भ्यालेन्टाइन सप्ताहको ‘किस डे’का दिन मेरो इन्बक्समा एउटा कथा आइपुग्यो। ‘लभ लेटर’ शीर्षकमा आएको ईमेल, त्यो पनि भ्यालेन्टाइन सप्ताहमा ! मैले हतार हतार ईमेल खोलेर हेरेँ, साँच्चै प्रेम पत्र नै थियो। यस्तो :-

मायाको पहिलो सौगात स्वरुप

हृदयको मेरो सानो अनुरोध

कोरेर तिमीलाई मायाको, मेरो यो प्रे

मपत्र………………………..

जीवनमा पहिलो प्रेमपत्र तिम्रो मात्र तिम्रो नाममा कोर्दैछु तिम्रो न्यानो स्नेह र साथको आशमा। सायद तिम्रो मायामा म नजानिँदै फस्दैछु र मलाई साहरा दिइ बचाउने पनि मात्र तिमी छौ यो संसारमा।

के मेरो समीपमा आएर मेरो माया स्वीकार्छौ तिमी? भन्छन्, माया बस्न मात्र एक नजर नै काफी छ । तर म त्यसको प्रतिकार गर्थें, वाहियात ठान्थें । सोच्थेँ, यो त सब भन्ने कुरा न हो । अनि विश्वास गर्थेँ, यथार्थमा।

अरूले गर्ने मयालु भावनाका कुरामा कहिल्यै विश्वासै लाग्दैनथ्यो। तर अहिले ! म गलत भइरहेछु। तिम्रा ती निश्चल र निर्मल नयनका सामु म झुकेँ वा झुकाइएँ । तिम्रो एकै नजरले मैले आफूलाई गुमाएँ। म नचाहेरै पनि तिमीतिर तानिएँ।

तर तिमी ! तिमी त यो मेरो प्रेमबारे नै अनभिज्ञ छौ, नादान छौ। अचम्म लाग्छ, किन म तिमीसँग आँखा जुधाउन सक्दिनँ। मेरा आँखा अनायसै झुक्छन्, तिमी सामु हुँदा। मेरो जिउ शिथिल हुन्छ तिम्रो समीपमा आउँदा।

के तिमीलाई मेरो यो अवस्थाको आभास हुँदैन?  वा तिमी निर्दोष बनिरहेका छौ जानीजानी? म तिम्रो निर्मल आँखाको सागरमा डुबुल्की मार्न चाहन्छु, हराउन चाहन्छु, अनि भुल्न चाहन्छु आफैलाई। तिमीमा, र केवल तिमीमा। पूर्ण रूपमा समाहित भएर, बस् तिमीसँग ।

ती नीलो सागर सिंगै बोक्ने तिम्रो नयन, त्यो हँसिलो र प्रज्वलित मुखमण्डल अनि मधुर मुस्कान देख्दा लाग्छ तिमी मानव नभएर साक्षात ईश्वरको प्रतिबिम्ब हौ । तिम्रो निकटता कल्पिँदा संसारका सबै सुख र खुसीहरु मेरा पाउमा झुकिरहेका छन् झैँ लाग्छ।

के छ खास तिम्रो मुस्कानमा, जसले हरक्षण मलाई पागल अनि पागल बनाउँदै लगिरहेको छ। तर यो पागलपन, उफ ! कस्तो आनन्दको आभास।

तिमीलाई एउटा कुरो भनौं? मेरा आँखाहरू तिमीलाई नै खोजिरहन्छन्, हरक्षण। तिमी हिँड्ने बाटोमा मेरा नजर बिछ्याएर बसिरहन्छु म। केवल तिमीलाई लुकेरै नियाल्न। मैले लिने हरेक श्वासमा तिम्रो प्रेमको मीठो वासनाको अनुभव गर्छु म। मेरो मुटुको हर धड्कन तिम्रै नाममा धड्किरहेका हुन्छन्। यी ओठ, केवल तिम्रो नाम पुकारिरहेका हुन्छन्।

के तिमीले सुनेका छौ मेरो दिलको आवाज?  मेरो मनमा प्रवाहित तरङ्ग तिम्रो मनसम्म आइपुगेका छन्?

