विकासे बहस र फिस्टे बुढा
चैतको अन्तिम साता पूर्वी पहाड (ओखलढुंगा) जाने संयोग पर्यो। एकजमानामा काठमाडौंबाट ओखलढुंगाको यात्रा काठमाडौं-कटारी एकदिनको बस यात्रा र दुईदिनको पैदल यात्रा पछि पुगिन्थ्यो। अहिले समय फेरिएको छ अर्थात् विकास भएको छ। काठमाडौंबाट बिहान बस चढेपछि बेलुकी ओखलढुंगा पुगिन्छ बिपी राजमार्ग हुँदै।
मेरो गाउँ मलाई अहिले कर्णालीका बारेमा सुनिएका किस्साभन्दा कहिल्यै फरक लागेन। घाँस काट्न जंगल गएको मान्छे सकुशल फर्केला कि नफर्केला भन्ने चिन्ता सँधै रहने, स्कूल पढन दुईघन्टा पैदल हिँड्नु पर्ने, टुकीको उज्यालोमा पढ्दा टाउकाका कपाल वा आँखीभौं डढ्ने, नुन तेल किन्न घरबाट पाँच दिने यात्रा तय गर्नुपर्ने इत्यादि। यी अहिले किंवदन्ती भएका छन्। घरघरमा बिजुली बत्ती बल्छ, आँगनमै गाडी पुग्छ, गाडीसँगै नुन तेल पनि आँगन मै पुग्छ। गाउँगाउँमा माध्यामिक विद्यालय छन्। समग्रमा विकासले ठूलो फड्को मारेको छ।
विकासले यति ठूलो फड्को मारिरहँदा त्यो गाउँमा एकजना पात्र छन्: फिस्टे बुढा। उनको असली नाम के हो भन्ने गाउँका धेरै मान्छेलाई थाहा छैन। कसैको बिहे हुँदा उनको भागमा पर्ने एउटै काम दमाहा बजाउने। उनको सम्पत्तिका नाममा एउटा घर, घरसँगै रहेको जुठेल्नो र त्यही एउटा दमाहा थियो।
उनको छोरो हट्टाकट्टा, गाउँभरी कै बलियो मान्छेमा गनिने तर फिस्टे बुढा एउटा खुट्टो खोच्याउँदै हिँड्थे। सालको पातमा सुर्ती बेरेर खाने बानी, त्यो पनि आगो भेटिने समयमा मात्र, नभए त सुर्ती चुँड्यो ओठमा त्यही सुर्ती चेप्यो र तलतल मेट्यो। हामी बच्चा हुँदा घरबाट सलाई चोरेर फिस्टे बुढाकोमा जान्थ्यौं, उनी सालको पातमा सुर्ती बेर्थे र हामीले सलाई लिएर गएको पुरस्कार स्वरूप हामीलाई एकदुई सर्को सुर्ती तान्न दिन्थे। अनि हामी स्वाँट्ट सुर्ती तानेर खोक्दै हाँस्थ्यौं।
गाउँ गएको बेला बालककालमा सुर्तीको स्वाद चखाउने उनै फिस्टे बुढालाई भेट्ने धोको थियो। बुढा अहिले धेरै बुढा भैसकेका। ७० बर्षजति भयो उनको उमेर। गाउँमा गाडी गयो, बत्ती गयो, उनको घरकै करेसोमा हामीले थाहा पाउँदादेखि कै युएनडिपीले बनाइदिएको धारा छ, चौबिसै घण्टा पानी आउने। तर फिस्टे बुढा झन्झन् बुढा हुँदै गएका, झन्झन् चिन्तित।
‘गाउँ त झलमल्लै भएछ नि, बुढा !’ मेरो कुरासँगै मुखमा एउटै दाँत नभए पनि हाँस्दै उनले भने, ‘आ, झलमल्लै नि, जिन्दगी अँध्यारो तर गाउँ उज्यालो।‘रहेछ। उनकी श्रीमती मरेको म अलिअलि मात्र सम्झिन्छु। उनको छोराले नयाँ घर बनाएछन्। दुईटा नाति मध्ये एउटाले आत्महत्या गरेको थाहा थियो। अर्को चाहिँ मलेशिया गएको रहेछ।
