आँखाले देखेसम्म हेरेँ घरको छतमा बसेर- चन्द्रमा आफ्नै प्रकाशमा चम्किरहेको थियो। घामले बिदा लिएपछि आजकाल चन्द्रमा प्रकाश छर्न आइपुग्छ। गोधुली भर्खरै मात्र बितेको थियो, सायद त्यसैले चन्द्रमाको छेउमा एउटा मात्र तारा देखिएको थियो। आफ्नो चमक बढाउँदै लगेको चन्द्रमा र छेउमा देखिएको सानो तारा देखेर सोचेँ- चन्द्रमा तिमी हौ, जो फक्रिँदै गइरहेकी छौ अनि छेउको सानो तारा म- न त तिमीबाट टाढा हराउन सकेको छु न त तिमीसँगै बिलिन हुन।Just an image

यसअघि आकाश हेरेर, आकाशमा देखेको तारा वा जून देखेर आफू हराएको थाहा छैन। अनि यसअघि तिम्रा बारेमा यति गहिरिएर सोचेको थिइनँ। किन किन मलाई जूनसँगै बरालिन मन लागिरहेको थियो- सायद त्यसले तिमीसँगै रहेको अनुभूति दिन्थ्यो मलाई। आकाशबाट तल हेरेँ परसम्म, शहरमा भर्खर बत्ती बल्दै थियो अनि कतै टाढा बलेका ती बत्तीहरु पनि मलाई ताराहरु जस्तै लागिरहेको थियो। आकाशका जून तारा र शहरका घरहरुमा धिपधिपाइरहेका ती बत्तीहरुले मलाई तिमीसम्म डोहोर्‍याइरहेका थिए। तिमीले मेरा बारेमा केही मीठा कुरा भन्नु न भन्दा पनि मैले अहिलेसम्म मीठा कुरा भन्न सकेको छैन, बरु जवाफमा सँधै ‘जेरी, लालमोहन’ भन्दै टारेको छु।

तिमीले हरेकपटक भन्ने गर्थ्यौ- ‘माया गरेर पनि माया देखाउनै जान्नुहुन्न हजुर ! माया गर्छु भन्नसम्म शब्द आउँदैन हजुरका ओठमा। न त यो मनले नै कहिल्यै माया गरेको आभास गर्‍यो।’ हो त, मैले कहिल्यै पनि तिमीले सुन्ने गरेर, तिमीले अनुभव गर्ने गरेर माया गरेको आभास हुनै दिइनँ अनि तिमीसँग हुँदा न त माया र प्रेमका कुरा नै गरेँ। म सँधै तिमीमा आशक्त भइरहेँ, तिमीसँग बोलिरहेँ, तिमीलाई भेट्न चाहिरहेँ तर पनि कहिल्‍यै माया गर्छु भनेर तिम्रो धडकनलाई महसुस हुने गरी भनेको छैन। मेरा आँखामा हेरेर तिमीले मैले प्रेम गर्ने कुरा बुझेऊ कि सायद ! तर अझैसम्म पनि तिमी मैले तिमीले बुझ्नेगरी माया गर्छु भनेको सुन्न आतुर छ्यौ भन्ने पनि थाहा छ मलाई।

म जून हेरेर यी कुराहरु सोचिरहेको छु। थाहा छैन मैले जून हेरेर आफूलाई टोलाउन हुन्छ या हुँदैन। यो पनि थाहा छैन कि जूनलाई तिमीसँग तुलना गर्न हुन्छ कि हुँदैन, तर यतिबेला म त्यही गरिरहेको छु। आकाशमा चम्किरहेको जूनमा म तिमीलाई देखिरहेछु- मेरो अगाडि नाचिरहेकी, मेरो अगाडि जिस्किरहेकी अनि मेरा दुवै हातलाई तानेर मेरो छातीमा लुकिरहेकी। तिम्रो आवाज, तिम्रो आँखाको चमक, तिम्रो मुस्कान सबै म त्यही जूनमा देखिरहेछु। तिमीलाई कतै अग्लो हरियाली पहाडमा पुगेर मैले ‘म तिमीलाई माया गर्छु’ भनेको इको सुन्न मन पर्छ। तिमी चाहान्छ्यौ, मैले तिमीलाई कति माया गर्छु भन्ने कुरो सारा दुनियाँले थाहा पाओस् अनि सँगै तिमीले मलाई कति माया गर्छ्यौ भन्ने कुरो पनि।

हातमा मोबाइल खेलाउँदै जूनसँग म संवाद गरिरहेको थिएँ। सोचेँ, यति सुन्दर तिम्रो एउटा तस्बिर खिच्छु र इन्स्टाग्राममा पोस्ट गर्छु, ‘मेरी सुन्दर चन्द्रमा तिमी’ क्याप्सन राखेर अनि मोबाइलको होमस्क्रिनमा सजाएर राख्छु। मोबाइलको क्यामेरा अन गरेँ। आफूलाई छतमा रहेको मार्बलमा टपक्कै टाँसेँ र क्लिक गरेँ। कैद भएको तस्बिर हेरेँ, अहँ तस्बिर सुन्दर भएन। मोबाइल स्क्रिनमा फोटो अोल्टाइपल्टाई गरेर हेरेँ, अहँ पटक्कै मन परेन। यतिबेला मेरो अगाडि नाचिरहेकी तिमी जति सुन्दर छ्यौ त्यसको एकै प्रतिशत सुन्दरता पनि फोटोमा आएन।

