‘म कति लाचार छु भने हजुरसँगको सम्बन्धका बारेमा आफैसँग बाहेक कसैसँग बताउन सक्दिनँ।’

पुतलीसडकको क्याफे। २ बजे। क्याफे खाली खाली छ। काउन्टरमा एकजना बसेर क्याल्कुलेटरमा हिसाब गरिरहेका छन्। वेटरहरु खाली टेबल पुछ्दै, कहिले रुमाल यता मिलाउँदै, कहिले उता मिलाउँदै छन्। काउन्टरको ठ्याक्क अगाडि एकजोडी प्रेमी बसेका छन्। दुवैले आफ्ना एकोटा हातले गाला टेकाएका छन् अनि अर्को हात टेबलमुनी एकअर्काको हातमा छ।

Metro_Moscow_Above

यो फोटो इन्टरनेटबाट लिइएको हो, सायद कुनै गेमको हो। यो व्यापारिक प्रयोजनका लागि प्रयोग गरिएको हैन। अनि यो कथामा यो फोटो म्याच गर्छ जस्तो पनि लाग्दैन मलाई।

‘तिमी के खान्छौ?’ ध्रुवले कुरालाई मोड्न खोज्छ।

‘म केही खान्नँ, हजुर खाइस्यो, म हजुरलाई हेरेर बस्छु।’ संचिता जवाफ दिन्छिन्, ‘कतिदिन होला र मैले यसरी नजिकबाट हजुरलाई हेर्न पाउने।’

‘म त जहिल्यै पनि तिम्रै आँखा अगाडि, तिम्रो अनुहारको ठ्याक्क अगाडि हुनेछु, सँधै।’ ध्रुवले विश्वासको त्यान्द्रो तेर्साउन खोज्छ, ‘यो मोबाइल छ नि, हो त्यसको स्क्रिनमा टुप्लुक्क टुप्लुक्क म आइपुग्छु, प्रकाश छर्दै र आवाज दिँदै।’

***                      ***                        ***

‘ओ भाइ, आइस लेऊ न यार, कति सुस्त हो के सर्भिस्’, ध्रुव झोँकिन्छ। उसको ठ्याक्क अगाडिको कुर्सीमा बसेको संयम उसलाई एकटकले हेरिरहेको छ। ‘आफ्नो टेन्सन किन यो वेटरमाथि पोख्छस्?’ संयमले सम्झाउने स्वरमा भन्छ।

ध्रुव नेपालगन्ज गएको पनि २ वर्ष पुग्न लाग्यो। उसकी श्रीमती विधाता नेपालगन्जको अस्पतालमा नर्स छिन्। श्रीमतीको सरुवा मिलाउन नसकेर ध्रुव पनि दुईवर्ष अघि नेपालगन्ज सिफ्ट भयो। नेपालगन्ज पुगेपछि ध्रुवको नजिकको साथी भएको छ संयम। संयमको आफ्नै व्यापार छ। उसले ढुवानीको काम गर्छ। २५ भन्दा माथि उसका ट्रक छन् ढुवानीका। दुवैको जमघट गर्ने थलो बनेको छ सिद्धार्थ कटेज। ध्रुव ह्विस्की र भोड्का मात्र पिउँछ भने संयम बियर मन पराउँछ।

वेटरले आइसको भाँडो ध्रुव अगाडि राखिदिन्छ र जान्छ।

‘त्यसपछि के भयो?’ संयम ध्रुवको मनको सबै तुष पोखाउन चाहन्छ। उसले देखेको छ ध्रुवको आँखामा, उसको अनुहारमा- एउटा पीडा छ, उ रोइरहेको छ तर पनि उसका आँशु देख्ने कोही छैनन्। ‘छोड्दे यार, तैँले बियर थपिनस् त।’ ध्रुव कुरालाई मोड्न चाहन्छ, तर संयम भने जोड्न।

