कर्णेल गद्दाफी र नेपाली मिडिया

अन्तत: एउटा तानशाहको अन्त्य भयो त्यो पनि नेपालको लागि कागलाई पाकेको बेल बराबरको। त्यसको अन्त्य हुने निश्चित थियो, भयो। पखेटा पलाएपछि कमिला धेरै दिन बाँच्दैन। सत्य कुरा त्यही हो। स्वभाविक रूपमा नेपाली शहरी जनताहरूले पनि मोमर गद्दाफीको बारेमा धेरै दिन चिया मात्र हैन ह्वीस्कि गफसम्म गर्न भ्याए। अन्तत: उनी मारिए विक्षिप्त रूपमा। उनी मरे, एउटा इतिहास सकियो। तर नेपाली पत्रिकाहरूमा यसको ठूलो असर देखियो, यो समाचार अघिल्लो महिना गएको भूकम्प जत्तिकै चर्चित भयो। जुन अस्वभाविक र पत्रिकाहरूको विवेकको कमिको उपज भन्दा अरू केही होइन।




[caption id="attachment_112" align="alignleft" width="345"]कार्तिक ४ गतेका दैनिकमा गद्दाफीका समाचार कार्तिक ४ गतेका दैनिकमा गद्दाफीका समाचार[/caption]

स्वभाविक रूपमा हामी ‘ग्लोबल भिलेज’का कुरा गरिरहेका छौं र संसारभरिका घटनाहरूले हामीलाई चुप बस्न दिँदैनन्। तर कर्णेल गद्दाफीको हत्याको भोलिपल्ट नेपालबाट प्रकाशित हुने समाचारपत्रहरूमा छापिएको उनको समाचारले हाम्रा पत्रिकाहरूले अझै पनि समाचारको महत्व नबुझेको तथा प्राथमिकता छुट्याउन नसकेको प्रष्टै देख्न सकिन्छ। त्यसो होइन भने कडा रूपमा भनौँ- हाम्रा पत्रिकाहरू पनि राजनैतिक दलका नेताहरू जस्तै चाकरी प्रथाबाट बाहिर निस्कन सकेका रहेनछन्। उदाहरणका लागि कार्तिक ४ गते राजधानीबाट प्रकाशित हुने कोही सबैभन्दा बढी बिक्री हुने, कोही समाज परिवर्तन गर्ने, कोही के गर्ने बिल्ला भिरेर प्रकाशित हुने सबै ‘ब्रोडसिट’हरूमा छापिएका समाचारलाई हेरौँ न।



कान्तिपुर दैनिक, काठमाण्डु पोष्ट, अन्नपूर्ण दैनिक, नागरिक, राजधानी, नयाँ पत्रिका, नेपाल समाचार पत्र, गोरखापत्र, राईजिङ नेपाल सबैले फ्रन्ट पेजमा समाचार छापे। कसैले मुख्य समाचार बनाए, कसैले दोस्रो प्राथमिकतामा राखे, कसैले एंकरको रूपमा छापे तर सबैले फ्रण्ट पेजमै छापे। काठमाण्डु पोष्टले त फ्रन्ट पेजमा एक दुई कोलमको समाचारले नपुग्ने देखेर ब्यानर हेडलाईनै राखेर समाचार छाप्यो। यी सबैमध्ये बरू नागरिकले फ्रण्ट पेजको बायाँ साइडमा एक कोलमको समाचार हालेर त्यसलाई पृष्ठ ९ मा छाप्यो। देशका होनहार यत्रा ठुला, आफूलाई समाज परिवर्तनको संवाहक मान्ने अनि जनताको प्रिय भनेर आफैंले बिल्ला भिरेका पत्रिकाहरूको कुरा बुझि नसक्नु भयो। कान्तिपुर दैनिकका कति प्रतिशत पाठकहरूका लागि गद्दाफीको मृत्युको समाचार प्राथमिकतामा पर्ला? अथवा काठमाण्डु पोष्टका कति पाठकहरू गद्दाफीको मृत्युको समाचारलाई पत्रिकामा पढन पर्खेर बसे होलान्? समाचार छाप्नेहरूले सायद अध्ययन गरेका होलान्।


