धेरैपटक म आफैलाई सोध्छु, म को हुँ? म के थिएँ? म किन यस्तो भएँ? के म मृतात्मा हुँ? म मा केही भावना छैनन्? वा मेरो जन्मले नै मलाई यस्तो बनायो? या म हुर्केको परिवेशले मलाई संसारको पर्बाह नगर्ने बनायो? यी प्रश्नहरु फगत मेरा लागि हुन्। अनि यो ब्लग पनि सिर्फ मेरै लागि हो। आफुलाई चिन्ने प्रयास हो। यस्ता प्रश्नले म आफैलाई आफु पागल हुँ कि झैं लाग्छ। तर, फेरि, समाजमा पुग्दा, साथीभाइका अगाडि पुग्दा उनीहरुले सामान्य ढंगले कुरा गर्दा हैन म पागल त होइन रहेछु भन्ने थाहा पाउँछु।PhotoGrid_1420204094329

मेरा लागि कुनै पनि दिन स्पेशल लागेनन्, न त मेरो जन्मदिन, न त कोही अर्काको जन्मदिन, न त कसैको बिहेको पार्टी, न त कसैको सफलताको भोज। यी सबैमा म पुग्छु किनकी मैले पुग्नुपर्छ, मान राखिदिनुपर्छ झैं लाग्छ। अरुले त्यस्तै सोच्छन्। उनीहरुलाई लाग्छ- मेरा लागि यी सबै बकबास हुन्।

वास्तवमा मलाई हरेक क्षण, हरेक दिन उस्तै लाग्छन्। ‘सेलिब्रेसन’को विशेष अर्थ लाग्दैन मेरो जीवनमा। बडो अजिब लाग्छु म आफै आफैसँग। मान्छेहरु हिउँ देखेर, जंगल देखेर, फूल देखेर ‘वाह ! हाउ ब्युटिफूल’ भन्छन्। उनीहरुको जमातमा म पनि त्यसै भन्छु। तर वास्तवमा मलाई ती कुनै कुरा विशेष लागेका हुँदैनन्।

केही हप्ता अघि भैरहवा गएकोबेला मसँगै गएको साथीले सोध्यो, ‘ह्वाट इज योर फेबरेट फुड?’ म अक्क न बक्क भएँ। यसको जवाफ के दिने भन्ने मलाई ठुलो धर्मसंकट पर्‍यो। मैले भनेँ, ‘फर मी, फुड मिन्स् वान्ली दाल भात एण्ड तरकारी। अल अदर थिङ्स् आर जस्ट स्न्याक्स्।’

यसको केही दिनपछि दिनभरी काम गरेर खानुपर्ने एकजनालाई मैले सोधेँ, ‘के खान मन पर्छ?’ उसले जवाफ दिएन। सायद उ पनि मजस्तै अप्ठेरोमा पर्‍यो। मैले बारम्बार सोधेपछि उसले भन्यो, ‘जे भेटिन्छ त्यही।’ उसको लागि बिहान बेलुकी खान पाउनु नै ठुलो कुरो थियो। मैले सोधेको सोधै गरेपछि उसले एउटा चाहिँ भन्यो, ‘मासु खान मन पर्छ।’ मैले उसको जवाफमा मेरो पनि जवाफ पाएँ, ‘मन पर्ने खाना भोक लागेको बेला जे अगाडि पर्‍यो त्यही मीठो।’

भैरहवामै हुँदा एकजनालाई सोधेँ, ‘भविश्यमा के गर्ने सोच छ? के हुन्छ भविश्य सोचेको छौ?’ उसको जवाफ ठ्याक्कै मसँग मेल खान्थ्यो। ‘घरमा बाउआमा, दाजु छन्, उनीहरु आफ्नो काम गरिरहेका छन्। म त एक्लो छु, मलाई के छ?’ मैले ‘होइन, तिमी ठुलो हुन्छौ, बिहे गरौला, त्यतिबेला?’ उसको जवाफ फेरि पनि मेरैलागि थियो, ‘त्यतिबेलै सोचौंला।’ उनीहरुमा आफु काम गरिरहेको छु र त्यही काम गरेर खाइरहेको छु भन्ने ठूलो सन्तुष्टि थियो। ठ्याक्कै मेरै जस्तै। भलै उनीहरुले गर्ने काम र कमाउने पैसाको अनुपातमा मैले गर्ने काम र पाउने पैसाका बीच आकासजमिनको फरक थियो।