‘एउटा कुरा याद गरेको छस्?’ संयमले ध्रुवलाई सोध्छ, ‘जबजब तँ संचिताको कुरा गर्छस् नि, तेरो अनुहारमा एककिसिमको चमक आउँछ, तँ अनायासै मुस्काउन थाल्छस्। तँमा त्यसको छुट्टै जादु छ।’ ध्रुव आफुलाई सम्हाल्न खोज्छ र आफ्नो अनुहारलाई स्वभाविक बनाउने प्रयास गर्छ। आइस च्याप्ने चिम्टीले आइस निकाल्दै आइसको भाँडामा हाल्दै गर्छ। अनि एक टुक्रो आइस आफ्नो गिलासमा हालेर स्वाट्ट एक सट ह्विस्की पिउँछ।

***                ***                 ***

क्याफेको कुनापट्टीको टेबलमा केही महिलाहरु आइपुग्छन्। ध्रुव र संचिता केही सम्हालिए झैं गर्छन्। ‘तिम्रो अफिस जानेबेला भयो, ब्रेक सकियो।’ ध्रुव आफ्नो हातबाट संचिताको हात हटाउँदै भन्छ, ‘हिँड, जाउँ, धेरैबेर भयो।’

‘अहँ, मलाई जानै मन छैन। यहीँ बसौं न,’ संचिता पुन: हात समाउँदै अनुनय गर्छे। ‘हुन्छ नि त, यही क्याफे मै बसौं, एउटा बेड पनि हाल्दे भनौं, महिना महिनामा भाडा बुझाउँला। तिमले खाना नि बनाउनु परेन,’ ध्रुव संचिताको भावनालाई मजाक बनाउन थाल्छ। हुनत उसको बानी नै त्यस्तै छ र संचिता त्यो बानीसँग परिचित पनि छे। ‘हजुरलाई त जहिल्यै मजाक मात्र सुझ्छ है? मेरो माया त एकैथोप्पो पनि लाग्दैन,’ ध्रुवको छातीमा मुड्कीले बिस्तारै हान्दै संचिता लाडिन्छे।

‘माया? के हो त्यो भन्या? मलाई त तिम्रो माया इत्ति पनि लाग्दैन,’ संचिताको गाला चिमोट्दै ध्रुव जवाफ दिन्छ। ‘साँच्चै भनस्यो त, हजुर साँच्चै नेपालगञ्ज जान लाग्स्या हो?’ संचिता विस्मयकारी नजरले हेर्छे। ‘हो, थोडी न म दुनियाँ छोडेर जान लाग्या हो? मोबाइल छ, इन्टरनेट छ, जहाँ गएपनि तिम्रै अगाडि नै त हुन्छु, कत्ति गनगन गरेकी होला। तिम्लाई यति सजिलै छोड्छु जस्तो लाग्छ र?’ ध्रुव ढुक्क पार्न खोज्छ। ‘तैपनि त शहर छोडेर जाने भनेको त ठुलो कुरा हो नि, आफूले कमाएको नाम, पहिचान सबै छोडेर। फेरि, एउटै शहरमा हुँदा त भेट्न यति गाह्रो छ, झन् दोस्रो शहर पुगेपछि त के हो के हो नि!’ सञ्चिता लपक्कै छातीमा टाँसिन्छे।

****                    ****                   ****

‘आज त पिएकै छैनस् त, इम्युनिटी पावर सकियो?’, संयम ध्रुवको गिलासमा ह्विस्की थपिदिन्छ, ‘ हुनत तँ पिए पनि नपिए पनि यसै नशालु भएको छस् आजकाल। तेरो दिमाग। तेरो मन सब त्यही संचिताले लगी।’

‘अचम्ममा पर्छु। के छ त्यो केटीसँग, जसले मलाई सँधै लठ्याइरह्यो। न त टाढा भाग्न सकेँ, न त सँगै बस्न सकेँ, जति पर पर भाग्न खोज्छु झन नजिक नजिक पुगेको आभास हुन्छ, किन?’ ध्रुव एकोहोरो बर्बराउन थाल्छ। ‘तँलाई के लाग्छ? संचिताले चाहेर मबाट टाढा जान चाहेकी हो? वा उसले योसब उसको खुसीको लागि गरिरहिछे? अनि तँलाई लाग्छ उ मबाट टाढा छे?’