‘छोराले पैसा कमाइरहेका छन्। नाति मलेशियामा। बुढा, तिम्रो जिन्दगी के अँध्यारो?’ काठमाडौंबाट ओखलढुंगा जाने टुंगो गर्दै मलाई विकासले कसरी गरिबीको रेखामुनी रहेका जनताको जिवनस्तर फेरियो भन्ने बिषयमा चाख लागेको थियो। र, मैले त्यही प्रयोजनका लागि फिस्टे बुढालाई एउटा प्रतिनिधि पात्र सोचेको थिएँ। कारण, त्यो गाउँका सबैभन्दा बुढा मध्ये उनी एउटा थिए।
‘तपाइँ पढेलेखेका छौ, देश विदेश घुमेका छौ। तपाइँ था’ पाउछौ नि यस्ता कुरा’, उनले हाँसेरै जवाफ दिए। उनी बाँसको डोको पनि बनाउँथे। त्यही डोका बुनेर उनले आफ्ना छोरा, छोरी हुर्काए। दिनभरी काम गर्दा मात्र उनको जिविकोपार्जन हुन्थ्यो। त्यसो त उनको घरबाहेक बेसींमा खेत पनि थियो, ठ्याक्कै नापमा कति थियो त मलाई थाहा छैन तर एउटा सिंगो गह्रो थियो, तीन कमाई हुन्थ्यो। मज्जाले उब्जनी भयो भने १ मुरी धान, ५/७ पाथी गहुँ र १० देखि १५ पाथी मकै फल्थ्यो।
मैले सोधेँ, ‘स्वाँराको खेतलाई साथी जोडे त छोराले?’ ‘के ले जोड्नु? कमाएको जति जहान छोराछोरी पाल्दै सकिन्छ,’ उनको जवाफ थियो। बस नजाँदा गाउँमा रहेको अर्को रोजगारी थियो, हुनेखानेको लागि कटारीसम्म गएर नुन तेल ल्याइदिने, किराना पसलेको सामान बोकेर ल्याउने। ज्यानमा बल हुनेहरू मेलापातभन्दा बढी भारी बोक्न मन पराउँथे, किनकी यसमा आकर्षक कमाइ थियो। अहिले आँगनमै बस गयो, यो रोजगारी पनि गयो। वैकल्पिक रोजगारी बाटो खन्ने भयो। तर यी दुवै रोजगारीले पनि दैनिक जिविकोपार्जनको हैसियत बनाउन सकेन।
फिस्टे बूढाको पुरानो घर त जसोतसो नयाँ बनेछ तर पुरानो दमाहा कहिल्यै नयाँ भएन। भएको भए पनि कसैको विवाहमा दिनभरी दमाहा बजाउन सक्ने रहेनन् उनी। पाँचबर्ष अघि म एउटा बिहेमा जाँदा पञ्जेबाजा बजाउनेको लिस्टमा हेर्दा एकमात्र दमाहा बजाउने फिस्टे बुढा थिएनन्। उनको बारेमा सोध्दा त्यतिबेला पञ्चेबाजा टोलीका दाजुले भनेका थिए, ‘बुढा दमाहा उचाल्नै सक्दैनन्, बजाउन त परको कुरा।‘ त्यतिबेलासम्म कम्तीमा गाउँमा उनको दमाहा भाडामा लगिन्थ्यो। अहिले त गाउँकै अरू दुईजनाले दमाहा किनेछन्।
फिस्टे बुढाका छोरा हामीले सानामा देखेका फिस्टे बुढाको अवस्थामा छन्। उनका नाति मलेशिया गएकाले कम्तीमा खेतको एउटा गह्रो किन्छन् कि भन्ने आश उनको छोरामा देखिन्छ। बुढाभन्दा बुढाका छोराको जिवन फेरिएछ कि त? भन्ने जिज्ञासाले मैले छोरालाई सोधेँ, ‘दाजु, के छ? छोराले पैसा कमाउँदै छ?’
