‘मेचीभन्दा उथ देश नाइँ’

पशुपति वृद्धाश्रमको कम्पाउन्डबाट छिरेपछि मुख्य ढोका आउँछ। ढोका बाहिर वारपारै फैलिएको पेटी छ। ढोकैको छेउमा दाहिनेपट्टि दाउरा थुपारिएको छ। पेटीभरि एक्लै, दुईजना गरेर छरपस्ट वृद्धवृद्धाहरू आफ्नै गफमा मस्त छन्। ‘कुन देशका हउ?’ सेतो टिसर्टमाथि कालो इस्टकोट, जाडोमा भित्र लगाउने कालै ट्राउजर र हवाई चप्पल। उनको छेउमा बाहिरपट्टि अर्का एकजना वृद्ध खेरो रङको कुकुरसँग जिस्किँदै छन्।

अचानक सोधिएको प्रश्न अस्पष्ट थियो। बूढापाकाहरूले नेपालभित्रैका जिल्लालाई पनि देश भन्छन्। उनले कुनै जिल्लामा रहेको घर सोधेको हो या नेपाल बाहिरको देश भनेर सोच्दा नसोच्दै फुत्त आवाज निस्क्यो, ‘पूर्वतिर।’ उनका आँखा दूध चोर्न लागेको बिरालोका झैं यताउता दगुरिरहेका थिए। उनले जवाफ सुनेनन् वा बुझेनन् ठम्याउन गाह्रो थियो।

पहिलाको जवाफ नै बुझे कि बुझेनन् भनेर असमञ्जस्य परेको बेला घुँडामाथि हात राखेर उनले फेरि सोधे, ‘डोल्पा गया हउ?’ छैन, सानै स्वरमा जवाफ। ‘छैन रे’ ढोकाबाट बाहिर निस्कँदै गरेकी अर्की वृद्धाले छेउमै गएर कराइन् र हाँस्दै भनिन्, ‘यस्ले कान सुन्दैन, बेस्सरि कराउनुपर्छ।’ उनी दाहिनेपट्टि ढोकाको छेउमै बसिन्।
रातो बुट्टे चोलो र फरिया लगाएर हातमा रातो नङपालिस लगाएकी यी वृद्धा बोल्दा उनका आँखामा कुनै २१ वर्षीया युवतीको आँखामा भन्दा कम चमक थिएन। बोलीबाटै थाहा हुन्थ्यो यति वृद्ध उमेरमा पनि उनको युवतीय चञ्चल स्वभाव बाँकी नै थियो।

[caption id="attachment_320" align="alignright" width="300"]फोटो: अन्नपुर्ण पोष्ट फोटो: अन्नपुर्ण पोष्ट[/caption]

‘अनि तपाईंको उमेर चाहिँ कति भयो नि?’ स्वर कडै भएछ, अलि पर पेटीको थाममा अडेस लागेर झकाइरहेका अर्का वृद्धले पुलुक्क हेरे। ढोकाको दायाँ र बायाँपट्टि बसेका वृद्धसँगको दूरी मुस्किलले डेढ मिटर होला। उनले भने, ‘बहत्तर।’ दाहिने हातले देब्रे हातका औंला भाँच्दै वृद्ध महिला हिसाब गर्न थालिन्, ‘७२, ७३, ७४, ७५।’ उनी ७५ मा अड्किएपछि प्रश्न उनैतिर, ‘तपाईंको उमेर चाहिँ ७५?’

‘अँ, म त ७९ पुगिसकेँ।’ आफ्नो उमेर धेरै भएकोमा उनी दंग देखिइन्।’ अनि मतदाता नामावलीमा नाम लेखाउनुभयो त?’ मतदाता नामावलीमा वृद्धाश्रमका वृद्धवृद्धाको नाम दर्ता भयो कि भएन भन्ने सवाल गज्जबको समाचार हुन सक्थ्यो। वृद्धाश्रमको अफिसमा पुगेर यसबारे सोधपुछ गर्दा २०६८ मै ७० जना जतिको नाम दर्ता गरिसकिएको जानकारी आएको थियो। जम्मा दुई सय ३० जना वृद्धवृद्धा रहेको यो वृद्धाश्रमका बाँकीले नागरिकता नभएर मतदाता नामावलीमा नाम दर्ता गराउन पाएका छैनन्। यसबारेमा मन्त्रालयसँग कुरा भइरहेको छ। मानवअधिकार आयोगले समेत यसबारे पहल गरिरहेको छ।

