हाम्रो मातृभाषा नेपाली भएपनि नेपाली शुद्ध लेख्नु हाम्रो लागि चुनौती हुने गरेको छ। तल उल्लेखित हिज्जे विचार भाषाशास्त्री प्रा. बालकृष्ण पोखरेलको निर्देशन तथा सहभागितामा, प्रा. मुकुन्दशरण उपाध्यायको सुझाव समन्वित समर्थन र डा. तारानाथ शर्मा, प्रा. डा. कुमारबहादुर जोशी तथा कृष्णप्रसाद पराजुलीको सल्लाह एवम् सहमतिका साथ ललितपुर घोषणापत्र-२०६८ को मर्म र भावना अनुरूप, नेपाली भाषा प्रयोगकर्ताहरूका लागि यो व्यवस्था गरेको छ।

वर्णमाला: फोटो: http://www.edventurenepal.org/image/Nepali_Language.jpg

वर्णमाला: फोटो: http://www.edventurenepal.org/image/Nepali_Language.jpg

यसमा नेपाली भाषा प्रयोगकर्ता समूहका तर्फबाट विभिन्न पत्रकार, गीतकार, कवि, भाषाशास्त्री, गजलकार, संगीतकार, साहित्यकाहरू लगायत ८२ जनाको हस्ताक्षर गरेका छन्। नेकशुलेको पूरा रूप ‘नेपाली कसरी शुद्ध लेख्ने हो। ब्लग लेख्ने, पत्रकारहरू, नेपाली भाषा सिक्न चाहनेहरूका लागि उपयोगी हुने सोचेर मैले यसलाई ब्लगमा साभार गरेको हुँ।

नोट: यसमा कथानक छैन, यो चाखलाग्दो छैन। पढ्न जाँगर लागे मात्र पढ्नु होला। पट्यारलाग्दो भनेर गाली गर्ने अधिकार सुरक्षित राखिएको छ 😉

हिज्जे-विचार

नाम

१.      ह्रस्व इ, उ अन्त्यमा हुने शब्द- क) सामान्य पुलिङ्गी शब्द। जस्तै- बाबु, दाइ, भाइ, दाजु, नाति, पनाति, जुवाइँ आदि।

ख) सामान्य अप्राणिवाचक उकारान्त नपुंसकलिङ्गी शब्द। जस्तै- घिउ, भालु, गाउँ, हिउँ आदि।

ग) नु, आउ, आइ कृत्‌प्रत्यय र आइ, याइँ तद्धित प्रत्यय लागी बनेका शब्द। जस्तै- हिँड्नु, जनाउ, पढाइ, गोलाइ, दुष्ट्याइँ आदि। अपवाद– दाईं, लडाईं, बसाईं आदि।

२.      दीर्घ ई, ऊ अन्त्यमा हुने शब्द- क)    सामान्य स्त्रीलिङ्गी शब्द। जस्तै- गाई, छोरी, दिदी, बहिनी, सासू, स्वास्नी, धोबिनी, पण्डित्नी, भुनी, मैजू, भाउजू आदि।

ख)   सामान्य अप्राणिवाचक इकारान्त नपुंसकलिङ्गी शब्द। जस्तै- कौसी, धुरी, क्वाँटी, खरानी, पानी, बानी, गाली, सिक्री, फर्सी, खैंजडी, हँस्यौली आदि।

ग)     मनुश्यको विशेष जात र पेशालाई बुझाउने शब्द। जस्तै- ज्यापू, हिन्दू, धोबी, घर्ती, दमाईं, ठकुरी, सिकर्मी, हलुवाई, सिपाही, काजी, मन्त्री, भाजू, गुभाजू आदि।

घ)     आदरार्थी ज्यू, जी प्रत्यान्त शब्द। जस्तै- दाज्यू, भाउज्यू, पिताजी, शर्माजी, लामाजी, झाजी, परियारजी आदि।

ङ)     भाव (धर्म) वा सम्बन्धी (धर्मी) र ‘त्यहाँ हुने’ अर्थ बुझाउने ‘ई’ तद्धित प्रत्यय लागी बनेका शब्द। जस्तै- गरीबी, नोकरी, चाकरी, खुनी, बैगुनी, इलमी, नेपाली, अछामी, जंगली आदि।

सर्वनाम

१.      सर्वनामको अन्त्यमा आउने इकार, उकार दीर्घ हुन्छन्। जस्तै- ऊ, ती, तिमी, हामी, यिनी, उनी, तिनी, आफू, कोही, केही, यही, त्यही, त्यहीं, कहीं आदि।