नेपाली ब्रोडसिट दैनिकहरूले गद्दाफीको मृत्युको समाचार फ्रण्ट पेजमा छाप्नु र किसान पार्टीले गद्दाफी हत्याको विरोध भक्तपुरमा गर्नुमा के भिन्नता होला र खै? लिबियामा मारिएका गद्दाफीको हत्याको विरोध गरेर र नेपाली सडक जाम गराएर कुन राजनीतिक अभिष्ठ पुरा गर्न खोजेको होला किसान पार्टीले कुन्नि? अनि एउटा कागको बेललाई देशकै सर्वाधिक रूचाएको भनेर गर्व गर्ने पत्रिकाले फ्रण्ट पेजमा ठूलठूला फोटा राखेर समाचार छापेर कुन व्यवसायिकता पूरा गरेको होला? कुरा बुझे मार्दिनु। लिबियासँग नेपालको गद्दाफीलाई हटाउने हो भने कुनै महत्वपूर्ण सम्बन्ध छैन। त्यो सम्बन्ध पनि नाटो र अमेरिकासँग जोडिएर आएको हो न कि देशको कुनै कूटनैतिक सम्बन्धबाट। त्यसोभए गद्दाफीको हत्याको समाचारले किन त्यति धेरै प्राथमिकता पायो होला त? पत्रिकामा समाचारले प्राथमिकता पाउन त्यो पत्रिकाका सम्पादक वा डेस्कमा बस्नेहरूको चाखमा भर पर्ने हो कि पत्रिकाका पाठकहरूको चाखमा निर्भर हुने हो? यसको जवाफ होला त यी हाम्रा पत्रिकाहरूसँग?
होइन भने हरेक नेपाली पत्रिकाले अन्तर्राष्ट्रिय पृष्ठ राखेका छन्, त्यही पृष्ठमा गद्दाफी हत्याको समाचार छाप्दा पनि कुनै भूकम्प आउँदैनथ्यो। जो पाठकहरू कर्णेल गद्दाफीका बारेमा चाख राख्थे तिनीहरूले हाम्रा समाचार पत्रहरूले समाचार लिने स्रोतहरूमै पत्रिकाले जत्तिनै अथवा त्यो भन्दा पनि विस्तृतमा समाचार पढिसकेका थिए। फेरि यो समाचार ‘ब्रेकिङ’ पनि थिएन न त यसमा कुनै पत्रिकालाई लिगलिगे दौड नै गर्नु थियो। कैयौँ दिन अघिदेखि गद्दाफीका जिवनी र उसले गरेका खराब तथा असल कामको वृतान्तका समाचार छरपस्ट रूपमा आएकै थिए, फेरि आफ्नै देशको राष्ट्रपति वा राजा नै मरेको जत्तिकै जीवनी र इतिहास सहित गद्दाफीको समाचार प्रकाशित गर्नु को कुनै तुक थिएन।


पत्रिकाको काम समाचार प्रवाह गर्नु हो र भएका सत्य तथ्य कुराहरूको जानकारी जस्ताको तस्तै जनता समक्ष पुर्‍याउनु हो भन्ने कुरामा सन्देह छैन। तर कुन जानकारीको महत्व कति हो र त्यसले जनतामा कस्तो प्रभाव पार्ला भन्ने कुरा पत्रिका चलाउने ठेकदारहरूले बुझ्न जरूरी छ। ‘ठेकदार’ जस्तो शब्द पत्रकारितालाई अमर्यादित बनाउने शब्द भएपनि नेपाली पत्रिकाहरूको शैली र प्रवृत्ति एउटा बालुवाखानीको ‘ठेकदार’ भन्दा फरक देखिँदैन। यो वाध्यात्मक रूपमा प्रयोग गरिएको शब्द हो। आशा गरौं, भोलिका दिनमा यो शब्दको प्रयोग गर्नु नपरोस्।
धेरै भयो हामीले व्यावसायिकताका कुरा गरेको। कहिलेकाहीं यस्तो लाग्छ, व्यावसायिकता अर्कोले टिका लगाएर दिने कुरा हो, हाम्रो त्यसमा कुनै भूमिकै हुँदैन ? गद्धाफीको हत्याको समाचारको ब्यानर हेडलाईन राखेर समाचार छापेकोमा अमेरिका वा नाटोले पो तिमीहरू पनि अब व्यवसायिक भएछौ भन्दिने पो हो कि? यदि होइन भने हाम्रा पत्रिकाले आफ्ना पाठकहरू चिन्नु र समाचारको प्रथमिकता बुझ्नु  जरूरी छ। पत्रिका सम्पादक वा रिपोर्टरका नभएर पाठक वा जनताका लागि प्रकाशित गरिने हो भने समाचार पनि जनता तथा पाठकका प्राथमिकताका हुनु जरूरी छ। होइन, सरकारले जस्तै वा राजनैतिक दलले जस्तै अन्तर्राष्ट्रिय जगतलाई खुशी तुल्याउन पत्रिका निकालेको हो भने कृपया टाउकोमा लेखेका बिल्लाहरू निकाल्नु बेस। व्यवसायिकता भनेर हुने कुरा होइन, यो त देखिने कुरा हो। कुराले व्यवसायिकता हुँदैन त्यसको लागि काम गर्नुपर्छ। सबैलाई चेतना भया !!


Comments

Popular posts from this blog

देश छोडेका ५ बर्ष

भड्किएका हामी, बतासिएको बहश

निद्रा, तन्द्रा, भ्रम र यथार्थ