जतिबेला बच्चा थिइयो त्यतिबेला केटाकेटी नै थिइयो जस्तो लाग्छ के अहिले सम्झिँदा। खासमा म बच्चामा कस्तो थिएँ भनेर मलाई कसैले सोधे भने मसँग जवाफै हुन्नँ। अहँ, मलाई पटक्कै थाहा छैन म जन्मिँदा कस्तो थिएँ। बोल्न कसरी सुरु गरेँ, जन्मिँदा कसरी रोएँ, पहिलो शब्द के बोलेँ? दाँत आउने बेला गीजा दुखेर रोएँ कि रोइनँ? रोएको भए कसरी रोएँ? केही याद छैन मलाई। बडा काइदाको बात यो छ कि बच्चाबेलाको कुनै फोटो पनि छैन। आनन्द छ बरीलै। तर जतिबेलादेखिका कुरा सम्झिन्छु त्यतिबेलादेखि ‘भूत’का कुरा खुब सुन्थेँ। यति सुनिन्थ्यो कि भूतका कुरा त, भनि साध्य छैन। ‘भात खाइनस् भने भूत आउँछ’, ‘पढेर बस, नपढनेलाई भूतले लान्छ,’ ‘ज्ञानी बन्नुपर्छ नत्र भूतले लान्छ,’ यीनै हुन् बच्चामा धेरै सुनिएका धम्की।

दिमागका भूतले यस्तो नराम्रोसँग डेरा जमाएको थियो कि गाउँमा कोही मर्ने बित्तिकै अब त्यसको भूत आउँछ भनेर महिनौं डर लाग्थ्यो। आफ्नो त घर फेरि चारैतिर बाटोको बीचमा। घरदेखि माथिको गाउँका मान्छे जति मर्थे सबैलाई घाट लाने बाटो त्यही घर वरिपरीको। अनि त राति पिशाव लागेपनि बरु ओछ्यानमै छोड्दिने तर नउठ्ने हो। अनि त कति ओछ्यानमा सुसु गरियो गरियो नि। अझ आफूले सु गरेको हैन भनेर प्रमाणित गर्न सु गर्दा कट्टु जतापटि भिजेको छ त्यतै कोल्टो परेर सुतिन्थ्यो र बिहान उठ्दासम्म कट्टु सुकिसक्थ्यो। अनि त दोष या त बहिनीलाई या त दाजुलाई लगाउन पाइन्थ्यो।

भूतको कहानीले ठूलो हुन्जेलसम्म पनि छोडेन। गाउँमा एकजना मताने बुढी भन्ने थिइन्। गाउँमा नाम पनि अनेक अनेक हुने फेरि। कसैको नाम थाहा हुन्थेन। बाटाघरे कान्छा, बडहरे जेठा, राताघरे माइला, पुलामी कान्छा, घले माइला, घलिनी साइँली, अच्छामी बुढी, आले जेठा- यस्ता हुन्थे नाम। अनि अलि पढेलेखेका, जान्ने सुन्नेका नाम चाहिँ सबैलाई थाहा हुन्थ्यो। गाउँमा दमाइँ बस्ती पनि थियो। उनीहरु गरीब थिए अनि नाम पनि त्यस्तै- सुँगुरे साइँला, सुँगुरे माइला। अनि दमाइँमा पनि अलि धनी भए भने चाहिँ गमबहादुर नाम छ भने ग्वामे, बलबहादुर भए बले। जागिरे, अलि पढेलेखेकाको नामै थाहा हुन्थ्यो। जस्तो, राताघरे कान्छा भनिन्थ्यो तर यीनका दाजु प्रहरीको हल्दार रिटायर्ड अनि उनलाई सबैले प्रेमे हल्दार भन्थे। उनको नाम चाहिँ प्रेमप्रसाद थियो। (यी नामको बारेमा अर्को ब्लग लेख्नुपर्ला)

रातो घेराभित्रको मेरो घर, पहेँलो घेरा लागेको बाटो र निलो घेरा भएको ठाउँमा धारापानी।

रातो घेराभित्रको मेरो घर, पहेँलो घेरा लागेको बाटो र निलो घेरा भएको ठाउँमा धारापानी।