‘पोहोरै अफिसका हाकिमहरूले भनेर फोटो खिचेर बना’को।’ ७९ वर्षीया वृद्धाले हावामा हात फैल्याउँदै जवाफ दिइन्। ‘नागरिकता लगेर बना’को’, उनको भाव भर्खरै विद्यालय गएको बालकले आफ्नो पहिलो दिनको अनुभव घरमा आएर सुनाएभन्दा फरक थिएन। ‘अनि भोट चाहिँ कस्लाई दिनुहुन्छ त?’ प्रश्न सोध्दा कुनै एउटा पार्टीको नाम आउँला नै भन्ने लागेको थियो। ‘भर्खर त साउन महिना छ, मंसिरसम्म को आउँछ के थाहा?’ जवाफ दिँदादिँदै उनी उठेर भित्र गइन्।

‘कुन देशका हउ?’ ७२ वर्षीय वृद्धले अघिको उत्तर सुनेनछन्, छेउमै आएर सोधे। ‘नेपाल’, जवाफ दिने बित्तिकै उनको अनुहारमा मन्द मुस्कान छायो। कालो फ्रेममा मोटो ग्लाससहितको चस्माभन्दा माथि उनको निधारमा मुजा परेको प्रष्टै देखिन्थ्यो। ‘अम्रिकाका जस्ता देखिया छौ’, उनका हात घुँडाबाट हटेका थिएनन्। ‘डोल्पा गया हउ?’ प्रश्नसँगै ‘छैन’ भन्ने उत्तर नि दोहोरियो। ११ महिना अगाडि डोल्पाबाट पशुपतिको वृद्धाश्रम आएका यी वृद्धलाई डोल्पाको छाप कति गहिरो परेको छ सहजै अनुमान लगाउन सकिन्थ्यो। डोल्पा ग’को छैन भन्ने सुनेर उनले थोरै मुख बिगारे। तर उनको जिज्ञासा सकिएको थिएन। पूर्वतिर घर भनेपछि उनले केही जिज्ञासु भएर भने, ‘मेचीभन्दा उथ देश नाइँ।’ उनले मेचीका दुई जिल्ला इलाम र झापाको नाम लिए र अरू जिल्लाको खोजीमा लागे। निधार खुम्चाए, कोसीको नाम लिए तर मेचीका अरू जिल्ला सम्झेनन्। उनको जिज्ञासा शान्त पार्न जिल्ला गन्दै गर्दा उनले भने, ‘यहाँ लै छन् मेचीका।’

कम्पाउन्ड बाहिरबाट एक मारवाडी परिवार कार्टुन लिएर भित्र छिरे। पेटीमा छरिएका वृद्धवृद्धाहरू वृद्धाश्रम भित्र छिर्न थाले। तीनजना पुरुषले काँधमा कार्टुन बोकेका थिए दुईजना महिलाले प्लास्टिकको झोला। वृद्धाश्रमको कार्यालय बाहिर कार्टुन बिसाए। भर्खरमात्र बल्लबल्ल बाहिर पेटीसम्म आइपुगेकी ९० कटेकी वृद्धालाई भित्रसम्म पुग्न हम्मेहम्मे पर्‍यो। पहेँलो ब्लाउज र पहेँलै धोतीमा खाली खुट्टा आफ्नो ढाड थोरै झुकाएर लौरोको सहाराले भित्र छिरिन्। सबै पालैपालो लाइनमा उभिए। एउटा दानो स्याउ, एउटा कोकोनट बिस्कुट र एक बट्टा फ्रुटी दुइटा हातमा थापे। कसैकसैले दुईवटा बिस्कुट, स्याउ र फ्रुटी पनि दुइटैका दरले भेटे। हातमा सामान बोकेर पुन: सबै यत्रतत्र छरिन थाले।

वृद्धाश्रममा ६५ देखि ९६ वर्ष उमेरसम्मका वृद्धवृद्धाहरू छन्। पूर्व मेचीदेखि महाकालीसम्मका वृद्धवृद्धाहरू वृद्धाश्रमलाई नै आफ्नो घर बनाउन बाध्य छन्। उनीहरू कोही परिवारका कारण, कोही समाजका कारण अनि कोही राजनैतिक कारणले वृद्धाश्रमको शरणमा आइपुगेका छन्। यही वृद्धाश्रम उनीहरूको सामूहिक घर हो र उनीहरूका अभिभावक चाहिँ कार्यालयका कर्मचारीदेखि सुसारेसम्म। उनीहरूमा रहेको प्रेम, आपसी सम्बन्ध, रमाइलोमात्र हैन गुटबन्दी, एकअर्काबीचमा देखिने ईश्या पनि कम रमाइला हुँदैनन्।

