किन चाहियो सरितालाई धोती कुर्ता लाउने ?


‘राजनैतिक ‘प्रोपोगाण्डा’ अरू प्रोपोगाण्डाभन्दा पुरै फरक हो। यसले आफ्नो लक्ष्यसम्म पुग्नको लागि एउटै तरिकाको प्रयोग गर्दछ तर भिन्न मान्यताका साथमा।‘ सन् १९३० मा जी. स्टर्कले ‘आधुनिक राजनीतिक प्रोपोगाण्डा’मा उल्लेख गरेको यो पंक्तिका आधारमा अहिले सरिता गिरीले ट्वीटरमा अबलम्बन गरेको ‘राष्ट्रिय एकताको प्रोपोगाण्डा’ बडो चाखलाग्दो भएर देखापर्दछ।

राजनीतिमा रणनीतिको बिशेष महत्व हुन्छ। यो सतरंज (चेस)मा गोटीको चालजस्तै हो। ठीक समयमा ठीक गोटी चालियो भने खेल जितिन्छ नत्र हार। अहिले नेपाल सदभावना पार्टी (आनन्ददेवी) की अध्यक्ष सरिता गिरीको राष्ट्रभाषा र राष्ट्रियताका बारेका ट्वीटहरू पनि उनको राजनैतिक रणनीतिका रूपमा देखापरेका छन्। तत्कालिन राजा ज्ञानेन्द्रले सत्ता हत्याएका बेलासम्म सरिता गिरीको नागरिक समाजमा एक प्रभावशाली वक्ताको छवि थियो। तर त्यो छवि संविधानसभाको निर्वाचनसँगै धुमिल हुँदै गयो। स्पष्ट वक्ताबाट उनी अराजक हुँदै गइन्। संविधानसभाले चारबर्ष पुरा नगर्दै उनी भ्रष्ट मन्त्रीमा परिणत भइन्। बाबुराम सरकारको गठबन्धनमा मधेशकेन्द्रित मन्त्रीहरू भ्रष्टाचारमा धेरै बदनाम भए। गिरीले सबै उछिनेर पहिला भइन्।

उक्त मन्त्रीपरिषदको सबैभन्दा भ्रष्ट मन्त्री बनेपछि बाबुराम भट्टराइले उनलाई मन्त्रीमण्डलबाट निष्कासन गरे। पछिल्लो चरणमा उनी यस्ती नेतृ भइन् कि तीनजना सदस्य भएको उनको संसदीयदलमा उनी एक्लै बाँकी रहिन्। सदभावना कोटाका साहुजी सभासद मोतीलाल दुगड पनि उनीसँग टिक्न सकेनन्। पार्टी चलाउने उनको कुशलताको उदाहरण पार्टीकी एक्ली सदस्य उनैले बढी भन्न सक्लिन्। मन्त्री छँदा सिंहदरबारभित्र जुलुस र धर्ना गर्न म्यानपावरबाट बाउन्सरहरू झिकाउने गर्थिन्। मन्त्री आफै आफ्नो संसदीयदलमा बाउन्सरको अग्रपंक्तिमा बसेर धर्ना दिन्थिन्। मन्त्री खुस्केपछि उनी अहिले धोती र कुर्तावालको खोजीमा छिन्।





देश संविधानसभाको दोस्रो चुनावको गृहकार्यमा जुटिरहेका बेला राजनैतिक वृत्तमा सरिता गिरीको कुनै स्थान छैन। मधेशमा समेत उनले गजेन्द्रनारायण सिंहको पञ्जाछापलाई सिध्याइसकेकी छिन्। यसबेला उनले राष्ट्रियताजस्तो संवेदनशील मुद्दा बोकेर सामाजिक सञ्जालमा दरिलो उपस्थिति जनाइरहेकी छिन्। उनले धोती र कुर्तालाई राष्ट्रिय पोशाक र हिन्दीलाई राष्ट्रिय भाषा बनाउनु पर्ने भन्नु उनले मनको अभिव्यक्ति नै हो। उनले माइति भारत छोडेको दशक भैसक्यो तर पनि उनलाई माइतिको राष्ट्रियता अझै प्यारो छ। यहाँ बसेर माइति राष्ट्रियताको पक्षमा जनमत बनाउन उनी लागिपरेकी छिन्।