विशेष: सर्वनामका त्यल्ले, त्यसलाई, जल्ले, जल्लाई, कल्ले, कल्लाई, इनी, इनले, एता, तेता, ऐसो, तेसो, एसरी, तेसरी, क्वै, क्यै, तैले, जैले, ऐले, उइले जस्ता रूप पनि हुन सक्छन् जसको प्रयोग अनौपचारिक लेखाइमा, कसैको कथन उद्धृत गर्दा र कवितामा छन्द मिलाउनका लागि हुन सक्छ। साथै त्यहाँ, यहाँ, उहाँ आदरार्थीमा पनि प्रयोग हुन्छन्।

विशेषण

१.      क) स्त्रीलिङ्गका र दुवै लिङ्गमा हुने इकारान्त विशेषण दीर्घ हुन्छन्। जस्तै- काली, गोरी, राम्री, राजी, धनी, नामी, जाती (जातजाति हैन) आदि।

ख) दुवै लिङ्गमा हुने उकारान्त विशेषण ह्रस्व हुन्छन्। जस्तै- दुधालु, घरेलु, मायालु, सिकारु आदि।

२.      सामान्य विशेषण प्रकरण हेरी ह्रस्व, दीर्घ दुवै हुन्छन्। जस्तै- पिरो/पीरो, तितो/तीतो, अमिलो/अमीलो, अलिकति/अलीकति आदि।

३.      सङ्ख्यावाचक शब्दमा आउने इकार (‘त्रि’ बाहेक) दीर्घ हुन्छन्। जस्तै- दुई, बीस, तीस, चालीस, बत्तीस, चौँतीस, पैँतालीस, बाईस, तेईस, उन्नाईस आदि। सङ्ख्याबोधक शब्दका अन्य रूप दुईवटा, दोटा, दुईटा/दुइटा, दुगुना, दोहोरो, दुईसरो, दुदुई, एकेक, लाखौँ, करोडौँ, लाखन्, करोडन्, कैयौँ, कैयन् आदि हुन्छन्।

४.      सानो, ठूलो, कालो, सेतो जस्ता विशेषणका रूप हेलाँमा साने, ठूले, काले, सेते, आदि र मायाँमा सानु/सानू, कालु/कालू आदि पनि हुन्छन्।

क्रियापद

१.      क्रियापदहरू उच्चारण अनुरूप लेखिन्छन्।

२.      विध्यर्थक क्रियापदको अन्त्यमा आउने इकार, उकार दीर्घ हुन्छन्। जस्तै गर्नू, जानू, गरूँ। जाऊँ, आऊ, बचाऊ आदि।

३.      क) धातुको अन्त्यमा वर्गको प्रथम वा द्वितीय अक्षर (क्, च्, ट्, त्, प्, ख्, छ्, ठ्, थ्, फ्) वा स् रहेको छ भने त अथवा द विकल्पले जोडिन्छ। जस्तै- पाक्छ/पाक्तछ/पाक्दछ। जाँच्छ/जाँच्तछ/जाँत्दछ। राख्छ/राख्तछ/राख्दछ आदि।

ख) अन्त्यमा अन्य अक्षर रहँदा भने द मात्र विकल्पले जोडिन्छ। जस्तै- माग्छ/माग्दछ। बुझ्छ/बुझ्दछ, हान्छ/हान्दछ, बोल्छ/बोल्दछ आदि।

ग) कतिपय धातुमा भने त वा द केही पनि जोडिंदैन। जस्तै- जान्छ, खान्छ, रुन्छ आदि। विशेष: लिई, भई, भयो, खाँदैन, गरिदेऊ, भनिदेऊ, होओस्, होउँला, आदिका संक्षिप्त रूप ली, भै, भो, खान्न, गर्देउ, भन्देउ, होस्, हुँला आदि पनि हुन सक्छन्। यिनको प्रयोग अनौपचारिक लेखाइमा, कसैको कथन उद्धृत गर्दा र कवितामा छन्द मिलाउनका लागि हुन सक्छ।

अव्यव

१.      सामान्यत: अव्ययका अन्त्य इकार, उकार ह्रस्व हुन्छन्। जस्तै: माथि, मुनि, पट्टि, चाहिं, थरि, बाजि, चोटि, खालि, अघि, पछि, बरु, अनि, पनि, भोलि, पर्सि, निम्ति, खेरि, छि आदि।

२.      ‘अरी’ प्रत्यय लागेका र यसको अर्थ दिने अव्यय दीर्घान्त हुन्छन्। जस्तै- राम्ररी, बेस्सरी, बराबरी, भकभकी, खलखली, ह्वालह्वालती आदि।

विशेष शब्द-विचार

१.      संस्कृतबाट जस्ताको तस्तै आएका (तत्सम) शब्द यथावत लेखिन्छन्। जस्तै- श्री, गणेश, शक्ति, भक्ति, कीर्ति, शीतल, आकाश, रीति, नीति, समीप, शरीर, वीर, वर्षा, बुद्धि, बधू आदि।

