फेब्रवरीको महिना चलिरहेको थियो। ‘सारा संसार भुलेर म तिमीमा समाहित हुन चाहान्थेँ, भए भरको प्रेम तिमीमा पोख्न चाहान्थेँ,’ मेरो शब्द यिनै थिए। ‘म हजुरमै समाहित हुन चाहान्थेँ सारा संसार भुलेर, सारा नियम मिचेर, तर विछोडको पीडाले पिरोल्छ र सबै इच्छाहरु चिहान बन्छन्,’ उनको जवाफ यस्तै थियो।

धेरै जोडीहरु सायद भ्यालेन्टाइन डेका लागि योजना बनाउन व्यस्त थिए हुन्। हामी दुई भने एक अर्काबाट टाढा जाने बाटो खनिरहेका थियौं। दुवैका आँखा भिजेका थिए, शब्दहरु अड्किएका थिए। अनगिन्ती इच्छा र चाहनाहरु तछाडमछाड गर्दै पछारिइरहेका थिए। हामी no+to+valentineआफूआफूलाई दोष दिएर प्रश्न सोधिरहेका थियौं- आफैसँग र कथित भाग्यविधाता, मूर्तिसँग। दोष उनको थियो या मेरो? वा दुवैको थिएन ! हामीले हिसाब गरिरह्यौं, उनले आफूलाई दोष दिइरहिन्, मैले आफूलाई दोष दिइरहेँ। हामी बाँचेर प्रेम अमर बनाउने बाटो रोजिरहेका थियौं।

संसार सारै पाखण्डी छ प्रेमको सबालमा। संसारमा जति पनि प्रेमलाई अमर प्रेम मानिएका छन् ती सबै प्रेम मरेपछि अमर ठानिएका छन्। रोमियो-जुलियट, लैला-मजनू, मुना-मदन सबै मरेर अमर भएका प्रेम हुन्। बडा अनौठो छ। शेक्सपियरलाई कसैले महान प्रेमी मानेनन्। उनले आफ्नो जीवनकालमा एक सय ३७ वटा सनेट (१४ हरफे कविता) लेखे र ती मध्ये एक सय ३४ वटा प्रख्यात सनेटहरु ‘डार्क लेडी’का बारेमा लेखे।

‘डार्क लेडी’ को थिइन् भनेर कहिल्यै खुलेन। उनी राजदरबारकी सुसारे हुन्, उनी इटालीयन युवती हुन् जस्ता अनेक चर्चा भए तर अझै पनि शेक्सपियरकी डार्क लेडी मिस्ट्री नै रहिन्। तर अचम्म, शेक्सपियरले एकजना युवतीका बारे त्यति धेरै लेख्दा पनि उनी महान प्रेमी भएनन्। किनकी उनले प्रेममा ज्यान दिएनन्।

यो संसारको पाखण्डपन अनौठो छ। अमर हुन मर्नै पर्छ। जिउँदाहरु अमर हुनै सक्दैनन्। जिउँदाहरु महान हैनन्। पाखण्डपनको सीमा पनि अनौठो छ। प्रेमले जीवन दिने हो न कि मृत्यु। ज्यान लिने त अपराध हो। अनि अपराध कसरी पवित्र हुन्छ? प्रेमलाई पवित्र मान्ने हो भने ज्यान लिने प्रेम कसरी पवित्र हुन्छ? भ्यालेन्टाइनको कुरा पनि त्यस्तै लाग्छ मलाई। कुनै एउटा सन्कीले प्रेममा ज्यान दियो रे। अनि उसको सम्मानमा, उसलाई महान बनाउन भ्यालेन्टाइन मनाउने? ज्यान नदिने प्रेमीहरु महान नै होइनन्। संसारले यसै भन्छ। पाखण्डीपनले यसै भन्छ।