‘कसैलाई चाहिँ दुईदुइटा फ्रुटी, हाम्लाई चाहिँ एउटा स्याउमात्र दियो’, पेटीको देब्रेपट्टिबाट आमाचकारी गालीसहित आएको यो आक्रोशले ध्यान नखिच्ने कुरै भएन। पुर्वेली लवजमा ठाँटिएर बोल्ने यी मंगोलियन वृद्ध ढोकाभन्दा अलि पर गएर बसे। आफूले टेकेको लौरोले पेटीको ढुंगामा टक् टक् पार्दै बाहिर बाटोतिर हेर्दै टोलाए।
वृद्धाश्रममा एकजना १६/१७ उमेरकी एक युवती स्कुले पोसाकमा एकजना विदेशीसहित भित्र छिरिन्। पेटीमा बसेका वृद्धवृद्धाहरूले नमस्कार गरे। ढोकाको भित्रपट्टि ओछ्याएको कार्पेटमा बसेका वृद्धाहरूले हात समातेर चुमे। कसैले आत्मीयताका साथ हात मिलाए। एक वृद्धले यी युवतीको हातमा स्याउ राखिदिए। सायद उनी यिनै युवतीमा आफ्नी नातिनीको प्रतिविम्ब देख्दा हुन्। युवतीले स्याउ तपाईं नै लिनुस् भन्ने मुद्रामा वृद्धाको हातमा राखिदिन खोजिन् तर वृद्धाले हातमा समातेर पिठ्यूँमा धाप मार्दै युवतीलाई अगाडि हुत्याए र हाँसे।
ढोकाको भित्रपट्टि फलैँचामा कार्पेट ओछ्याएको छ। त्यसमाथि पाँच, छवटी वृद्धाहरू आपसमा गफ गर्दैछन्। एकजना हरियो सारी र हरियै ›लाउज लगाएकी वृद्धा ख्वाक्ख्वाक् खोकिरहेकी छिन्। अर्की एक वृद्धा चाहिँ त्यहाँ भएका सबैलाई आफूसँग भएको नङपालिस लगाउन दिइरहेकी छिन्। नङ पालिस लगाउन दिँदै गर्दा उनका आँखा खुसीले चम्किन्छन्। नङ पालिस लाउँदिन भन्नेलाई यिनी रिसाएर हेर्छिन्, मुहार मलिन हुन्छ। नङ पालिस लिनेलाई पनि एकपटक हेर्छिन् र नङ पालिस लगाएको हातको सुन्दरता सम्झेर दंग पर्छिन् र मुस्कुराउँछिन्। नङ पालिस लगाएर फिर्ता लिने बेलामा उनी उत्सुकताका साथ औंलाहरू हेर्छिन् र ‘आहा ! कति राम्रो देखिएको’ भन्ने संकेत गर्दै दंग पर्छिन्।

उता कम्पाउन्डबाट एकजना कार्टुन काँधमा बोकेर भित्र पसेको देखिन्छ। उनका पछिपछि एक बालिकासहित दुईजना माग्ने महिलाहरू भित्र छिर्छन्। पेटीमा बसिरहेका एक वृद्धले माग्ने महिलालाई बाहिर जाने आदेश दिए। वृद्धाश्रमले दिएको घुर्मैलो कमिज सुरुवालमाथि कालो इस्टकोट उनको पहिरन। मुखमा एउटै दाँत देखिँदैनन्। उनको बोली स्पष्ट छैन। उनी सकेसम्म ठूलो स्वर निकालेर ‘बाहिर जा’ भनेर कराए। महिलाहरू दाताले बोकेको कार्टुनमा आकर्षित थिए। दाताले दिने त्यही एउटा बिस्कुट वा स्याउ पनि उनीहरूका लागि धेरै हुन्थ्यो। तर वृद्धाश्रमका वृद्धासँग उनीहरूले पौंठेजोरी खेल्न चाहेनन् र उनकै भाषामा गाली गर्दै बाहिर निस्किन्।