मताने बुढीको कथा छ भुत सम्बन्धी। गाउँको तल एउटा धारो थियो, जसलाई धारापानी भनिन्थ्यो। डाइरेक्ट मुहानबाट काठको धारो बनाएको। गाउँमा त बिहान ३ बजे नै उठेर पानी भर्न जान्थे। एकदिन मताने बुढी बिहानै पानी भर्न गइछिन् रे। पानी भरेर डोकोमा हालेर बोक्नेबेला ‘३ बजे राती पानी भर्न आकी, मताने बुढी कति राम्री भकी’ भनेर भूतले पानीको डोको घचेट्दियो रे। मताने बुढीले पानीको डोको दलानमा बिसाउँदा बिसाउँदै प्राण त्यागिन् रे। यस्तो कथा सुनेपछि त्यो धारोमा पुगेपछि दिउँसै डरलाग्थ्यो।

अनि हाम्रै घरका कथा पनि भन्नुहुन्थ्यो हजुरआमाले अनि बुबा काकाहरुले। हाम्रो मुल घर, जसमा हजुरआमा र काका बस्नुहुन्थ्यो। त्यहाँ राति भात खाइरहेकाबेला माथ्लो तलामा भाँडा बज्थे रे। भाँडा यता र उता फालेको आवाज आउँथ्यो रे। अनि त के चाहियो ! दिउँसो नै काकाको घरमा गएर केही लिएर आइज भने नि जान सकिन्नँ ‘थ्यो।

अलि ठूलै भएपछि, सायद ८/९ कक्षातिर पढ्दाताका कुरा हो। गाउँभन्दा माथिको सालघारी पार गरेपछि एउटा पानी पलाउने ठाउँ थियो। त्यसको नामै पानी पलाउने थियो। एकदिन कोदो टिप्न जाँदा त्यही पानी पलाउनेमा पानी पिउन जाँदा घरदेखि माथिकी एउटी दिदी चिप्लेर लडिन् र मरिन्। वाग्ले माइलाकी छोरी थिइन् तिनी, नाम याद भएन, सायद मलाई थाहै थिएन क्यारे। ती दिदी हामीभन्दा ७/८ वर्षले जेठी हुँदिहुन्। बिहे भएको थिएन। उनको लाश पनि हाम्रै घरको बाटो घाट लगे। बिहे नभएकी केटी मरे किचकन्या भएर आउँछन् र गाउँ डुलिरहन्छन् भन्थे। त्यो घटनाको महिनौंसम्म पनि भूतको डर लागिरह्यो।

भूतसँग मनमा एककिसिमको डर त रहिरहेको थियो तर अब डराएर काम नचल्ने भइसकेको थियो। ठूलो भइसकिएको थियो। केही काम अह्राए भने रात बिहान जतिबेला नि गर्नुपर्थ्यो। भूतको डर लाग्छ भनौं भने डरपोक भनेर गिज्याउँथे। अनि राती जंगल वा त्यो धारो वा त्यस्तै ठाउँ जानु परे थुरथुर हुँदै गइन्थो तर ज्यानजाला अरुलाई भूतसँग डरलाग्छ भनिएन। मगरगाउँमा एउटा साथी थियो, उ पछि नेपाल आर्मीमा गयो र अहिले त आर्मीको जागिर छोडेर विदेशतिर छ क्यारे। उसले भन्थो- ‘हेर केटा हो, राती हिँड्दा टर्च चाहिँ पछाडि बाल्नुपर्छ। अगाडिबाट आएको त देखिन्छ, पछाडिबाट आयो भने त सक्किगोनी।’ अनि उ टर्च पछाडि बालेरै हिँड्थ्यो पनि।

गाउँमा भूत नभएको ठाउँ नै थिएन भनेपनि हुन्छ। स्कूल जाँदा एउटा पुरानो पहिरो गएको ठाउँ हुँदै जानुपर्थ्यो। ढुंगैढुंगाको ढाँड। अनि त्यो पुरानो पहिरोमा पनि एकजना कामीको परिवार पुरिएको थियो रे भनेर कथा सुनाउँथे। अब मान्छे पुरिएको ठाउँमा त भूत हुने नै भयो त्यस्का बाजे। अनि घाट जाने बाटो (हुनत त्यो बाटो सदरमुकाम पनि जान्थ्यो, अझ अगाडि गए काठमाडौंसम्मै पुगिन्थ्यो तर त्यसका लागि सयौं घाट पार गर्नुपर्थ्यो।) मा पनि एउटा धारो थियो। वरिपरी बाँसघारी, बीचमा धारो। त्यसै डर लाग्थ्यो। कहिलेकाहीं दिउँसै पनि तिर्खा लाग्दा एक्लै भए जान डर लाग्ने।