गिरीलाई राम्रोसँग थाहा छ, अहिले उनले जेसुकै कुरा गरेर भएपनि समाजमा तरङ्ग ल्याइनन् भने उनमा यदि कुनै राजनैतिक हैसियत छ भने त्यो पनि रहने छैन। त्यसैले विवादास्पद मुद्दालाई उठाएर आफ्नो उपस्थिति देखाउन खोज्दैछिन्। त्यसैले उनले एकदमै तरल र चाँडो प्रतिक्रिया पाइने ठाउँ सामाजिक सञ्जालमा आफ्नो निशाना साँधेकी छिन्। उनले जे खोजेकी छिन् ठ्याक्कै त्यही सामाजिक सञ्जालबाट प्राप्त गरेकी छिन्।


सरिता गिरी सामान्य रूपमा आफ्ना भावना पोख्न वा समाजको विकृतिका बारे कुरा उठाउन मात्र सामाजिक सञ्जालमा सक्रिय छैनन्। उनको योजना स्पष्ट देखिन्छ। पछिल्लो चरणमा नेपालमा मात्र हैन संसारभर नै सामाजिक सञ्जाल (विशेषगरी फेसबुक र ट्वीटर) को विश्वव्यापी प्रभावका बारे सरिता गिरी अनविज्ञ छैनन्। उनलाई थाहा छ, सामाजिक सञ्जालको प्रयोगबाट तीललाई पहाड बनाउन सकिन्छ। उनले आक्रामक शैली अपनाएकी छैनन् तर जोडदार तरङ्ग ल्याइरहेकी छिन्। राष्ट्रिय एकताको दुहाई दिँदै सबैभन्दा बढी आक्रोश, प्रतिक्रिया र आक्रामण हुने संवेदनशील राष्ट्रियताको कुरा दोहोर्‍याइरहेकी छिन्।


हामी (सामाजिक सञ्जाल प्रयोगकर्ता) उनको चालको शिकार भैरहेका छौं। जानेर वा नजानेर सरिता गिरीले चाहेको बाटो हामी हिँड्दै छौं। उनले आफ्ना ट्वीटमा जुन किसिमको प्रतिक्रिया चाहन्छिन् हामी ठ्याक्कै त्यही भाषा बोलिरहेका छौं। उनी शालिन र सौम्य तवरले बहश गरिरहेकी छिन् र हामी आक्रामक (बोली, शब्द र भाषामा) शैलीमा उनी विरूद्ध जाइलागेका छौं। यस मानेमा उनले थापेको जालमा शिकार फस्दैछ।


उनी चाहन्छिन्, धोती, कुर्ता र हिन्दी भाषाकै निहुँमा एउटा ठूलो समूह उनको विरोधमा लागोस् र उनीसँग पौंठेजोरी खेलोस्। अझ काठमाडौंका सडकमा सरिता गिरीले धोती र कुर्तालाई राष्ट्रिय पोशाक र हिन्दीलाई राष्ट्रिय भाषा बनाइयोस् भन्ने माग कै कारण उनको पुत्ला दहन होस्। काठमाडौंका सडकका रेलिङ् भाँचिउन्। ऋतिक रोशन काण्ड नै दोहोरियोस्। यसले सबैभन्दा बढी फाइदा सरिता गिरीलाई नै हुनेछ। यति भयो भने अहिलेको उनको गुमेको छवि कम्तीमा मधेशी जनताका नजरमा राम्रो हुनेछ र उनको उपस्थिति शुन्यबाट १ हुनेछ।

Comments

  1. झन् त्यो गालाको कोठीले त् तिम्रो सुन्दरतालाई चम्काउने कार्य गरेको छ

    ReplyDelete
  2. कस्को गालाको कोठीको कुरा आयो यहाँ फेरि? :P

    ReplyDelete

Post a Comment

Popular posts from this blog

देश छोडेका ५ बर्ष

भड्किएका हामी, बतासिएको बहश

निद्रा, तन्द्रा, भ्रम र यथार्थ