कहिलेकाहीं आफैलाई लाग्छ, ममा कुनै भावना नै छैन। न त मलाई मेरा व्यक्तिगत कुराले खुसी नै दिन्छन् न त दुःख नै। न त म डाको छोडेर रुन्छु न त गलल हाँस्छु। कम्तीमा मैले व्यक्त गरेको यो भावना अरुले देख्दैनन्। अनि मान्छेहरु भावना नै नभएको भन्दिन्छन्। मलाई त्यसले फरक नै पार्दैन। धेरैले मसँग गर्ने एउटै गुनासो हुने गर्छ (यो धेरैमा मेरा परिवारका मान्छे, मेरी प्रेमिका, मेरा नजिकका आफन्त सबै सबै पर्छन्), तँ आफ्नो भावना व्यक्त नै गर्दैनस्। यसैका आधारमा धेरैले गुनासो गर्ने गर्छन्, ममा कुनै उत्साह नै छैन आफ्ना कुराहरु भन्ने। मलाई ती सानासाना कुरा सुनाउनु पर्छ, शेयर गर्नुपर्छ, त्यसले अरुलाई खुसी प्रदान गर्छ भन्ने नै लाग्दैन। एकदमै सही हो, मैले जहिले पनि आफ्ना भावना व्यक्त गर्न परिवार, आफन्तभन्दा बढी आफ्ना ठानेका साथी, दाजु वा भाइहरु छानेको छु, मेरो जिन्दगीका धेरै निर्णय गर्ने सबालमा।

मैले मेरा परिवार र आफन्तभन्दा बढी किन साथीहरुलाई विश्वास गरेँ र गर्छु भनेर छुट्याउनै सकेको छैन। सानो थिएँ, आमाका पछि लागेर दौडिन्थेँ, हातखुट्टा नै फालेर। धमिलो याद आउँछ, खालीखुट्टा त्यो ढुंगैढुंगाको बाटोमा सिगानका लुन्द्रा नाकबाट बगाउँदै आमाका पछिपछि ‘तेरो बाउ’ भन्दै दौडेको। तर ठुलो हुँदै जाँदा आमासँग पनि त्यति खुलेर जीवनका, करियरका कुरा गर्न सकिनँ- भलै परिवारका अरुसँगभन्दा आमा र बहिनीसँग बढी खुलेर कुरा गर्छु।

आफै देखेर अजिब लाग्छ, अझ यो पढ्नेलाई झन् कति अजिब लाग्दो हो। मलाई अहिलेसम्म मेरा बुबाआमाको कति जग्गा छ र त्यो कहाँ कहाँ छ भनेर थाहा छैन। मलाई यी कुरामा कहिल्यै चाख लागेन पनि। कहिलेकाहीं बुबाले अनि कहिलेकाहीं आमाले घर सल्लाह गरौं, उताको जग्गा के गर्ने भनेर सोद्धा जहिल्यै मेरो एउटै जवाफ रह्यो- दाजु छ, तपाइँहरु हुनुहुन्छ, जे गर्न मन लाग्छ गर्नु। मलाई यी कुराले कहिल्यै तानेनन्। अहिलेसम्म जसरी बाचेँ, आफ्नै तरिकाले बाचेँ। मैले मेरा बुबाआमा वा परिवारका लागि र म आफ्नै लागि के सोचेको छु? मेरो जीवनको के योजना छ? सबै कुरा मेरा परिवारले मेरा साथीहरु मार्फत् वा मेरा काका ठुलाबुबाका छोरा वा मामाका छोराहरुबाट थाहा पाए।

