मैले अलि कठोर आवाजमा भनेँ, ‘सरकार, यो गलत हुन्छ। आवेशमा नआइबक्स्योस्। यो कदम राजदरबारको लागि महँगो पर्छ। यो १७ साल होइन, जनता धेरै बुझ्ने भइसके। राजतन्त्र संकटमा पार्ने काम नगरिबक्स्योस्।’

Cover1मैतिदेवीको प्रहरी विट बाहिर म आधा होश र आधा बेहोशीको अवस्थामा थिएँ। मैले आफूलाई सम्हाल्ने कोशिस गर्दै आँखा खोल्ने प्रयास गरेँ। वरिपरी अँध्यारै अँध्यारो थियो। केही देख्दै देखिनँ। आफूलाई नियाल्ने प्रयास गरेँ। सर्ट त लगाएको थिएँ तर बटन खुल्लै थिए। सर्ट आफैले गरेको बोमिटले हिल्लै थियो। अझ तल नियालेँ, एउटा खुट्टामा मोजा मात्र थियो।

मैले आफूलाई उठाउने प्रयास गरेँ, तर सकिनँ, शरीर नै थरर काँम्प्यो। प्रहरी बिटतिर हेरेँ। खाली थियो। एकमनले सोचेँ, राम्रै भयो। कम्तीमा कसैले देखेन। संकटकालको बेला थियो। १० दिन पनि बितेको थिएन, त्यही बिटमा एकरात १२ बजे रक्सीले टिल्ल भएर साथीलाई रातोपुल पुर्‍याउन जाँदा त्यहाँका असईले ‘सर, हजुर यहीँबाट फर्किबक्स्योस्, अर्को सरलाई म पुर्‍याइदिन्छु, यसरी राति हिँड्नु खतरा छ’ भनेर मलाई घट्टेकुलो कोठासम्म पुर्‍याउन एकजना जवान खटाएका थिए।

पुरानो घटना याद आउनेबित्तिकै मलाई रुन मन लाग्यो। ती बिचरा असईले आज मलाई यो अवस्थामा देखे के भन्लान्? मन भतभती पोल्न थाल्यो। म उठेर प्रहरी बिटतिर नगइ सिधै घट्टेकुलो जानेतिर अगाडि बढेँ। ठ्याक्कै पारीपट्टि घरपटीको कपडा पसल थियो। समय बिहानै थियो। पसल खुलेको थिएन। म लड्खडाउँदै बाटोसम्म पार गरेँ र पारी पुगेर थचक्कै बसेँ। मेरा खुट्टा चलिरहेका थिएनन्। मेरो टाउको उठिरहेको थिएन। आँखाको माथिल्लो भाग पट्ट फुट्लाजस्तो गरेर दुखेको थियो। म थचक्कै बाटोको छेउमा बसेँ।

मैतिदेवीबाट पुरानो वानेश्वर जाने बाटोमा पुलको छेउमै झानेको सेकुवामा बेलुकी ८ बजेतिर पुगेको थिएँ। त्यहाँ उबेलाका नामी केही फिल्मकर्मीहरुका साथमा थिएँ म। उनीहरु सबैले मलाई माया गर्थे, इज्जत गर्थे। केही नयाँ अनुहारहरुले त मलाई ढोग्नै खोज्थे। म उनीहरुलाई आफूले फिल्मको स्क्रिप्ट लेख्दै गरेको र आफैंले प्रोडक्सन गर्ने कुरा सुनाउँथेँ। त्यतिकै भरमा पनि उनीहरु मलाई ज्यु हजुर गर्थे। म त्योबेला अत्याधिक रक्सी पिउने भएको थिएँ। कति खाएँ भन्ने हिसाबै नहुने गरी। कहिले घर पुग्थेँ, कहिले बाटैमा लड्थेँ। कहिले ट्याक्सीमा चढेर काठमाडौंका चर्चित ठाउँहरु चहार्थेँ।

***

मलाई याद छ- म ९ कक्षामा पढ्थेँ। हरेक साँझ खाना खाइसकेपछि हामीसँगै डेरामा बस्ने एउटा साथी बाहिर निस्किन्थ्यो। एकदिन म पनि उसको पछि लागेँ। उसले सरासर स्कूलको छेउको एक नेवारको होटल लिएर गयो। ती नेवार बुढाको खै के भएर हो ढाड कुप्रो परेको थियो। उनलाई हामी सबै कुप्रे साउ भन्थ्यौं। होटलको ढोका बाँसको भाटाले बुनेको थियो। सानो छाप्रो। तीन चारोटा काठका बेन्च र टेबल।

