वाह ! त्यो गाइजात्रा

पुर्वी पहाडको कर्णाली भनेर चिनिने जिल्ला ओखलढुंगा। तर घर चाहिँ जिल्लाकै सबैभन्दा उब्जाउ हुने गाउँमा। यता सदरमुकाम चाहिँ कवि सिद्धिचरण श्रेष्ठको गाउँ। बहुसंख्यकभन्दा पनि धेरै नेवारी बस्ती। अनि त्योभन्दा नि बढी व्यापारी हैनन् साहूजी।

[caption id="attachment_324" align="alignnone" width="300"]फोटो: साभार फोटो: साभार[/caption]


गाउँमा चिनी, चिया, लत्ताकपडा, नुन, तेल त उत्पादन हुन्नथ्यो। जति फल्थ्यो, कोदो, मकै, गहुँ, आलु, धानमात्रै। चियामा चामल हाल्न नमिल्ने, कोदो, गहुँको झोल बनाउन बाहुनले हुने कुरै भएन :) हप्ताको एकदिन (शनिवार) सदरमुकाममा बजार लाग्ने। आफ्नो काम चाहिँ गहुँ, मकै, चामल, आलु अनि कहिलेकाहीं बोरामाथि कुखुरा राखेर बिहानै दगुर्नु पर्ने सदरमुकामतिर। बाटो छोटो नै थियो, जम्मा ४ घन्टाजति लाग्थ्यो। तीनघण्टामै कोही पुग्यो भने त्यो विरेन्द्रशील्ड प्रतियोगितामा १०० मीटरदेखि १६०० मीटरसम्मको दौडका लागि योग्य उमेदवार। धन्न म बच्चामा सानै थिएँ र कहिल्यै उमेदवार बनिनँ। बच्चामा ऐले जत्रै भ'को भए को छेउ पर्ने :D

सदरमुकाममा नेवारहरूको बस्ती त छँदैथियो र ती सबै साहू पनि थिए। हामी कोदो, मकै, गहुँ र चामलका निम्नस्तरीय साहू, सदरमुकामका साहू चाहिँ उच्चस्तरका साहू, चिनी, कपडा, नुनसम्म बेच्ने। हाम्रो अन्न सँधै कमसल उनीहरूका सामान सबै अब्बल। तर एउटा कुरा चाहिँ मान्नैपर्छ। हामी बिहान बेलुका गाई, भैंसी दुहुने, भकारो सोहोर्ने, खेत जोत्ने गरेर अरमठ्ठिएका हुने, सदरमुकामका साहूहरू र उनीहरूका छोरीहरू चाहिँ टिलिक्क टल्कने हुन्थे। छुँदै धुलो लाग्लान् जस्ता, आधुनिक पहिरन स्कर्ट, पेन्ट लगाएर पसलमा बस्ने। त्यस्ता सुकुमारीहरूले चामलको दाम कम दिँदा र कपडाको दाम बढी भन्दा पनि हामी मख्खै पर्थ्यौं। कुरा गर्दा फेरि सारै मीठो मुस्काएर बोल्ने मोरीहरू !

सदरमुकाममा भदौमा एकहप्तै चल्थ्यो गाइजात्रा। ढोलक र झ्याम्टा बजाएर लाखे खुपै नाच्थे। गाइजात्राको मौसममा चामल र गहुँ बोकेर बजार जानपनि ठूलै चिठ्ठा पर्नुपर्ने। अरूदिनभन्दा शनिवारको लाखे नाच बिशेष हुन्थ्यो। हुनत नाच त सँधै त्यस्तै होला, तर कैलेकाहीं स्कूलबाट भागेर लाखे नाच हेर्न जानेहरूले शनिबार त नाच्दै नाच्दैनन्। खास नाच त अरू दिन पो हुन्छ भनेर जोत्नु गफ जोत्थे। यी भगौडाहरू नाचको मात्र कुरा गर्थे र, त्यसमा बजारभरीकी सबैभन्दा राम्री नेवार्नी केटीको नाम लिन्थे र त्यहीसँग कुम जोडेर लाखे नाच हेरेको बयान गर्थे। पापीहरू ! भोलिपल्ट स्कूल हिँडेका केटा सिधै सदरमुकाम पुग्थिम्।

हामी निमुखा अझ सदरमुकामका नेवारहरूका लागि पाखेहरूले नराम्रोसँग लाखे नाच्नेवालाको पिटाई खान्थ्यौं। साथमा भएको केही पैसा पनि लाखेलाई दिएर ज्यान जोगाउँदै घर फिर्नुपर्थ्यो। उसै त बजारको दिन, ठेलमठेल गर्दै अगाडि पुग्यो उता लाखेले लखेटेपछि फेरि पछाडि पुगिन्थ्यो।

जान तीनघण्टा आउन तीनघण्टा भनेपछि समय त्यसै जान्थ्यो। अनि लाखे नाच चाहिँ बल्ल ३ बजेतिरबाट शुरू हुने। दुईघण्टा जति त नाच हेर्नैपर्‍यो ६ घण्टाको लगानी गरेपछि। घर पुग्दा ८-९ बज्ने। स्कूल ग'को छोरो ८ बजेसम्म घर नपुग्दा बाउआमालाई कति पीर हुँदो हो? त्यो ५ बजेदेखि ८ बजेसम्म जम्मा भ'को पीर सबै डँडाल्नामा बज्रिन्थ्यो। तर पनि त्यो पिटाइको पीडाभन्दा लाखेनाचको मस्ती त कति रमाइलो रमाइलो। साथमा टिलिक्क टल्किने नेवार्नी ठिटीहरूको हाँसो। मेरी आमोई नि ! अहिले पनि ज्यान सनन्न हुन्छ :P

विराटनगरमा शुरूशुरूमा जादु हेर्न जाँदा गोजीमा पैसा भएकोबेला जसरी तर्साई तर्साई जादुवालले गोजीको पैसा निकाल्थ्यो, ओखलढुंगामा हुञ्जेल लाखेले त्यसैगरी पैसा निकाल्थे। चौंरीको चमर र यत्रो बडेमानको मुखुण्डो लाएर, रातो कपडा, अनि उनीहरूको अजङ्गको शरीर। परैबाट हेर्दा एकचरणको सात्तो गइसक्थ्यो। अलिअलि बाँचेको सात्तो लाखे छेउमा आइपुग्दा अनि उसले हात घुमाए झैं गरेर ड्याम्म हिर्काउँदा त सात्तो त के सासै रोकिए बराबर। अनि अगाडि बसेर पनि पिटाई नखाने चाहिँ सिधै ओलम्पिकको गोलमेडलिस्ट हुन्थ्यो। सदरमुकामबाट फर्किँदा लाखेको हातको झापड बिर्सिने गरी पिट्थ्यो त्यसले बोलीले नै।

तर मैले अहिलेसम्म बुझेको छैन, त्यो लाखे नाच्नेहरूले हेर्नेहरूलाई किन लखेटी लखेटी पिट्थे होलान्? :D

Comments

Popular posts from this blog

देश छोडेका ५ बर्ष

भड्किएका हामी, बतासिएको बहश

निद्रा, तन्द्रा, भ्रम र यथार्थ