‘त्यो मलाई थाहा छैन, तँ आफै सोध् न। हुनत तैँले कसरी सोध्न सक्छस्, तँसँग हुति पनि त हुनुपरो। हुनत फेसबुकमा तँलाई ब्लक गरेकी छे क्यारे, भाइबर पनि हटाइछे मोबाइलबाट। नम्बर पनि ब्लक होला। बिचरा तँ।’ संयम ध्रुवलाई उकासिरहेको छ। उ ध्रुवको मनबाट संचिताप्रतिको प्रेमको भेल बगाउन चाहन्छ। ध्रुवको ह्विस्कीको ग्लासमा आइसको टुक्रो हाल्दै उ बकिरहेको छ, ‘अब बिर्सिदे त्यसलाई। भाउजूको बारेमा सोच्।’

‘यत्रो संगतमा पनि तैँले मलाई चिन्न सकिनस् है?’ ध्रुव रोउँला झैं गर्दैछ, ‘हुनत त्यति लामो संगत, त्यति गहिरो प्रेम हुँदा त सञ्चिताले मलाई बुझ्न सकिन, मेरो माया बुझ्न सकिन, तैँले के बुझ्छस्। अनि तँलाई लाग्छ, म सञ्चितासँग बोल्नै वा भेट्नै नसक्ने अवस्थामा छु? होइन, म उसलाई माया गर्छु र त्यो कुनै भावावेशमा वा कुनै शारिरीक आकर्षणको लोभमा हैन, भित्री मनदेखि, बिना स्वार्थ। योभन्दा मैले केही गर्नु छैन। उनले गरेका हरेक कार्य मलाई स्विकार्य छन् र मेरो केही गुनासो पनि छैन र रहनेछैन।’

‘अनि यसको अन्त्य के हो भनेर नि सोचेको छस्?’ संयम ध्रुवका आँखामा हेर्छ। उसलाई थाहा छ, ध्रुवले यसको उत्तरै दिँदैन वा दिएपनि गोलमटोल उत्तर दिनेछ।

‘यसको कुनै अन्त्य नै छैन। यो एउटा अन्त्यहीन अन्त्य हो। प्रेम सायद यस्तै हुन्छ, यसको शुरुवात हुन्छ तर अन्त्य नै हुँदैन, मृत्युपर्यन्त। ठ्याक्कै ग्याङ्गवारजस्तो, युद्ध त्यतिबेला सकिन्छ जब मृत्यु हुन्छ…।’

टिरिङ् टिरिङ् मोबाइल बजेको आवाज सुनिन्छ। ‘तेरो मोबाइल बजिरा’छ, भाउजूको होला,’ संयम ध्रुवलाई रोक्छ। स्क्रीनमा नाम देखिन्छ, विधाता खरेल। मोबाइलको स्क्रीनमा रातिको ११ बजिसकेको छ। ‘किन फोन गरिरा’? संयमसँग छु, तिमी खाना खाएर सुत। म एकछिनमा आउँछु,’ ध्रुव पोन काटेर हातमा फोन चलाइरहन्छ। स्क्रिनमा विधाता र ध्रुवको अँगालो मारेको फोटो चम्किरहेको छ। ‘हिँड् घर जाम्,’ ध्रुव उठ्न खोज्छ तर उठ्न सक्दैन। संयम उठेर ध्रुवलाई उठाउँछ र वेटरलाई बोलाउँछ, ‘भाइ, यसलाई गाडीसम्म पुराउन सहयोग गर न है।’

Ananta Koirala

A Student of Journalism. Worked as Online Correspondent at News Nepal Network International Pvt. Ltd., Sub-editor in Jagadamba Publication, currently working as Correspondent at pahilopost.com. Interested in Nepali movie. Like to write commentary on social issue, Journalism and literature.

More Posts - Website

Follow Me:
TwitterFacebookGoogle Plus