आँखा चिम्लेर र नाक बन्द गरेर रक्सी पिउन सुरु गरेको म पिउनेबेला आँखा र नाक दुवै खोल्ने तर पिइसकेपछि सबै बन्द गर्ने अवस्थामा पुगिसकेको थिएँ।

त्यहाँ केही अरु विद्यार्थी पनि थिए। म पनि साथीसँग एउटा छेउमा गएर बसेँ। साथीले के माग्यो सुनिनँ तर मेरो टेबल अगाडि स्टिलको गिलासमा ठ्वास्स गन्हाउने पानी आइपुग्यो। मैले गिलासमा नियालेँ। त्यो खानेकुरा नै हो भन्ने विश्वासै लागेन। नाक फुट्लाजस्तो गन्हाएको थियो। मैले साथीलाई हेरेँ, उसले मतिर हेरेर हाँस्दै भन्यो, ल आँखा चिम्लेर स्वाट्टै पार्। अँह, हिम्मत आएन। मैले फेरि साथीको गिलासतिर हेरेँ। उसले गिलासमा माझी औंलो हल्का डुबायो, बाहिर निकाल्यो र यसो भुइँतिर छर्क्यो। गिलास हातमा लियो र स्वाट्ट पार्‍यो अनि आँखा चिम्लेर हाआआआ गर्दै लामो स्वास फाल्यो। मैले दाहिने हातले आफ्नो गिलास बिस्तारै उठाएँ, आँखा चिम्लेँ, देब्रेहातको बुढी र चोर औंलाले नाक ट्याप्प थुनेँ र गिलास मुखमा लाएर एक सासमै सबै स्वाट्टै पारेँ। गिलास भूइँमा राखे, लसुनको पोटी गड्याम चबाएँ र हुर्रिँदै पसल बाहिर पुगेँ।

****

मैतीदेवीको चोकमा बसेर म यी कुरा सम्झिरहेको थिएँ। आँखा चिम्लेर र नाक बन्द गरेर रक्सी पिउन सुरु गरेको म पिउनेबेला आँखा र नाक दुवै खोल्ने तर पिइसकेपछि सबै बन्द गर्ने अवस्थामा पुगिसकेको थिएँ।मेरो छेउमा एउटा ट्याक्सी आयो र हर्न बजायो। मैले ट्याक्सीतिर हेरेँ। ट्याक्सीवालाले नमस्कार गर्‍यो। मैले उसलाई ठम्याउन सकिनँ। म आफैलाई ठम्याउन नसक्ने अवस्थामा थिएँ, उसलाई कसरी ठम्याउने?

मेरो शीर त्यसै पनि उठेको थिएन, त्यसमाथि कसैले मलाई त्यस्तो अवस्थामा पनि नमस्कार गरिरहेको थियो। म सरमले पानी पानी भएँ। म त्यहाँबाट उठेर भाग्न चाहन्थेँ, कतै लुक्न चाहान्थेँ तर मेरो शरीरले मलाई साथ दिइरहेको थिएन। ट्याक्सीवाल दाइ ट्याक्सीबाट ओर्ले, मेरो छेउमा आए र मलाई हेर्दै मुसुक्क हाँसेर सोधे, ‘सर, चिन्नुभएन? अस्ति पुतलीसडकको ताजमहल रेष्टुराँ बाहिरबाट मैले घर पुर्‍याएको के त !’ मलाई केही यादै आइरहेको थिएन। उनले अझै थपे, ‘हजुर घट्टेकुलो चोकको पत्रिका पसल र प्रेसको सर होइन त? सरले पसलमा केही सामान ल्याउँदा सँधै मलाई नै त बोलाउनुहुन्छ।’

म अवाक भएँ। तर मसँग केही उपाय थिएन। उनले मलाई म छोड्दिन्छु भन्दै उठाए। म उनको काँधमा हात राख्दै बल्लबल्ल उठेँ र ट्याक्सीको पछाडि सीटमा बसेँ। उनले ट्याक्सी स्टार्ट गरेपछि यत्ति भनेँ, ‘धन्यवाद दाइ, मलाई घट्टेकुलो चोकमा हैन, कोठामा छोड्नुहोला।’