दुई वर्ष भएको हुँदो हो- हामीले एक अर्कालाई चिया पसलमा भेटेको। त्यस अघि नै हामीले एकअर्काको अगाडि नपरी धेरै कुरा गरिसकेका थियौं। चिया पसलको भेट त केवल औपचारिकता थियो। न त मेरो शारिरीक बनौटले उनको भावनामा परिवर्तन आयो न त उनको शारिरीक बनौटले मेरो भावना नै फेरियो। हामीले भेट्यौं र पहिलो भेट पनि वर्षौं पुरानो चिनजानजस्तो भयो। कुरा सुरुबाट सुरु भएन, कुरा बीचबाटै सुरु भयो। त्यो भेट आँखाको आँखासँगको भेट थियो। हामीले आँखामा आँखा जुधाएर एक अर्कालाई हेर्‍यौं, एक अर्काको हात समात्यौं र चुपचाप हाँसिरह्यौं। उनी केही लजाए झैं गरिन्, म केही टाँसिए झैं गरेँ।

लगभग दुई वर्षको यो प्रेमको शिलशीला रोकिएको छैन र मैले अहिलेसम्म मैले उनलाई किन मन पराएँ भन्ने जवाफ दिन सकेको छैन। उनीसँगको क्षण मेरो जीवनको स्वर्णिम क्षण भयो र भइरहनेछ। आज हामी एक अर्काबाट टाढा भएर नजिकिने प्रयासमा छौं। रातको ११ बजेको छ। उनी र म एक अर्काको प्रशंसा गरिरहेका छौं। हामी एक अर्कालाई टाढा बनाउने कुरा गरिरहेका छौं र झन नजिक भइरहेका छौं। उनले मसँगको सम्बन्ध आफूभित्रै दबाएर राखेकी छिन् र मैले उनीसँगको सम्बन्धलाई एकदमै जतनसँग लुकाएर राखेको छु।

भन्छन्, लुकेको सम्बन्ध नाजायज हो, अनैतिक हो। खै ! नाजायजको अर्थ के हो कुन्नि ! न त उनले बुझ्न खोजिन् न त मैले खोतल्न खोजेँ। हात समाउनू अनैतिक हो भने हामीले अनैतिक प्रेम गर्‍यौं। एक अर्कालाई माया गर्नू नाजायज हो भने हो, हामीले नाजायज सम्बन्ध बनायौं। हामीले लुकेरै माया गर्‍यौं, नाजायजै नाता कायम गर्‍यौं र पनि यो समाजले कोरेका बन्धनका रेखा कहिल्यै नाघेनौं। न त एक अर्काको शरीरमा निर्बाध लडिबुडी नै गर्‍यौं। उनलाई पनि र मलाई पनि त्यसो गर्ने रहन र चाहना नभएको होइन, तर हामीले एकआपसमा जोडिएर पनि एउटा घेरा कायमै राख्यौं।

मान्छेहरु प्रेमलाई वर्गीकरण पनि गर्छन्। पवित्र प्रेम, अपवित्र प्रेम, सच्चा प्रेम, खै के के हुन् के के। हामीले कहिल्यै प्रेमलाई वर्गिकरण नै गरेनौं वा फुर्सदै भएन। पवित्र प्रेम के हो? प्रेम अपवित्र कसरी हुन्छ? हामीले कहिल्यै खोतल्दै खोतलेनौं। प्रेममा समर्पण हुनुपर्छ, प्रेममा त्याग हुनुपर्छ पनि भन्छन् दार्शनिकहरु। तर कस्तो समर्पण? कस्तो त्याग? समर्पण भनेको के हो? सम्पूर्ण रुपमा कसैमा समाहित हुनु वा आफ्नो अस्तित्व अर्कामा सुम्पिनु समर्पण हो? त्यसो हो भने हामी एक अर्कामा समर्पित भयौं।