तिमीले टाढा हुनुपर्दाको पीडा व्यक्त गर्दा भनेको थिएँ, ‘जीवनको नियति हो यो, भोग्नैपर्छ। आफूलाई बलियो बनाऊ।’ अनि तिमीले भनेकी थियौ, ‘कोशिस त गरिरहेकी छु, अब सम्झिन्नँ भन्छु तर बेइमान मन, मान्दै मान्दैन।’ हो त, यतिबेला जून हेरेर म आफूलाई कमजोर महसुस गरिरहेको छु, सायद तिमीभन्दा पनि धेरै। हो, मैले तिमीलाई धेरै सम्झिरहेको छु, म तड्पिरहेको छु तिमीलाई देख्न, तिमीलाई भेट्न भनेँ भनेपनि तिमीले पत्याउन्नौ। किनकी मैले अहिलेसम्म कहिल्यै त्यसो भनेको छैन। अनि पछि सोचौली सायद अनि फुरुङ्ग पनि परौली। तर त्यसले तिमीलाई एकैछिनमा पीडा दिनेछ। अनि तिमीले फेरि मेरै शब्द बोल्नेछौ, ‘खै के गरौं, पखेटा छैन उँडेर आउन।’ कस्तो बिडम्बना यो भनेर पनि गुनासो गरौली सायद। आफूले माया गरेको मान्छेसँग म छैन अनि आफूलाई माया गर्छु भन्ने मान्छेले माया नै जताउन जान्दैन।

फेरि जून हेरेँ, त्यो उस्तै सुन्दर थियो अनि सँगै मुस्काइरहेकी थियौ तिमी त्यही सुन्दरताका साथ। फोटो डिलिट गरेँ, पानी ट्याङ्की राखेको छैटौं तलामा पुगेँ र त्यहाँबाट फेरि एक क्लिक गरेँ। अहँ पटक्कै चित्त बुझेन। पाँचौं तलामा झरेँ। अगाडि पूजा गर्नका लागि मठ देखियो। मठलाई अगाडि राखेर शहरको फोटो क्लिक गरेँ अनि भूकम्पपछि शहर ब्यूँतिदैछ भनेर इन्स्टाग्राममा फोटो अपलोड गरेँ। म शहरका बत्तीहरुमा भुलिन चाहिरहेको थिएँ किनकी मलाई जूनले तिम्रो यादमा डुबाइरहेको थियो। मलाई आकाशतिर हेर्नु थिएन। मलाई क्षितिजतिर हेर्नु थिएन किनकी म पलपल कमजोर बनिरहेको थिएँ, तिम्रो यादमा।

जून हेर्न छोडेर शहर हेरे पनि तिम्रो याद, तिम्रो हाँसो, तिम्रो आवाज, तिम्रो धड्कन मसम्मै आइरहेको थियो अनवरत। म कहिले पाँचौं तला र कहिले छैटौं तला भौंतारिरहेको थिएँ तिम्रो यादबाट भाग्न। तर हर पाइलामा, हर दृष्ट्रिमा, हर स्वासमा तिमी तिमी र तिमी घुमिरह्यौ। असह्य पीडामा म छटपटिँदै, भाग्दै चौथो तलामा पुगेँ। ओछ्यानमा पल्टेँ, मोबाइललाई एकातिर हुत्याएर पल्टिरहेँ। आँखा खोल्दा पनि तिमी अनि आँखा बन्द गर्दा पनि तिमी। अहँ, कहाँ भाग्ने? सकिनँ। बत्तीको स्वीच अन गरेँ, टिभीको प्लक जोडेँ। उप्स्, तिम्रो यादमा भूकम्पमा परेर टिभी फुटेको यादै पो भएनछ।

मोबाइल हेरेँ। मोबाइलमा त झन् तिम्रा अनेकन यादहरु छरपस्ट भेटिए। केही म्यासेजहरु हेरेँ र ओछ्यानमै टोलाइरहेँ। टोलाउँदै गर्दा कताकता मलाई पिङ खेलिरहे झैं लाग्यो। सायद म झकाएको थिएँ वा तिमीमै हराइरहेको थिएँ। बेडबाट उठेँ, यताउता हेरेँ, केही अनौठो देखिनँ। छतमा निस्किएँ, छिमेकीहरु ‘आयो आयो’ भन्दै थिए। एकैछिनमा थाहा पाएँ भूकम्पको परकम्प आएको रहेछ। तिम्रा याद र परकम्प पनि एकैपटक आउनुपर्ने। परकम्प आउँदा पनि तिमीलाई बिर्सिनँ सकिनँ, फेरि तिमीलाई नै सम्झेँ। तिमीले भनेकी थियौ, ‘त्यो चर्केको घरमा नबस्नू, कोठा खोजेर अन्तै सर्नू।’ खै, घर सरेर तिम्रा याद र परकम्प रोकिने छाँट छैन।

कहिलेकाहीँ सोच्छु, यसैगरी तिम्रा याद आइरहने, अनि तिम्रै यादमा म घोत्लिरहने हुँदा ठूलै परकम्प पनि थाहा नहुने दिन नआओस्। त्यसैपनि म आजकाल टोलाइरहने भएको छु। काममा ध्यान लगाउन सकेको छैन। मलाई माफ गर, मैले तिम्रो माया मार्नै सकिनँ।

Ananta Koirala

A Student of Journalism. Worked as Online Correspondent at News Nepal Network International Pvt. Ltd., Sub-editor in Jagadamba Publication, currently working as Correspondent at pahilopost.com. Interested in Nepali movie. Like to write commentary on social issue, Journalism and literature.

More Posts - Website

Follow Me:
TwitterFacebookGoogle Plus