***

घट्टेकुलो चोकमा मेरो मामाको छोराको पत्रिका पसल र प्रिन्टिङ प्रेस थियो। म प्रिन्टिङ प्रेसको सबै काम हेर्थेँ। दिनभरी प्रेसमा व्यस्त भएपछि बेलुकी सँघै भट्टी पुग्थेँ। मेरो कोठा मैतिदेवी र घट्टेकुलो चोकको बीचमा थियो- सुर्योदय स्कूलसँगै। कोठामा बस्ने दुईजना मभन्दा उमेरले सिनियर स्याङ्जाली दाइहरु थिए। एकजनाले एउटा फिलिम खेलिसकेका थिए। अर्काचाहिँ फिल्म बनाउँछु भन्दै बसेका।

योबेला मलाई केही कुराको दु:ख थिएन। पैसा प्रेसबाटै कमाइरहेको थिएँ। यता फिल्म लाइनतिरका साथीहरु भएपछि अरु कसलाई टेर्ने? म जे चाह्यो त्यही गर्ने भएको थिएँ र पुगेको पनि थियो। मसँग बस्ने दुईजना मध्ये एकजनाले त्रिचन्द्रबाट एमएस्सी गरेका थिए, केमा भनेर सोधिनँ। अर्काचाहिँ मानवशास्त्रमा मास्टर्स गर्दैथिए। म भने आइएमा मेजर म्याथ लिएर बल्ल बल्ल ब्याक दिँदादिँदा पास गरेको केटो। एकदिन कोठामा छलफल चल्दै जाँदा यी दुवैले मलाई जिस्काएरै सही तर मेरो इगोमा बम पड्काए। त्यो इगो यति बलियो बनेर आयो कि मैले तुरुन्तै क्याम्पस भर्ना हुने विचार गरेँ जर्नालिज्म लिएर। त्यसको लागि मैले काठमाडौंमा खाइपाई आएको जागीर त्यागेर विराटनगर पुगेँ घरपायक कलेज पढ्न।

विराटगरबाट प्लस टु पास गरेपछि बिए पढ्न फेरि काठमाडौं आइपुगेँ। काठमाडौं आइपुगेको भोलिपल्टैबाट एउटा महिला साप्ताहिक पत्रिकामा जागिर खान थालेँ। यो पत्रिकामा जागीर खाँदाको अनुभवको बारे कुनैदिन छुट्टै पुस्तक लेख्नुपर्ला 😉 केसम्म भनौं भनेँ, यो पत्रिकामा म हरेक दिन बेलुका जागीर छोडेर हिँड्थेँ तर भोलिपल्ट नयाँ जागीर खान फेरि त्यहीँ पुग्थेँ। अनि कलेजमा जागीर छोडेको र जागीर पाएको पार्टी हरेक दिन हुन्थ्यो मेरोतर्फबाट।

****

२०६१ साल, माघको महिना। जाडो आफ्नो उन्मत्त बैंशमा थियो। पत्रिकाको अफिस अनामनगरबाट कोठा फर्किन लागेको थिएँ। दर्बारबाट फोन आयो। पत्रिकाका प्रकाशकले फोन रिसिभ गरेका थिए। उनले अत्तालिँदै भने, ‘अनन्त बाबु, दर्बारबाट फोन छ, महाराजले कुरा गर्न खोजिबक्सेको छ।’ मलाई थाहा थियो, देशमा नयाँ केही हुनेवाला छ। केही समयअघिदेखि राजाका क्रियाकलाप शंकास्पद थिए। मैले फोनको रिसिभर समातेँ र भनेँ, ‘मर्जी होस् सरकार।’

फोनमा तत्कालिन राजा ज्ञानेन्द्र थिए। उनले भने, ‘अनन्त बाबु, तुरुन्त दरबार आउनुपर्‍यो। तपाइँसँग जरुरी सल्लाह गर्नुछ।’ मसँग ‘हस्’ भन्नुको विकल्प थिएन। माघ १९ गते साँझको ५ मात्र बजेको थियो। म ट्याक्सी लिएर दर्बार पुगेँ। मलाई लिन ढोकामै एकजना सेनाका अधिकारी पठाइएको थियो। म उनका पछि लागेर दर्बारको बैठक रुम पुगेँ। त्यहाँ राजा एक्लै बसेका थिए। उनको हातमा आधा सल्किएको चुरोट। एस्ट्रेमा ५ वटा ठुटा थिए। राजा तनावमा छन् भन्ने बुझ्न गाह्रो भएन। मलाई बस्न इशारा गर्नुको सट्टा राजा चुरोट एस्ट्रेमा छोडेर मेरो अघि उभिए। दुवै हातले मेरा काँधमा समातेर राजाले भने, ‘अनन्त बाबु, मैले शेरबहादुरलाई असक्षम घोषणा गरेर बर्खास्त गर्ने विचार गरेँ। अब मन्त्रिपरिषदको अध्यक्ष म आफैं बन्छु। जनताको चाहना पनि यही छ। माओवादीलाई पनि वार्तामा ल्याउँछु। यो वर्षैपिच्छे सरकार फेर्दै बस्न अब सक्दिनँ।’

