको शीर्षक हात्माकथा राखिएको हो। जय नेपाल !)

Ananta Koirala

A Student of Journalism. Worked as Online Correspondent at News Nepal Network International Pvt. Ltd., Sub-editor in Jagadamba Publication, currently working as Correspondent at pahilopost.com. Interested in Nepali movie. Like to write commentary on social issue, Journalism and literature.

More Posts - Website

Follow Me:
TwitterFacebookGoogle Plus