तर जेहोस्, म यो सानो पत्र तिम्रो नाममा कोर्दैछु, एउटा झिनो आशमा कि तिमीले एकदिन मेरो भावना बुझ्नेछौ। मेरो मनको चाहनालाई चिहान बन्न दिनेछैनौ। तर, यो त मात्र मेरो मनको आस न हो, जुन पूरा नहुन पनि सक्छ।

तिमी विश्वास गर या नगर मेरो माया सागर जस्तो निर्मल र पवित्र छ, बादल जस्तो शितल छ, वसन्तको सौन्दर्य जस्तो सुन्दर छ, गोधुली साँझ जस्तो शान्त छ अनि सुधा जस्तै अमर छ। तर मेरो मायालाई स्वीकार गर्नु या नगर्नु त्यो त तिम्रो इच्छा को कुरो।

तिमीले स्वीकार्यौ भने संसारको सबैभन्दा धेरै र ठुलो खुसी मिल्नेछ मलाई। तिम्रो न्यानो काखमा असीम माया पोखिदिनेछु छताछुल्ल हुने गरी, अनि हराउनेछु तिमीभित्र। अस्वीकारै गरेपनि म दु:खी हुने छैन। मलाई थाहा छ, मैले तिमीलाई निस्वार्थ प्रेम गरेको छु। मैले मेरा हरेक श्वासका झोंक्का तिमीप्रति समर्पित छ। अनि अत्यन्तै प्रगाढ र गाढा।

म तिमीप्रतिको प्रेमले मेरा हरेक अवयवहरुमा सीञ्चित गरेर राख्नेछु अनि जिउने प्रयास गर्नेछु तिम्रै प्रेममा। मेरो मायामा स्वार्थ नै छैन अनि मैले तिमीलाई जबर्जस्ती पाउने चेष्ठा गरेको पनि छैन। मेरा लागि प्रेम आत्मिय बन्धन हो, जहाँ मनसँग मनको गहिराइ नापिन्छ र यो अटुट रहन्छ।

के तिमी मेरो यो मिठो अनुरोध स्वीकार गर्छौ? तिम्रो मायामा रम्ने हक दिन्छौ मलाई? म तिम्रो जवाफ पर्खिरहनेछु, कालान्तरसम्म अनि यही निस्वार्थ प्रेम गरिरहनेछु।

उही, तिम्रो कोमल हृदयलाई न्यानो स्पर्श दिने पवित्र प्रेम ।

पत्र त पढिसकियो। तिमी भनेर सम्बोधन गरेर लेखिएको ‘प्रेम पत्र मेरो ईन्बक्समा किन? तिमीले मलाई प्रेम गर्छौ?’ मैले यही लेखेर ईमेलको जवाफ पठाएँ। उताबाट जवाफ आयो, ‘हा हा हा, नो वे, इफ यु थिंक इट डिजर्भ प्लेस एट योर ब्लग।’ मैले पोष्टिदिएँ।

(यो प्रेम पत्र नम्रता ढुंगाना (@PolitenessStona) ले लेखेकी हुन्। नम्रताका अनुसार यो प्रेम पत्र कक्षा सातमा पढ्दा स्कूलमा भएको साहित्य प्रतियोगिताको लागि लेखिएको हो। उक्त प्रतियोगितामा यो प्रेम पत्रले प्रथम स्थान हासिल गरेको थियो।)

Ananta Koirala

A Student of Journalism. Worked as Online Correspondent at News Nepal Network International Pvt. Ltd., Sub-editor in Jagadamba Publication, currently working as Correspondent at pahilopost.com. Interested in Nepali movie. Like to write commentary on social issue, Journalism and literature.

More Posts - Website

Follow Me:
TwitterFacebookGoogle Plus