यस्ता अनेक कथा र डरका बीचमा एकदिन, वाग्ले माइलाकी छोरी बितेको ४/५ महिना भएको हुँदो हो, राती मस्तैले पिशावले च्याप्यो। ९/१० मा पढ्ने भइसकेपछि पनि ओछ्यानमै पिशाव गर्न त भएन। उठ्नै परो। घरको चारैतिर फेरि घाट जाने बाटो छ। बिहानको १/२ बजेको हुँदो हो। उठेर पिशाव गर्न बाहिर निस्किएँ। मैले त्यो दिदीको लाश ल्याएको बाटैबाटो एकजना महिला रुँदै हिँडेको सुनेँ। मेरो मनमा बसेको डर होला सायद तर रुँदै माथिमाथि गए झैं लाग्यो। सोचेँ, आजकै दिन र’छ अन्तिम। वाग्लेकी छोरीको किचकन्याले समात्यो अब। पिशाबले पेलेको बेला पिशाब गर्दैगर्दा रोक्न सकिन्नँ भनेर त मैले भन्नु नपर्ला नि ! धामी के काँम्दो हो र बरै त्यसरी त, त्यस्तो कामेँ म। किक्लिक किक्लिक भयो घाँटी। शरीर कामेर पिशावले खुट्टा भिजे। तर पनि मैले त्यो आवाज पछ्याइरहेँ। गाउँघरमा भन्थे, गाउँमा कोही मर्न लाग्यो भने राति भूतको चलखेल हुन्छ। भोलिपल्ट माथ्लो गाउँमा एकजना मगर्नी बितिन्, लडेर। अब भूतमा विश्वास नलागेर भओ?

अनि कहिलेकाहीं चाहिँ कत्तिको डराउँछ भनेर अरुले पनि तर्साइदिन्थे। हामी बेंसीमा गाइ भैंसी राखेपनि बस्न चाहिँ गाउँमै बस्थ्यौं। अनि डिउटी बिहान ४ बजेबाटै सुरु हुन्थ्यो। ४ बजे उठ्यो अनि भैंसी दुहुन लाग्यो बेसीतिर। बेंसी जान त्यही मताने बुढीलाई ‘पानी भर्न आ’की’ भनेर सोध्ने भूत भ’को धारापानी हुँदै जानुपर्ने। त्यो धाराको छेउमै हाम्रो कपडा सिलाउने कालेदाजुको घर थियो। एकदिन ठूलोबुबाको छोरो र म बिहान ३:३० तिर बेंसी झर्दै थियौँ। त्यो धारापानी पार गरेर डाँडो पुगेर ओरालो झर्नुपर्थ्यो। डाँडामा पुगेपछि अलि तल बाँसघारीबाट फेरि एकजना लोग्नेमान्छे रोएको आवाज आयो। हामी दुवै रोकियौं तर आवाज रोकिएन। सायद दशैं लाग्न लागेको थियो क्यारे। हामी डरले थुरथुर हुँदै कालेदाजुको घरतिर दौड्यौं। कालेदाजु घरभित्र धिपधिप टुकीमा लुगा सिइरहेका रहेछन्। हामी स्वाँ स्वाँ र फ्वाँ फ्वाँ गर्दै दौडिँदै पुगेपछि दाजु पनि आत्तिए। तर त्यतिबेला हाम्रो बिल्ला भो जब कालेदाजुले भने, ‘भूत होइन होला, कान्छा मुखिया (हाम्रा कान्छा काका) अहिले भर्खर बेंसी झर्दै हुनुहुन्थ्यो त।’ बेंसीमा काकाले भन्नु भो, ‘आज त रात्ति नै आएछौ तै केटा हो ! भूतले त तर्साएन नि।’ काकाले हामी आएको थाहा पाएर हामीलाई तर्साउनु भएको रहेछ। हामी लाजले रातो भयौं।