मान्छेहरु भन्छन्, सफल प्रेम अथवा ‘अमर प्रेम (इटर्नल लभ)’ को अन्त्य विवाह हो। वर्षौं प्रेम गरेपछि त्यही प्रेमीसँग विवाह नभए त्यो असफल प्रेम हो। त्यसो भए हिन्दु संस्कारले भगवान मानेका श्रीकृष्ण र राधाको प्रेम असफल प्रेम थियो? त्यो अपवित्र थियो? कृष्ण असफल प्रेमी थिए? कृष्णले राधालाई अनवरत प्रेम गरिरहे अनि राधाले पनि। तर दुवैले एकअर्कालाई बिहे गरेनन्। त्यो असफल प्रेम नै थियो त?

हामीलाई जहिल्यै प्रेमका बारेमा कुरा गर्दा प्रेममा ज्यान दिएका प्रेमीका बारेमा मात्र पढाइयो वा सुनाइयो। तर आफूले अत्यन्तै धेरै माया गरेको मान्छेसँग बिहे गर्दा मैले दु:ख र चोट पुर्‍याउँला कि भनेर आफ्नो प्रेमी/प्रेमिकासँग बिहे नगरेका कैयौं मान्छेका बारेमा कहिल्यै पढाइएन/सुनाइएन। समग्रमा संसारले स्वार्थ मात्र पढाउँदो रहेछ। मान्छेहरु भन्छन्, प्रेम निस्वार्थ हुन्छ। फेरि उनीहरुनै भन्छन्, प्रेम प्राप्ति मात्र हैन। अनि फेरि उनीहरुनै भन्छन्- प्रेमी र प्रेमिका छुट्टिनु पर्ने अवस्था वियोगान्त हो, त्यो असफल प्रेम हो। त्यसो भए प्रेम निस्वार्थ भयो कसरी?

उनी भन्दैछिन्, ‘म आफूलाई कसरी सम्हाल्न सकौंला? हजुर नहुँदाको म, के अस्तित्व होला? म कसको काँधमा टाउको राखेर रुने होला? म त फगत एक्ली हुने भएँ- सँधै एक्लै रोएँ।‘ अनि म सम्झाउँदै छु, ‘तिमी महसुस गर्न सक्छेऊ? आँखा चिम्लेर हेर त, तिम्रो अगाडि को उभिएको छ? के त्यहाँ शून्यता मात्र छ? तिम्रो अगाडि हात फैलाएर तिमीलाई अंगालो हाल्न पर्खिरहेको मलाई देख्यौ?’

अनि फेरि उनी भन्छिन्, ‘अँ, एउटा बेसरम, बदमाश केटो छ, मुस्काइरहेको। अँगालो हाल्न जान्छु अनि अचानक गायब हुन्छ।‘ म फेरि भन्छु, ‘बेइमान कहीं कि, अँगालो हाल्न जाँदा आँखा खोल्यौ होला, अनि !’ हामी हास्छौं, हासिरहन्छौं। तर, आँखाबाट आँशु बगिरहेका छन्, एकअर्काको अनुपस्थितिमा।

प्रेमका दार्शनिकहरु यसलाई प्रेमको वियोगान्त अन्त्य पनि भन्लान्- किनकी हामी एक अर्काबाट टाढा हुँदैछौं। सायद कहिल्यै भेट्दैनौं पनि कि ! तर के एकअर्कामा झङ्कृत ती मुटुका तारहरु चुडिएलान्? वा अहिलेसम्मका ती भावनाहरु सर्लक्कै मेटिएलान्? मर्लान् र चिहान वा चितामा तिनको अन्त्यष्टि होला?