मैले उनका हात मेरा काँधबाट झट्कारेर फालिदिएँ र अलि कठोर आवाजमा भनेँ, ‘सरकार, यो गलत हुन्छ। आवेशमा नआइबक्स्योस्। यो कदम राजदरबारको लागि महँगो पर्छ। यो १७ साल होइन, जनता धेरै बुझ्ने भइसके। राजतन्त्र संकटमा पार्ने काम नगरिबक्स्योस्।’ तर उनले मानेनन्। उनलाई उनका सल्लाहकारहरुले कान फुकिसकेका थिए। म उनीसँग रिसाएर दर्बारबाट निस्केँ। शेरबहादुरजीलाई तुरुन्तै फोन गरेर भनेँ, ‘तपाइँ तुरुन्त राजीनामा दिनुस्, राजाले तपाइँलाई असक्षम घोषणा गरेर बर्खास्ती गर्दैछन्।’ तर शेरबहादुरजीले मान्नुभएन, वहाँ आफूलाई दर्बारको विश्वसनीय पात्र ठान्नुहुन्थ्यो।

शेरबहादुरजी पछि मैले गिर्जाउलाई फोन गरेँ र भनेँ, ‘गिर्जाऊ, राजाले सत्ता हातमा लिँदैछन्। तपाइँहरुलाई पक्राउ पनि गर्न सक्छन्, चनाखो रहनुहोला।’ गिर्जाऊलाई पनि मेरो कुरा खासै विश्वाशिलो नलागेको अनुभव गरेँ। वहाँलाई पनि राजदरबार र राजपरिवारलाई आफूले जत्ति अरुले नचिनेको भ्रम थियो। त्यो केही हदसम्म सत्य भए पनि पुरै सत्य होइन।

म दरबारबाट ६:३० तिर निस्केको थिएँ। केही फोनकल गरेपछि म भट्टी खोज्न दौडेँ। मेरो मनमा छटपटी बढिरहेको थियो। राजाले चाल्ने कदमले निम्त्याउने भयावह स्थितिको कल्पनाले नै मेरो आङ जिरिङ्ग गर्थ्यो। मैले काम गर्ने पत्रिका राजनीतिक पत्रिका पनि थिएन अनि यो दैनिक पनि थिएन। त्यसैले मलाई यो ठूलो समाचार लेख्नुपर्ने कुनै वाध्यता पनि थिएन। अनि मलाई यो समाचार अर्कोलाई दिएर त्यसको व्यापार बढाउने सोख पनि थिएन। सबैभन्दा आनन्द त रक्सीसँगै यसलाई घुट्क्याउनुमा थियो। म चाबेल पुगेँ, एउटा भट्टीमा छिरेँ, एकप्लेट सुकुटीसँग एउटा रोयल स्गेग मागेँ र देशको बारेमा सोच्दै पिउन थालेँ। मातेर लट्ठ परेपछि न त देश, न त राजा। सबै सामसुम। बिहान उठेर पत्रिका पढ्दा पो थाहा पाएँ, राजाले बेलुकै शेरबहादुरजीलाई बर्खास्त गरेछन्।

कालान्तरमा यही कदम राजतन्त्र समाप्तिको कारक बन्यो। यसमानेमा पनि मलाई खुसी लाग्छ कि मैले भनेका धेरै कुराहरु सत्य भएर गए, भलै तत्कालिन समयमा मेरा सल्लाह कसैले पत्याएनन्।  

हात्मकथा भाग एक पढ्न यहाँ क्लिक गर्नुहोला।

यहाँ प्रयोग भएको फोटो अमृत दाहालले खिचेका हुन् 

Ananta Koirala

A Student of Journalism. Worked as Online Correspondent at News Nepal Network International Pvt. Ltd., Sub-editor in Jagadamba Publication, currently working as Correspondent at pahilopost.com. Interested in Nepali movie. Like to write commentary on social issue, Journalism and literature.

More Posts - Website

Follow Me:
TwitterFacebookGoogle Plus