ब्लफ कल !

यो मोबाइल भन्ने जिनिशको जति फाइदा छ त्यति नै बेफाइदा। कहिलेकाहीँ दुई तीन दिनसम्म फोनको घण्टी नै बज्दैन। अनि घरीघरी फोन हेर्नुपर्छ- स्वीच अफ पो छ कि वा बिग्रियो कि भनेर। कहिले भने वाक्कै लाग्दो गरी बज्छ त्यो पनि बिनाकाममा। ब्लफ कलका त कुरै नगरौं। यहाँ मेरो मोबाइलमा आएका केही फोनहरूको चर्चा गर्ने जमर्को गरेको छु।


पहिलो घटना:




[caption id="attachment_211" align="alignright" width="400"]फोटो साभार: फोटो साभार: www.androidme.com[/caption]

एकदिन अफिसमा काम गरिरहेको थिएँ, अलि हतार पनि थियो। फोन बज्यो, टिरिङ्ग टिरिङ्ग....


हेलो... हेलो...!


काँ पर्‍यो? कानमा, मेरो जवाफ।


उताबाट: हैन कुन ठाउँ पर्‍यो भन्या के, कस्तो ठाडो ठाडो बोलेको होला।


म: मोबाइलमा फोन गर्नु भा'छ जहाँ पनि पर्न सक्छ नि ! तेर्सो कुरा कसरी गर्ने? सिकाइदिनुस् न!


उताबाट: तपाईं अहिले चाहिँ कुन ठाउँमा हुनुहुन्छ?


म: ललितपूर जिल्ला, ललितपूर उप-महानगरपालिका, वडा नं थाहा छैन, कुपण्डोल।


उताबाट: ए, गलत नम्बर परेछ... टुँट, टुँट... तेर्सो कुरा कसरी गर्ने भनेर नबताई फोन काटियो। फोन गर्नेले मान्छेलाई हैन ठाउँलाई फोन गरेको बुझेँ मैले अनि किन तेर्सो कुरा गर्नु :P मोबाइलमा फोन गरेपछि ‘कुन ठाउँ हो’ भनेर किन सोध्ने होलान्? गोजीमा बोकेर हिँडेपछि बोक्ने मान्छे जहाँ जहाँ पुग्छ त्यही त्यही ठाउँमा पर्छ क्यारे ! कहाँ हुनुन्छ भनेर सोधेको भए पो :D


दोस्रो घटना:


शुक्रबारको दिन थियो, १० बजिसकेको थियो। म कोठामै बसिरहेको थिएँ। मोबाइल बज्यो....


हेलो !! बडो शालिन स्वरमा म बोलेँ। शालिन स्वरमा भनेपछि प्रष्ट हुनु जरूरी छ- स्वर महिलाको थियो ;-)


उताबाट फेरि उही कुरा आयो, ‘कहाँ पर्‍यो?’ यसपाली अलि भलादमी नै बन्न मन लाग्यो मलाई। मैले सोधेँ, ‘हजुरले कहाँ गर्नुभएको हो र!’


‘काठमाण्डौ मालपोत कार्यालय हैन?’ प्रश्न सुनेर पटक्कै रीस उठेन बरू हाँसो लाग्यो। म हासेँ र जवाफ दिएँ, ‘सरी गलत नम्बरमा फोन गर्नु भएछ, यो त भन्सार कार्यालय पर्‍यो।‘


फोन काटिएला भन्ने आश ‘थ्यो तर अर्को प्रश्न आयो, ‘कहाँको भन्सार?’


अब चाहिँ रीसै उठ्यो। मैले भनेँ, ‘तातोपानी भन्सार।‘ ‘ए रङ नम्बर’, बल्ल थाहा भयो फोन गर्नेलाई। सायद मालपोतका कुनै कर्मचारीले मोबाइल नम्बर दिएका थिए होलान् फोन गर्नु भनेर। तर बुझ्नेले हो न हो मालपोत कार्यालयमा मोबाइल फोन रहेछ भनेर बुझे।


तेस्रो घटना:


बसमा चढेर अफिस जाँदै थिएँ। मित्रपार्क छेउमा आइपुगेपछि मोबाइल बज्यो। हेलो....