‘ओइ ! नानी, याँ आइजो’ अघि भर्खरै आमाचकारी गाली बक्दै गरेका वृद्धले माग्ने महिलासँग आएकी बच्चीलाई बोलाएर आफूले पाएको स्याउ दिए। बच्ची खुरुरु दौडेर आइ। स्याउ हातमा लिएर एकपटक बुरुक्क उफ्री र बाहिर दौडिई। बच्ची बाटोमा नपुगुञ्जेल वृद्धले हेरिरहे। उनको अनुहारमा सन्तोषका रेखाहरू दौडिरहेका थि। बेतको लौरो टेकेर हिँड्ने उनी ढोकाको छेउमै आएर बसे। उनीसँगसँगै अर्का एक मंगोलियन जस्तै देखिने वृद्ध पनि आए। ‘एउटा स्याउ दिएर मर्‍यो। मैले त माग्नेलाई दियो।’ अर्का वृद्धले थपे ‘मलाई पनि बिस्कुट दे’को’थ्यो, मैले लिइनँ’। यी दुई वृद्ध लाइनको पछिल्लो पंक्तिमा परेछन्। मारवाडी दाताले ल्याएको बिस्कुट र फ्रुटी कम भएर उनीहरूको भागमा नपरेको प्रस्टै झल्किन्थ्यो। त्यसको रिस दुवैको आँखामा देख्न सकिन्थ्यो।

आजकल धेरै दाताहरू जन्मदिन, आमाबाबुको तिथि श्राद्धमा पशुपति वृद्धाश्रम जान थालेका छन्। त्यहाँ रहेका वृद्धवृद्धालाई खाना ख्वाउन पहिले नै कार्यालयमा कुरा गरेर दिन ‘बुक’ गर्नुपर्छ। कहिलेकाहीँ त आफूले भनेको दिन पालोसमेत पाइँदैन। धेरै मान्छेहरू आउजाउ गर्ने कारणले हुन सक्छ सबै वृद्धवृद्धाहरू त्यहाँ जाने सबैलाई मुस्काउँदै नमस्कार गर्छन्। दुईतीन पटक गइसकेकासँग हात मिलाउँछन् र अंकमाल गर्छन्। नरम बोल्छन्, घर थर सोध्छन्। जब उनीहरूका घरपरिवारका बारे सोधिन्छ अनि उनीहरूको मुस्कान हराउँछ र आँखा आँसुले भरिन्छन्।

एउटा कोरियन टोली वृद्धाश्रमको कम्पाउन्डबाट छिर्नेबित्तिकै पेटीमा बसेका वृद्धहरू नमस्कार गर्छन्। माग्ने महिला भगाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका वृद्ध यी कोरियनहरूलाई वृद्धाश्रम भित्र जान इसारा गर्छन्। ६ जनाको समूहमा आएको कोरियन टोली के गर्ने के नगर्ने असमञ्जस्यमा पर्छ। ६ जनामध्ये एउटीले अंग्रेजीमा सोधिन्, ‘यो मन्दिर हो?’ मेरो ‘मन्दिर नै हो तर भगवान्को हैन वृद्धवृद्धाहरूको’ भन्ने उत्तर उनले बुझिनन् सायद। उनले साथीहरूसँग उनकै भाषामा के के कुरा गरिन् र फेरि सोधिन्, ‘बुद्धिष्ठ?’

मसँग यो प्रश्नको जवाफ थिएन। मलाई नै थाहा छैन पशुपतिको वृद्धाश्रममा कुनकुन धर्म मान्ने वृद्धवृद्धाहरू बस्छन्। यो वृद्धाश्रममा बस्न पाउने योग्यता के हो पनि थाहा छैन। अनि ती कोरियन महिलाले सोधेको प्रश्न नै के हो भनेर बुझ्नै सकिनँ। मैले उनलाई यत्ति जवाफ दिन सकेँ, ‘यहाँ वृद्धवृद्धाहरू बस्छन्। धर्मको छेकबार छैन जस्तो लाग्छ।’ उनीहरूले के बुझे, तर पेटीमा बसेका वृद्धले ‘भित्र जानुस् भित्र जानुस्’ भन्दाभन्दै उनीहरू बाहिर गए।

अन्नपुर्णपोष्टमा २०७० साउन २६, शनिबार प्रकाशित

Comments

  1. खिमलाल पन्थीAugust 10, 2013 at 3:08 PM

    मन छुने लेख

    ReplyDelete
  2. धन्यवाद :)

    ReplyDelete

Post a Comment

Popular posts from this blog

देश छोडेका ५ बर्ष

भड्किएका हामी, बतासिएको बहश

निद्रा, तन्द्रा, भ्रम र यथार्थ