ब्लग र म: बिछोडको पिडा

आफूसँग जोडिएका वस्तुहरू अति प्रिय लाग्छन्, सायद सबैलाई। निर्जीव हुन या सजीव, यिनीहरूसँगको ‘अट्याचमेन्ट’ बडो भावनात्मक हुन्छ। मोबाइल, ल्यापटप, आईपड, ईअरफोन जस्ता ग्याजेटहरूसँग त झन् छुट्टिनै मन लाग्दैन। दुई मिनेटका लागि पनि कसैले आफ्नो ल्यापटप चलायो भने आफ्नी श्रीमती/गर्लफ्रेण्डसँग अर्कोले अँगालो हालेर गफ गरेको जस्तो लाग्छ। त्यो पनि मस्कीमस्की ! छटपटी बढ्दै जान्छ। जति लामो समय अर्कोले चलाउँदै जान्छ त्यसको दुगुणा धड्कन आफ्नो बढ्छ।


IMG_2826



एकदिन अचानक थाहा भयो आफ्नो ब्लग (sanubhai.com) डाउन भयो। शुरूमा लाग्यो, प्राविधिक गडबडी भयो होला, ठीक हुन्छ। बिस्तारै सबैले सोध्न थाले, ‘ब्लग के भयो?’ यी सोधाईहरूले मनमा एकतमाशको चिन्ता लाग्न थाल्यो। छिनछिनमा ब्राउजरमा आफ्नो वेब ठेगाना टाइप गर्न थालेँ, परिणाम एउटै थियो। दिनदिनै चिन्ता थपिँदै जान थाल्यो। यस्तो लाग्यो, ‘जीवनको एउटा अंग काटियो, मबाट मेरो जीवनको एक टुक्रो हरायो।‘ आफूले लेखेका लेखहरू, कथाहरू सम्झिएँ। के साँच्चै नै मेरा भावनाको डायरीमा आगो लागेकै हो त?


अनुसन्धान गरियो, जान्नेसुन्ने वैद्यलाई देखाइयो, विशेषज्ञ डाक्टरलाई परिक्षण गराइयो, भ्याण्टिलेरमा राखियो। अहँ ब्लगको होश खुलेन। मेरो सबैभन्दा प्यारो डायरी, जसलाई म दु:खमा, सुखमा, आवेशमा, खुशीमा सुम्सुम्याउने गर्थें, ब्रम्हनालमा पुग्यो। ब्लगलाई ब्रम्हानालमा सुताएर म टाउकोमा हम्केर बसेँ, सायद ब्युँझेलाकी भनेर। शुभचिन्तकहरू आए र सोध्न थाले, ‘कहिलेदेखि बिरामी थियो? के रोग रै’छ? डाक्टरले के भने? MRI गरेर हेरियो? विशेषज्ञ डाक्टरलाई देखाउनु पर्ने !’ मलाई थाहा थियो विशेषज्ञ डाक्टरले भनेको कुरा। एकजना वरिष्ठ शल्य चिकित्सकले भनेका थिए, ‘तपाईंको ब्लगको मुटु नै गायब छ।‘ उनले जाँच पड्ताल गरेका सबै रिपोर्टका आधारमा यो निर्णय सुनाएका थिए।


नियमित डाक्टर दिनरात यसलाई ब्यूँताउन लागिपरेका थिए। सायद उनलाई पनि थाहा थियो ब्लगको ‘मुटु’ गायब छ। मलाई सम्हाल्न गारो होला भनेर सायद उनले मलाई यो कुरा सुनाएनन् र भनिरहे, ‘म कोशीश गरिरहेको छु।‘ यता मभने दिनदिनै गलिरहेको थिएँ। यहाँ ब्लगको मुटु हैन मेरो मुटु गायब भएको थियो। मेरा भावना, मेरा जीवनका कथा, मेरा भोगाई, मेरा अनुभव, मेरो हृदय सबै गायब भएका थिए। म रून नसक्ने र हाँस्न नि नसक्ने अवस्थामा पुगेको थिएँ।


जाबो ब्लगै त हो, यत्ति भावनात्मक हुनुपर्छ र? भन्ने लाग्ला कसैलाई। हो, त्यो एउटा ब्लगमात्र थियो अरूका लागि। तर त्यो मेरो एउटा संसार थियो, एउटा जीवन थियो। जहाँ बसेर म आफूलाई नियाल्थेँ। आफ्ना भावना, आफ्ना अनुभवलाई जाँच्थेँ। त्यो सँधै मेरो मानसपटलमा बसेर मलाई जीवन सिकाइरहेको हुन्थ्यो। अरूका लागि त एउटा ब्लग मरेको थियो तर मेरो लागि एउटा जीवन मरेको थियो।


मलाई थाहा थियो, मुटु नै नभएपछि ब्लगको बाँच्ने सम्भावना थिएन। ब्रम्हानालमा राखेर कतिञ्जेल म कुरेर बस्ने? त्यसैपनि मलाई मेरो ब्लगले कहिल्यै ‘सौता नहाल्’ भनेको पनि थिएन। मैले सोचें, ‘जीवन त अगाडि बढाउनै पर्छ।‘ सकेँ भने फेरि एकपटक जीवन सम्झने कोशीश गरौंला। चिटिक्क पारेर सिँगारौंला। राम्रो रंगरोगन गरौंला। पहिलेभन्दा बढी माया गरौंला, स्याहार सुसार गरौंला। यो मुढो रूँघेर बस्नुभन्दा यसको अन्तिम संस्कार गर्नु उचित होला। फलत: पुरानोको दाहसंस्कार गरेर अहिले यसबाट नयाँ जीवन खोज्ने प्रयास गर्दैछु।

Comments

  1. पेलेछन मलाइ, नियमित डाक्टर बनाएर :P बधाई छ नयाँ जीवनको सुरुवातको लागि :)

    ReplyDelete
  2. बधाई छ नयाँ सुरुवातको लागि :)

    ReplyDelete
  3. धन्यवाद !! धन्यवाद :)

    ReplyDelete
  4. It looks like you have recovered almost all the previous articles, what remains (?) is new domain mapping so that people won't have any problem with the old blog URL, they will be directed to this one. Good going!

    ReplyDelete
  5. But I have missed some of the important historic documents :(

    ReplyDelete

Post a Comment

Popular posts from this blog

देश छोडेका ५ बर्ष

भड्किएका हामी, बतासिएको बहश

निद्रा, तन्द्रा, भ्रम र यथार्थ