शहरतिर झरेपछि थाहा भयो, बाटोको छेऊको घर घडेरीको भाउ कति धेरै हुन्छ। झन् घडेरीको तीनैतिर बाटो हुने हो भने त त्यो त सुनकै टुक्रा। बाँदर लड्ने ठाउँमा जन्मेको मजस्तोलाई भने यो तीनतिर बाटो र बीचमा घर हुँदा अनेक तनाव हुन्थे। रोडा ढुंगाले भरपुर बाटोमा कोही मान्छे चाँडोचाँडो हिँड्दा पनि ढुंगा बगेको आवाजले तर्साउँथ्यो। त्यसमाथि आफ्नो घरदेखि माथि कोही बित्यो भने आफ्नो घरकै बाटो मुर्दा घाटसम्म लगेको देखेपछि महिनौंसम्म डस्नाले दु:ख पाएको पीडा त कसले सम्झोस् 😉 राती ढिला निदाइयो वा राती अचानक ब्युँझियो भने त गयो ओच्छ्यान। बिहान उठेर दाजु बैनी कसलाई दोष लाउने भनेर कथा बुन्दाको हैरान। बारीमा किरा कराए पनि भुत हुन्थ्यो।

यी पीडाका कुरा हुँदाहुँदै पनि घरछेउमा बाटो हुँदा अर्को किसिमको दादागिरी देखाउन पाइन्थ्यो। स्कुलमा वा कतै कोहीसँग झगडा भयो र आफूले पिटाइ नै खाइयो भने धम्क्याउन पाइन्थ्यो- पख्, मेरो घरको बाटो त आउँछस् नि, म बाटै भत्काइदिन्छु अनि कसरी जान्छस् घर हेरुम्ला म पनि। जवाफ आउँथ्यो- तेरो घरबाट मात्तै छ बाटो, माथ्लो बाटो छैन? तल्लो बाटो छैन? तर पनि दादागिरी छोड्ने कुरै भएन। लु भो, अनि बेंसी जाँदा चैं काँबाड जान्छस्? उँडेर जान्छस्? आफ्नो घरभन्दा माथ्लो क्षेत्रमा घर भएकालाई पनि र तल्लो क्षेत्रमा घर भएकालाई पनि धम्क्याउन यो बाटो बडो उपयोगी हुने। मेरो एकजना जिग्री मगर साथी थियो, जो पछि नेपाली सेनामा गयो। सेनाको जागिर छोडेर आजकाल विदेशतिर छ। एकदमै रिसाहा। मसँग झगडा पर्दा एकपटक घरमुनीको बाटोको गौंडो नै भत्काइदिएको थियो 😉 रीस बाटोले मात्र भेट्दैनथ्यो। त्योबाटोको छेउमा भएको खेतको धान, बारीको कोदो सबले स्कुले झगडाको मोल चुकाउँथ्यो।

बाटोको छेउको घरको साह्रै पीडा दशैंका बेला हुन्थ्यो। घरदेखि माथ्लो भेग मगर बस्ती र दमाइँ बस्ती थियो। मगरगाउँ र दमाइ गाउँका धेरै दाजु, काकाहरु काठमाडौं बस्थे। जब दशैं आउँथ्यो अनि दिनदिनै काँधमा क्यासेट भिरेर, कालो चश्मा लाएर नयाँ सर्ट, पेन्ट, टिलिक्क जुत्ता टल्काएर, चिल्लो जुल्फी लर्काएर, एउटा सेतो टिनको बाक्सा बोकेको भरिया पछि लाएर लाहुरे आउँथे। अनि आफु तिनैलाई हेरेर घुटुक्क थुक् निल्दै बस्नुपर्थ्यो। कहिलेकाहीँ चाहिँ लाहुरेभन्दा पहिला भरिया आइपुग्थे। अनि घरमास्तिर भारी बिसाउँथे र कसको भारी हो, के के छ भनेर बेलिबिस्तार लाउँथे। भरिया दाइका बेलिबिस्तार कसले सुन्ने? हामी लाहुरे दाइलाई हेर्न कुद्थ्यौं अनि उनकै अघिपछि लागेर सँगसँगै हिँड्थ्यौं। अब लाहुरे दाइले हात समातिदिए, वा बोले भने त गाउँको राजा नै भइहालियो।