अहँ, उनी भन्छिन्, ‘हजुर मलाई माया नगर्नु, मलाई सम्झेर नरुनू किनकी म हजुरको आँशु हैन हाँसोको कारण बन्न चाहान्छु।’ अनि जवाफमा म भन्छु, ‘मेरो एउटै सपना छ, तिमी संसारकै सबैभन्दा सफल भएको हेर्न चाहन्छु, तिमी संसारकै सबैभन्दा खुशी भएकी देख्न चाहान्छु।’

सम्भव होला र? उनको सबैभन्दा ठूलो खुशी त म हुँ अनि मेरो सबैभन्दा ठूलो खुशी त उनी हुन्। र, हामी एक अर्कासँग छुट्टिने कुरा गरिरहेका छौं। छुट्टिने कुरासँगै हामी एक अर्कालाई माया गरिरहने कुरा गरिरहेका छौं। ओहो ! कस्तो अनौठो ! छुट्टिने अनि माया गरिरहने? हो, हाम्रो माया नै अनौठो छ। हामी छुट्टिएर एक हुनेछौं, हामी एक भएर छुट्टिने छौं। कहीं पर क्षितिजबाट उनी मलाई चिहाइरहेकी हुनेछिन्। म कतै पर क्षितिजबाट उनलाई हेरिरहेको हुनेछु। हामी प्रेमलाई अमर बनाउन मर्ने वाचा हैन बाँचेर एकअर्काको प्रेममा जिउने वाचा गर्दैछौं।

‘अनि थाहा छ?’ उनी उत्सुक हुन्छिन् र तुरुन्तै आफूमा आएको भावनालाई टक्क रोक्छिन् र निराश हुँदै भन्छिन्, ‘जिन्दगीभरी हजुरलाई ओढेर सुत्ने चाहनाको चिहान भयो।‘ जवाफ के दिने? मौन बसेर उनको पीडा बढाउनू पनि त भएन। म सम्हालिने प्रयास गर्दै भन्छु, ‘अर्को जन्म हुन्छ भन्छन्, कसो नभेटिएला है?’

उनी भन्छिन्, ‘अलवेज बी विद् मी, लभ मी लाइक क्रेजी, आइ एम योर कज अफ स्माइल।’ अनि मेरो जवाफ, तिमी त मेरो हृदयको कुनामा, मेरो मानसपटलमा, मेरा आँखाका नानीमा एउटा अमिट छाप बनेर बसेकी छौ। सास चलुञ्जेल तिमी मबाट टाढा हुनै सक्दैनौ।’

कहिलेकाहीं म धेरै दिन दाह्री नकाटी हिँडिदिन्छु। नङ काटदैकाट्दिनँ। त्यसले मलाई उनको सम्झना गराउँछ। अनि म उनको त्यो मीठो आवाज कानमा सुनिरहन्छु- छ्या, त्यो दाह्री नकाटेर कस्तो वियोगी भएर हिँडेको? छी: फोहोरी ! नङ् हेर त कति लामो। मलाई उनको याद आइरहेको मन पर्छ। अनि जे गर्दा उनको याद धेरै आउँछ म त्यही गरिरहन्छु। किनकी मलाई उनको याद मीठो लाग्छ। अनि म फिस्स हाँस्छु- छुच्ची, कति कराउन सकेकी ! जीवन बाँच्न यति प्रेम काफी छैन र?

अँ, अहिले फेब्रवरी चलिरहेको छ। अनि भ्यालेन्टाइन डे पनि आउँदैछ र हामी एकअर्कासँग छुट्टिएर प्रेम अमर बनाउन लागेका छौं। अनि यो प्रेमलाई अमर बनाउन हामी एक अर्कालाई भ्यालेन्टाइन विस गर्ने छैनौं, किनकी हामी मरेर प्रेमी हैन बाँचेर प्रेमी बन्न चाहन्छौं।

 

 

Ananta Koirala

A Student of Journalism. Worked as Online Correspondent at News Nepal Network International Pvt. Ltd., Sub-editor in Jagadamba Publication, currently working as Correspondent at pahilopost.com. Interested in Nepali movie. Like to write commentary on social issue, Journalism and literature.

More Posts - Website

Follow Me:
TwitterFacebookGoogle Plus