भ्याण्टा समाचार
नहाँसौं भन्छु हाँस उठिहाल्छ। सकेसम्म त दबाउन खोजेकै हो नि, नसकेपछि के गर्नु त मैले ! नेपालको कानून पालना गराउन लागि परेको नेपाल प्रहरी, अदालतलाई देखेर खित्का छुटिहाल्छ। अस्ति राती अनलाइन न्यूज पोर्टलहरू हेर्दा हेर्दै फ्याट्ट समाचार आयो 'भ्याण्टाको समाचार लेख्ने पत्रकार पक्राउ' भनेर। दुईदिनदेखि 'दूध'को समाचारले नेपाली छापा र विद्युतिय सञ्चार जगतमा हंगामा मच्चाइरहेका थिए। दूध समाचार अझै आइरहेका छन्,भ्याण्टा समाचार लेख्ने थुनिए। सोचेर ल्याउँदा नेपालमा 'दूध भन्दा भ्याण्टा' डरलाग्दो रै'छ :P
[caption id="attachment_243" align="alignleft" width="300"] पत्रकार पक्राउ बारे उज्यालो अनलाइन र रिएल खबरमा छापिएका समाचार[/caption]
हुन पनि हो, भ्याण्टा खाँदा कतिलाई एलर्जी हुन्छ, जिउ चिलचिलाउँछ। अर्कातिर डाक्टरहरू नै भन्छन्, स्वास्थ्य रहनु छ भने दिनको एक गिलास ताजा ताजा दूध पिउनु। भर्खर कुरोको चुरो पत्ता लाग्यो, भ्याण्टाका कुरा छोड दूध पिऊ दूध। त्यसो गर्दा स्वास्थ्य राम्रो त भयो नै जेल नजाने नि पक्का भयो। दश जोड दुईमा पत्रकारिता पढ्छु भनेर भर्ना हुँदा पत्रकारिता पढाउने सरले सोध्नुभयो, 'पत्रकारिता पढेर के बन्ने?' सुकेको छाती सकेसम्म फुलाएर चारैतिर टाउको घुमाउँदै मुसुक्क हाँसेर भनेको थिएँ, 'पत्रकार बन्ने सर !' ईस्स खा ! शौचालयमा भ्याण्टा भनेर समाचार लेख्दा जेल जाने ठाउँमा पत्रकार बन्न नि बल गरेर छाती फुलाई फुलाई भन्ने :P सरले उही बेलै भन्नु भा'थ्यो, 'न त भोक न त तिर्खा, न त रात न त दिन, न झरी न घाम: समाचार खोज्दै दौडिने एक मात्र काम: पत्रकार।' अहिले आएर थप कुरा थाहा भयो, 'कसैको भने नामै नाम, कोही भने गुमनाम अरू कोही बदनाम।'
एकतिरबाट सोच्दा लाग्छ, पत्रकार साथीहरू पनि किन शौचालय चहारेका होलान्? समाचार खोज्न त बैठक कोठामा जानु, भान्सा कोठामा जानु, अफिस कोठामा जानु नि। शौचालय त नजाँदा नि हुने नि :P हुनत क्याम्पसमा समाचार लिन जाँदा पिशाव लाग्यो होला, यसो हल्का होऊँ न त भनेर शौचालय छिर्दा भ्याण्टा भेटियो होला। 'शौचालयमा भ्याण्टा?' ओ माइ गड !! ब्रेकिङ् न्यूज। स्कूप। एक्स्क्लुसिभ !! अर्कातिर यो मुला समाचारको परिभाषा नै गलत छ। समाचारका बारे पढाउँदा सबैभन्दा बढी भनिने एउटा विश्वप्रसिद्ध भनाइ छ, 'कुकुरले मान्छे टोक्यो भने त्यो समाचार होइन, मान्छेले कुकुरलाई टोक्यो भने त्यो समाचार हो।' यसको अर्थ बुझुम् कुरो प्रष्टै हुन्छ :) अर्थात् 'शौचालय जाँदा दिशा पिशाब भेटियो त्यो समाचार होइन, भ्याण्टा भेटियो, यो समाचार हो।' कुरो हो पनि। शौचालयमा हुनु पर्ने कुरा छ भने त्यसको समाचार किन लेख्नु !
समाचारमा के थियो भन्ने पनि आफ्नो चाहिँ अनुमानै हो। पढ्न पाएको छैन। तर एउटा कुरा एउटा कुरा सोचेर चाहिँ साँच्चै गज्जप लाग्छ। नेपालमा जेल जाने मन छ भने समाचार लेख्नु। बम पड्काएर, मान्छे मारेर, कर छलेर, भ्रष्टाचार गरेर, बहुविवाह गरेर, गोली हानेर जेल जान समय लाग्छ। अदालतले कहिले फैसला गर्ने, कैले फैसला कार्यान्वयन हुने, कैले प्रहरीलाई फूर्सद हुने ! समाचार लेख्दा यति लामो प्रक्रिया पुरा गर्नै पर्दैन। या त नाक मुख भत्काउछन् या त हात खुट्टा भाँच्दिन्छन्। छैठीका दिन भावीले भाग्य दह्रै लेखेका रहेछन् भने जेल पक्का !
नोट: यो ब्लग लेख्दासम्म पनि डिल्लीबजार कन्या क्याम्पसको शौचालयमा भ्याण्टा भेटियो भनेर लेखेको समाचार भेटिएको छैन। कहिलेकाहीं सबै अनलाइन पोर्टलहरू नहेर्दा कति घाटा लाग्दो रहेछ भन्ने ज्ञानसम्म भयो।
पुनश्च: गलत समाचार लेखेको भेटिएमा पत्रकार वा मिडिया हाउसलाई कारबाही गर्ने निकाय प्रेस काउन्सिल छ। प्रेस काउन्सिलको विज्ञप्तिको पूर्ण समर्थन ।
[caption id="attachment_244" align="aligncenter" width="285"] पत्रकार पक्राउका सम्बन्धमा नेपाल प्रेस काउन्सिलले प्रकशित गरेको प्रेस विज्ञप्ति[/caption]
थपिएको: कन्या क्याम्पसको शौचालयमा भाण्टा भेटियो यही समाचारको कारण पत्रकारहरू पक्राउ परेका छन्।
यो पनि पढ्नुस्: पन्त सहितका तीन पत्रकारलाई सात दिन हिरासतमा राख्न आदेश
अनलाइन न्यूज पोर्टलहरूका बारे रविराज बरालको 'छाडा अनलाइन र पत्रकार गिरफ्तारीबारे'को यो ब्लग पनि पढ्नुस्।
Comments
Post a Comment