कतिसम्म भने म कहाँ काम गर्दैछु, मैले कति कमाउँछु र कमाएको कहाँ खर्च गर्छु भनेर मेरा बुबाआमा वा दाजुले मसँग सोध्ने हिम्मत नै गरेनन्। जतिबेला हिम्मत गरे त्यतिबेला जवाफै पाएनन्। कोठाको लागि चाहिने सामाग्री मैले जति जानेर किनेँ किनेँ, यस्तो चाहिएको छ भनेर कहिल्यै भनेनन्। सायद मैले त्यो भन्नसक्ने अवस्था नै राखिनँ कि झैं पनि लाग्छ।  तर मेरा साथीहरुमार्फत् जति सुने त्यसैमा विश्वास गरे र यसको बानी नै यस्तै हो, बोल्नु बेकार छ भनेर पचाइदिए।

प्रेमका सवालमा पनि म यस्तै रहेँ। स्कूले जीवनमा प्रेम गर्नेबारे कहिल्यै सोचिएन वा लजाइयो। सायद समय त्यस्तै थियो। कलेज पढ्दा केहीलाई सारै मन पराइयो, नाटक गरियो तर अहिलेसम्म न त तारा झार्ने गफ गरेर हिँडियो न त प्रेम सफल भएन भनेर रुँदै हिँडियो। प्रेम गर्दा वा हुँदा र विछोड हुँदा वा धोखा पाउँदा, कहिल्यै भावनामा परिवर्तन आएन अथवा  कसैले पनि ममा कुनै परिवर्तन देखेनन्। कसैले नदेखेपछि यसको कुनै अर्थै रहेन। मलाई पीडा वा खुसी अरुका सामु व्यक्त गर्नुपर्छ भन्ने नै लागेन। खुलेर भन्दा यो प्रेम भन्ने वस्तुले जीवनका भोगाइमा केही रमाइला पल थप्यो होला तर भावनात्मक रुपमा कहिल्यै परिवर्तन गरेको कसैले देखेनन्। मान्छेहरुले प्रेमका बारेमा बडा गज्जपका मिलन बिछोडका कथा भनेको सुन्दा हाँसो उठ्ने चाहिँ भयो।

तर जहिले पनि मलाई छोयो अर्काको व्यथाले, अर्काकै पीडाले। मैले आफुलाई र आफ्ना परिवारलाई जहिल्यै खुसी र सुखी देखेँ अरुको तुलनामा। धेरैपटक, घरमा बुबाले काठमाडौं आउन खर्च भएन पैसा पठाइदे भन्दा पैसा छैन भनेर कोही नाता सम्बन्ध मै नपर्नेले आफ्नो गुनासो सुनाउँदा ऋण काढेर उसको गर्जो टार्न कम्मर कसेको याद आउँछ। मलाई लाग्यो, मेरोभन्दा यसको दुःख बढी छ।

आजकाल कहिलेकाहीं सोच्छु, मेरो आवश्यकता अरुलाईभन्दा बढी मेरा परिवारलाई, मेरा आफन्तलाई छ। तर पनि बदलिन सक्दिनँ। आमाले घरमा खाना पर्खेर ११ बजे रातिसम्म बस्नुभएको याद छ, त्यतिबेला म भनेँ जुनसुकै बेला छुरा हानेर हिँड्नसक्ने एउटा स्वार्थी जमातसँग रमाइरहेको हुन्थेँ। अहिले पनि त्यसै गर्छु धेरैपटक। यसमै आफुलाई सन्तुष्ट भएको पाउँछु। यसमै आफुलाई खुसी पाएको छु। तर कहिल्यै अन्दाज नगरेको कुरो, मेरो यो सन्तुष्टि, मेरो यो खुसीले मेरा परिवारलाई कति धेरै दुःखी बनाएको होला।

 

Ananta Koirala

A Student of Journalism. Worked as Online Correspondent at News Nepal Network International Pvt. Ltd., Sub-editor in Jagadamba Publication, currently working as Correspondent at pahilopost.com. Interested in Nepali movie. Like to write commentary on social issue, Journalism and literature.

More Posts - Website

Follow Me:
TwitterFacebookGoogle Plus