‘अँ दाइ, ख्वै त बालुवा त आइपुगेन नि !’


त्यस्को हजुरबाउ ! को मान्छेलाई फोन गरेको हो? को मान्छे बोल्दै छ, सिधै थर्काउँछ यार ! म केही बोल्न खोज्दै थिएँ तर एकोहोरो भाषण शुरू गर्छ उताबाट। ‘यस्तो तालले कसरी हुन्छ? नसक्ने भए नसक्ने भन्नु। नत्र बिहान ८ बजे बालुवा झार्छु भनेर १० बजेसम्म पत्तो छैन।‘


रीस त मलाई नि घच्चीकै उठेको ‘थ्यो तर मैले रीसलाई सीटबाट उठ्नै दिइनँ। अनि अलि नरम भएर भनेँ, ‘हँ, बालुवा आइपुगेन र?’


‘आइपुगेको भए फोन गरेर गाली गर्न मलाई बहुला कुकुरले टोकेको छ र?’ यसो सोचेँ, हो, पुगेकै भए त किन मलाई फोन गर्थे होलान् र ! मलाई लाग्यो, बिचरालाई मर्का परेकै रहेछ। ‘हैन मलाई ड्राइभरले त अघि हिँडेँ भन्थ्यो त, घर देखेन कि? तपाईं घर बाहिर हुनुन्छ कि भित्रै?’ मैले सकेसम्म नरम भएर सोधेँ। ‘अस्ति बालुवा लिएर आएको ड्राइभर, हहिले घर नदेख्ने हुन्छ? मलाई थाहा छ तपाईंले पठाउनु भएकै छैन’, उनी त झन् पो चर्किन थाले त। आफूलाई बसमा सबैले बालुवाको ठेकदार सोचे होलान्। यता दाजु बम्केका बम्कै छन्। ‘गलत नम्बर परेछ भनेर मैले फोन काटेँ’ भनेर लेख्दा तपाईंहरूले मलाई सहयोगी, भलादमी, ठीक गरिस् भन्नुहुन्छ भन्ने थाहा छ। तर म ढाँट्दिनँ। मैले उनलाई दु:ख दिने नै सोचेँ। मैले उनलाई भनेँ, ‘होइन दाइ, मैले त अघि नै पठाएको हो, घर बिर्सियो होला। बरू तपाईं पनि बाटोमा निस्किनुस् न। म ड्राइभरलाई फोन गर्दिन्छु।‘


उनलाई अझ विश्वास दिलाउनु आवश्यक थियो। म चढेको बस रातोपुल आइपुगेको थियो। बसभन्दा अगाडि एउटा बालुवा बोकेको ट्रक गुडिरहेको थियो। मैले त्यो ट्रकको नम्बर हेरेँ र उनलाई भनेँ, ‘यति नम्बरको ट्रक आउँदै छ, तपाईं बाटोमा निस्किनुस्, बाहिरै घुम्दै होला।‘ उनले पत्याए र ढिला गरेकोमा एकदुई गाली फेरि थपे र फोन काटे। मलाई नि बडो आनन्द आइरहेको थियो, उनलाई झुक्याउन पाएकोमा।


नोट: यो पढेर मलाई फटाहा भन्ने अधिकार पाठकहरूमा सुरक्षित राखिएको छ :P


Comments

  1. anata ji padera khusi laagyo...ekdum ramailo rahechha..tapaiko purano habit jasta ko testai rahechha hehehe

    ReplyDelete
  2. चेञ्ज भा'को छैन नि नारायण जी :)

    ReplyDelete
  3. Yesto daami blog, dhilai bhaye pani bhetiyo..

    ReplyDelete

Post a Comment

Popular posts from this blog

देश छोडेका ५ बर्ष

भड्किएका हामी, बतासिएको बहश

निद्रा, तन्द्रा, भ्रम र यथार्थ