एकदिन घाम डुबिसकेपछि हजुरआमा अचानक बिरामी हुनुभयो। गाउँमा डाक्टर थिएनन्। हेल्थपोस्ट त थियो र त्यहाँ अहेब पनि थिए। तर हेल्थपोस्ट बन्द भैसकेको थियो र उनी अर्को गाउँमा बस्थे। जहाँ पुग्न स्कूल पार गरेर जानुपर्थ्यो र बाटोमा त्यही पुरानो पैरो र पहिरोमा पुरिएका कामीका परिवार। जाँदा त उज्यालै थियो, फर्किँदा अहेब सँगै हुन्छन् भनेर हल्का डराउँदै गइयो। तर अहेब त रहेनछन्। फोन पनि थिएन त्योबेला। म उनी आउँछन् कि भन्दै ८ बजे रातिसम्म बसेँ तर उनी आएनन्। घर त फर्किनपरो। यता त्यो पहिरो र कामीको परिवार। आधा ज्यान उतै मरिसकेको थियो। त्यो जंगल आउनेबेलामा मेरा मामाको छोराको घर थियो। म दाजुकोमा छिरेँ अनि के छ हालखबर भनेर नि सोधेँ। दाजुले डर लाग्छ भने म पुराउन जान्छु त भन्नुभो तर म ह्या, त्यस्तामुला डर भनेर निस्किएँ। तर जंगलमा आइपुगेपछि मेरा हात खुट्टा लगलग काम्न थाले। घाँटी सुकेर प्याकप्याक भयो। म सय मिटरको दौड जित्न दौडेको उसेन बोल्टकै रफ्तारमा दौडिएँ। हातमा टर्च त थियो तर भूतले मलाई देख्ला भनेर टर्च बन्द गरेर दौडिएँ। सालघारीको बन, सुकेका पत्करहरु बज्दै थिए तर म दायाँबायाँ नहेरी दौडिरहेँ। एकैपटक त्यही मतानेबुढीका घर छेउमा पुगेर रोकिएँ। अनि फेरि यो त्यही बाटो थियो जहाँबाट पानी खाँदा लडेर मरेकी दिदीको लाश घाट लगिएको थियो। हे दैव, ताप्केबाट उछिट्टिएर भूंग्रोमा। त्यहाँ त गाउँ पनि थियो त्यसैले गीत गाउँदै पनि दौडेँ।

डर त छँदैथियो। तर मलाई यो भूतसँग आरपारको लडाइँ लड्नुपर्छ भन्ने लागिरहन्थ्यो। एसएलसी दिइसकेपछि म गाउँमा अलि प्रख्यातै भइसकेको थिएँ। भन्नाले गाउँभरीका बाहुन बुढाहरुलाई रक्सी खुवाउने विश्वास पात्र। मगर गाउँमा कसको घरमा कस्तो रक्सी छ, कतिमा दिन्छ सब मलाई थाहा हुन्थ्यो। मलाई यो काम बडा अच्छा लागिराथ्यो। आफू नि टिल हुन पाइने त्यो पनि गाउँका मैं हुँ भन्नेसँग। कसैले ठूलो स्वरले बोल्थेनन् मसँग, नत्र बेल्का रक्सी कसले व्यवस्था गरोस्। भूतसँग लडाइँ गर्न यो जिनिस उपयोगी हुने मेरो मनमा सुझ्यो। कुनदिन सन्केर म कसको चिहानमाथि गएर सुत्छु भन्ने लागिरहन्थ्यो। अनि यो भूत भन्ने कुरा साँच्चै हुन्छ कि यो एककिसिमको मनोवैज्ञानिक डर मात्र हो भन्ने पनि निर्क्योल गर्नुथियो।

एक दिन बिहान ४ बजेतिर म शीतले लपक्कै भिजेको, एउटा खुट्टामा चप्पल र अर्को खुट्टाको चप्पल भुइँमा चुँडिएर पछारिरहेको, जिउमा छादको टाटा बसिरहेको अवस्थामा भेटिएँ। पहिला त म आफैंले आफैंलाई चिनिनँ। तर खोजबीन गर्दा म आफैं थिएँ त्यो। टाउको उठाउनै नसक्नेगरी भारी भएको थियो। म लडखडाउँदै उठेँ। उठेर दायाँ बायाँ हेरेँ। त्यसपछि म फेरि त्यही पहिले सय मिटरको दौडमा दौडिए झैं दौडिएँ र घरभन्दा मास्तिरको युएनडिपीले बनाइदिएको धारोमा पुगेर रोकिएँ। म रक्सीले टिल भएर त्यही पुरानो पहिरो जहाँ एक घर कामी परिवार पुरिएका थिए, त्यहीँ भूत खोज्न पुगेको रहेछु। सायद भूतले पनि मातेको बाहुनसँग के निहुँ खोज्नु भनेर चुपचाप बसेछ क्यारे रातभरी। भूतसँग मेरो झगडा परेन अनि मैले भूत भेटेर पनि यादै गरिनँ कि मातेको तालमा। तर त्यही दिन बेलुकीदेखि म ज्वरोले थलिएँ एक साता।

 

Ananta Koirala

A Student of Journalism. Worked as Online Correspondent at News Nepal Network International Pvt. Ltd., Sub-editor in Jagadamba Publication, currently working as Correspondent at pahilopost.com. Interested in Nepali movie. Like to write commentary on social issue, Journalism and literature.

More Posts - Website

Follow Me:
TwitterFacebookGoogle Plus