यी लाहुरे दाइहरुले लगाएका लुगा कति राम्रा, कति सुकिला। कति मिलेका। यता आफ्ना भने वर्षदिनमा बल्लबल्ल एकपटक नयाँ सिलाउन पाएका लुगा पनि आइरन नलगाएका, सेतो सर्टमा कालो धागोले टाँक लगाएका, नयाँ भए पनि टालेजस्ता लाग्थे। अनि त के चाहियो, लाहुरे दाइलाई हेर्‍यो, घुटुक्क थुक निल्यो। मनमनै सोच्यो- हाम्रा घरका पनि कोही लाहुरे भएका भए ! झन् पीडा त के हुन्थ्यो भने जसलाई मेरो घरको बाटो हिँड्लास् भनेर धम्क्याइएको हुन्थ्यो त्यसकै बाउ, दाजु लाहुरेका रुपमा टप्किन्थे। अनि आफूले धम्की दिएको चाहिँ लाहुरेको हात समातेर मुखमा एउटा चकलेट चुस्दै हातमा अरु दुईतीन चकलेट बोकेर खुट्टा उफार्दै हिँडिरहेको हुन्थ्यो। त्यस्तोमा बाटो छेउको घरको पीडा बर्णन गरिसाध्य नहुने। अनि अझ त्यसले छेउमा आएर तेरो घरको बाटो हिँड्न दिन्न भनेको हैनस्, यी हिँडें, के गर्छस्? भन्दै जिस्काउन पनि आउँथ्यो। अनि लाहुरेका अघि आफू के बोल्ने? आफ्नै टाउको ढुंगामा ठोकेर फुटाम् झैं लाग्थ्यो। घरबाट पैसा चोरेर चकलेट किन्न जाम् भन्न पनि गाउँमा पसलै थिएनन्। अर्को गाउँ पुग्नुपर्थ्यो।

चकलेटले नपुगेर अझ त्यसले आफ्नो मैलो च्यातिएको सर्ट वा गन्जीमाथि नयाँ सर्ट लाएको हुन्थ्यो। आफ्नामा दशैंका लुगा किन्नै बाँकी हुन्थ्यो या त किनिसकेको भए सिलाउनै बाँकी हुन्थ्यो। अनि झगडा शुरु हुन्थ्यो घरमा- भोलि नै घरमा दमै दाजुलाई बोलाउनु परो भनेर। तर दमै दाजुको फुर्सद हुनुपरो नि। कुनै कुनै लाहुरे दाइहरु बडा मजाका पनि हुन्थे। एकछिन बसेर पानी खाएर जानु परो भन्दै घरतिर छिर्थे। ओहो, कान्छा त कति ठुलो भैसकेछन् गाँठे, क्या सर्लक्कै बढेका भनेर मायालु पाराले हाँसेर बोल्थे। ओहो, नाक फुलेर ढुंगामा ठोक्किएला झैं हुन्थ्यो। अनि आश थपिन्थ्यो, अब चकलेट पाइने पक्का भयो, गिज्याइ गिज्याइ खाइन्छ भनेर सपना बुनिसकिन्थ्यो। यता लाहुरे दाइ ‘ल म गएँ है’ भोलिपर्सि आम्ला गफ गर्न भनेर बाटो लाग्थे। पानी चाहिँ खायो, एउटा चकलेट नि दिएन लोभीको भाँडो उभिण्डो भन्दै यता आफू खुट्टाको बुढी औंलाले भुइँ कोतर्दै बस्नुपर्थ्यो।

Ananta Koirala

A Student of Journalism. Worked as Online Correspondent at News Nepal Network International Pvt. Ltd., Sub-editor in Jagadamba Publication, currently working as Correspondent at pahilopost.com. Interested in Nepali movie. Like to write commentary on social issue, Journalism and literature.

More Posts - Website

Follow Me:
TwitterFacebookGoogle Plus