२.      मूल शब्दका तद्भव वा वैकल्पिक रूप पनि हुन सक्छन्। जस्तै- गाउँ, खेत, भुइँ, सास, नाइके, रगत, आकाश/अकास, वर्षा/बर्खा, वास/बास, शीतल/सीतल, पुँलिङ्ग/पुंलिङ्ग/पुलिङ्ग आदि।

३.      अन्य भाषाबाट नेपाली भाषामा जस्ताको तस्तै मिल्न आएका शब्द यथावत लेखिन्छन्। जस्तै- जोश, होश, जीप, चीफ, शहीद, शिकार, जमीन, गरीब, शेयर, फेशन, शेक्सपियर, सीट, मार्कशीट, टीभी, सीडी, कानून, तूफान, भूल, छूट, स्कूल, कार्टून, जवाफ, रवाफ, मुताबिक आदि।

४.      अन्य भाषाबाट आएका शब्दका झर्रो नियम अनुसारका वैकल्पिक रूप पनि हुन सक्छन्। जस्तै- शिकार/सिकार, होश/होस, शेयर/सेयर, गरीब/गरिब, स्कूल/स्कुल, छूट/छुट, कानून/कानुन, कार्टून/कार्टुन, जवाफ/जबाफ आदि।

५.      झर्रोवादी आन्दोलनबाट स्थापित शब्द यथावत लेखिन्छन्। जस्तै- अक्कास, सित्तल, अखानो, अगावै, अडेसो, अभेक, अहमत्याइँ, कस्केली, ग्रिसेली, उल्था, औतारी, कुहिरे, कुइरे, कैरन, कोकोहोलो, कोसेढुङ्गो, कोसदुएक, पपाँच, गोडादशेक, कौलासो, खटनपटन, खुरून्धार, खैराँती, गनोट, गज्मौरो, गलहत्ती, गान्टिनु, जमर्को, घचारो, घुर्मैलो, अनजबाफ आदि।

६.      परम्परागत रूपमा शुरूमा दीर्घ लेखिंदै आएका तद्भव शब्द यथावत लेखिन्छन्। जस्तै- खीर, कीरो, तीतो, मीठो, मीत, रीस, पीरो, पीठो, दूध, फूल, रूख, रूखो, बूढो, धूलो, ठूलो, पूरा आदि।

७.      नेपाली प्रत्यय लगाउँदा मूल शब्दमा रहेका वर्णहरूलाई नबिगारी लेखिन्छ। जस्तै- स्वीकार्नु, विश्वासिलो, पूर्वेली, पश्चिमेली, पुष्ट्याइँ, एकवर्ष, जोशिलो, बेहोशी, होशियार, खुशियाली, कानूनी, तुषारो, पोषिलो, विदेशिनु आदि। अपवाद: पुजारी, चिनियाँ, रिसाहा, मितेरी, सिपालु, जुनेली, दुधिलो आदि।

८.      क) संस्कृतबाट आएका तत्सम शब्दमा शिरविन्दुको सट्टा पञ्चम वर्ण लेखिन्छ। जस्तै- चञ्चल, घण्टा, दण्ड, सन्त, सन्दर्भ, शम्भु, सम्पादक, सम्बोधन आदि।

ख) अनुस्वार पछि कवर्ग रहेको अवस्थामा भने वैकल्पिक रूपमा शिरविन्दु र पञ्चम वर्ण दुवै लेखिन्छ। जस्तै- अंक/अङ्क, शंख/शङ्ख्, गंगा/गङ्गा, संघ/सङ्घ आदि।

ग) य देखि ह सम्मका वर्ण (य, र, व, श, ष, स, ह) भन्दा पहिले भने शिरविन्दु मात्र लेखिन्छ। जस्तै- संयम, संलग्न, संवाद, संविधान, संशय, संस्कृत, संस्कार, सिंह, संहार आदि।

घ) अन्य भाषाबाट आएका, तद्भव र झर्रा शब्दमा शिरविन्दु दिइँदैन, उच्चारण अनुरूप पञ्चम वर्ण नै लेखिन्छ। जस्तै- हम्कनु, चम्किलो, चम्चा, गम्छा, सम्धी, सन्चो, बिसन्चो, लन्डन, टेन्डर आदि।

अपवाद: अंग्रेजी/अङ्ग्रेजी, कांग्रेस/काङ्ग्रेस आदि।

९.      क) डिकोभन्दा माथि मात्रा नभएको स्थितिमा चन्द्रविन्दु लेखिन्छ। जस्तै- तँ, कहाँ, जहाँ, यहाँ, गएँ, खाएँ, छायाँ, दायाँ, बायाँ आदि।