उनको जवाफ पनि उत्साहजनक थिएन, ‘१ लाख १० हज्जार तिरेर गएको हो। डेढ बर्ष भयो, अझै ५० हजार तिर्न बाँकी छ।‘ त्यो ५० हजार सयकडा २० प्रतिशत ब्याजको पैसा हो। मलेशिया बसेर उनको छोराले कति कमाउला हामी आफैं अनुमान गर्न सक्छौं। न त फिस्टे बुढाले पढे, न त उनका छोराले। उनका नातिहरूले कखरा त चिने तर माध्यामिक विद्यालय पढ्न जान उनीहरूको हैसियतले भ्याएन। पढाइ नभएपछि उनीहरूको रोजगारीको क्षेत्र सीमित बन्यो, त्यही हलो, कोदालो, भारी र दमाहामा।
फिस्टे बुढा जसकोमा आली लाउन जान्थे, उनीहरूका खेतमा अहिले धान, गहुँ, मकै मात्र हैन काउली, बन्दा, टमाटर जस्ता तरकारी उब्जनी हुन थालेका छन्। बारीबाटै तरकारी बिक्री हुन थालेको छ। बारीबाटै गाडीले तरकारी बजारसम्म लैजान्छ। तरकारी खेतिमा फिस्टे बुढाको भूमिका छैन। कहिलेकाहीं मीठो खान मन लाग्दा उनी तिनै मुखियाकोमा तरकारी किन्न जान्छन्। 'तल जरायटारमा त मुखियाहरूको खेतमा काउली कस्तो राम्रो फलेको ! आफूले ४ वटा बिरूवा मागेर रोपेको, बाँच्दै बाँचेन।' सायद स्याहार पुगेन। चारोटा काउलीको स्याहार गर्नु कि बेलुकी खानको लागि काम गर्न जानू फिस्टे बुढाले !
[caption id="attachment_412" align="alignright" width="400"] ओखलढुंगा-घुर्मी जोड्ने सुनकोशी नदीमा निर्माणाधिन पुल[/caption]
समाचार आयो: 'ओखलढुंगा-घुर्मी जोड्ने सुनकोशीको पुल भत्कियो।' ओखलढुंगा जाने सडकको लागि सुनकोशीको पुल महत्वपूर्ण छ। काठमाडौंबाट खोटाङ्, ओखलढुंगा र सोलुखुम्बुसम्म पुग्ने यो सडकखण्डमा सुनकोशी नदीमा पुल बनिरहेको छ। पछिल्लो समय चैतको अन्तिम साता बन्दै गरेको पुल भत्कियो। निर्माण पक्षले हावा हुरीका कारण पुल भत्केको बताइसकेका छन्। मैले फिस्टे बुढालाई भनेँ, 'लौजा, पुल त भत्क्यो रे।' उनले ओठ लेप्र्याउँदै भने, 'त्यो पुल बने पनि भत्के पनि मैले सुख देखिनँ।'
अहिलेको विकासको मोडलमा फिस्टे बुढाको प्रतिक्रिया विकासको रटान लगाउनेहरूले कति बुझ्लान् त्यो चाहिँ महत्वपूर्ण कुरा हो। बत्ती त छ तर बत्तीको बील तिर्ने पैसा कमाउन सक्ने वातावरण छैन। सडक आँगनमै छ, बस आँगनबाटै गुड्छ तर फिस्टे बुढाहरू बस चढ्ने पैसा नभएर अझै पनि पैदलै हिँड्छन्। जब विकासले फिस्टे बुढाहरूको जीवनस्तर उकास्दैन, उनीहरूको जीवनशैली परिवर्तन गर्दैन, त्यो विकासको के काम?

Comments
Post a Comment