ख) डिकोभन्दा माथि मात्रा वा रेफ भएको स्थितिमा भने चन्द्रविन्दुको सट्टा शिरविन्दु लेखिन्छ। जस्तै- भनें, गरें, बैंस, सधैं, ढोंग, मानौं, हजारौं, गर्छौं, झार्छौं, कहीं, त्यहीं, हिंड्नु, गिंड्नु, तपाईं, फर्कंदा आदि।

१०.  एउटै महाप्राण वर्ण दोहोरिएर आएमा एउटा अल्पप्राणमा परिणत हुन्छ। जस्तै- सक्खर, सुक्खा, नत्थी, पट्ठो आदि।

पदयोग, पदवियोग

१.      समस्त शब्दहरू एउटै डिकोमा लेखिन्छन्। जस्तै- दाजुभाइ, दिदीबहिनी, घटीबढी, यथाशक्ति, छात्रावास, शुभकामना, गाईगोठ, उपसचिव, नीलकण्ठ, पीताम्बर, गोडधुवा, लामपुच्छ्रे, चरीनङ्ग्रे, कपडछान आदि।

२.      क) समास भएपछि पाँच अक्षरभन्दा बढी हुने स्थिति भएमा शब्दहरू छुट्याएर लेखिन्छन्। जस्तै- परराष्ट्र मन्त्री, प्रधान न्यायधीश, शिष्ट परम्परा, इतिहास शिरोमणि, पराराष्ट्र मन्त्रालय आदि।

ख) व्यक्ति/स्थान/संस्थावाचक नाम भने अभ्यास वा प्रचलन अनुरूप यथावत लेखिन्छन्। जस्तै- लेखनाथ, बालकृष्ण, लक्ष्मीप्रसाद, त्रैलोक्यनाथ, कृष्णचन्द्रसिंह, जनकपुर, ललितपुर, विराटनगर, राजविराज, विश्वविद्यालय, महाविद्यालय आदि।

३.      एउटै काम जनाउने संयुक्त क्रियापद एउटै डिकोमा लेखिन्छन्। जस्तै- बनिसक्यो, गरिदियो, सुतिहाल्यो, आइपुग्यो, आइपुग्छ, खाइहेर्छ, जानुपर्छ, जानेछ, गएथ्यो, गर्दथ्यो, बस्तथी आदि।

४.      छुट्टाछुट्टै काम जनाउँदा क्रियापद छुट्याएर लेखिन्छन्। जस्तै- भनी सक्यो, गरी दियो, गएँ हुँला, खाई हेर्छ, जाने गर्छ, गरेको छ, भनेको छ, भनेको थियो आदि।

विशेष: कतिपय संयुक्त क्रियापदहरू एउटा काम जनाउँदा एउटै डिकोमा र छुट्टाछुट्टै काम जनाउँदा छुट्याएर लेखिन्छन्। जस्तै- हुनपुग्यो, हुनपुगें, बन्नपुगे; हुन पुगें, बन्न पुग्यो, भन्न हुन्छ, गर्न सक्छ, खान सक्छ आदि।

५.      विभक्तिहरू शब्दसँग एउटै डिकोमा लेखिन्छन्। जस्तै- ले, लाई, द्वारा, बाट, देखि, को, का, की, मा आदि।

६.      विभक्तिवत् आउने नामयोगीहरू जोडेर वा छुट्याएर दुवै किसिमले लेख्न सकिन्छ। जस्तै- मुनि, माथि, बारे, भन्दा, सँग, वारि, पारि, भित्र, बाहिर, तिर, सित, तर्फ, सम्म आदि।

७.      उपर्युक्त बाहेक सबै नामयोगी र निपातहरू छुट्याएर लेखिन्छन्। जस्तै- मात्र, विना, बाहेक, समेत, अगाडि, पछाडि, सिवाय, मार्फत/मार्फत्, समक्ष, अनुसार, अनुरूप, बराबर, लगायत, मुताबिक, बमोजिम, अन्तर्गत, वटा, जना, चाहिं, झैं, नै, जसरी, जस्तो, जस्तै, समान आदि।

यसमा केही कमेन्ट लेख्ने हैसियत ममा छैन। तर हाम्रा विद्वानहरूले ‘तँपाईंहरूलाई जे सजिलो लाग्छ लेख्नुस्’ भन्ने भावमा यो बनाउनु भएको स्पष्ट छ। हामी  सबैको नेपाली शुद्ध बनोस्, शुभकामना !!

Ananta Koirala

A Student of Journalism. Worked as Online Correspondent at News Nepal Network International Pvt. Ltd., Sub-editor in Jagadamba Publication, currently working as Correspondent at pahilopost.com. Interested in Nepali movie. Like to write commentary on social issue, Journalism and literature.

More Posts - Website

Follow Me:
TwitterFacebookGoogle Plus