स्मृतिमा दशैं

काले दाजु थिए हाम्रोमा लुगा सिलाउने। उनी घरमा लुगा सिउन आएपछि परालको गुन्द्री ओच्छ्याएर हामी उनका वरिपरि बस्थ्यौं। दाजुले सियोले च्वास्स च्वास्स घोच्दिन्थे, तर हामी भाग्दैनथ्यौं न त रिसाउँथ्यौं नै। भात, खाजा, चिया जे जे खानुपर्छ दाजुसँगै बसेर खान्थ्यौं हामी बाहिरै। कालेदाजुको नाम धेरै ठूलो भएपछि सम्भवत: SLC पास गरेपछि मात्र थाहा भयो- हिराबहादुर नेपाली भनेर। दशैंमा बाहेक नयाँ लुगा किन्ने चलन थिएन। हाम्रो घरभन्दा पहिला काका वा ठूलोबुबाकोमा लुगा सिउन दाजु आए भने हाम्रो पीडाको बयान गर्ने शब्द हुँदैनथ्यो- आँशु बाहेक। अनि आफ्नोमा लुगा सिउँन आउँदा पनि दाजु, बहिनी र मेरो झगडा हुन्थ्यो कसको पहिला सिलाउने भनेर। सायद साना साना कुरामै सुख र दु:ख लुकेर बसेको हुन्थ्यो। अनि हामी तिनै साना-साना खुशीहरू बटुल्न दुखी हुन्थ्यौं।

[caption id="attachment_82" align="alignright" width="504"]Google Image Dashain aayo. via nnsociety.org/[/caption]

 

कसको लुगा पहिले सिउने भन्ने झगडा हुन थालेपछि कालेदाजुले भन्थे- ‘जो चुपचाप बस्छ त्यसको पहिला सिउँछु।’ अनि हामी हात बाँधेर बस्थ्यौं- चुपचाप। दाजुले सियोले तिघ्रामा घोचिदिन्थे तर पनि हामी कमिलाले टोकेको जस्तो ठानेर तिघ्रा सुम्सुम्याउँथ्यौं र मुसुक्क हाँस्थ्यौं।

उता कालेदाजु भने हामीलाई नदेखे झैं गरेर बस्थे। कालेदाजुसँग फलामको गह्रौं आइरन थियो कोइला भरेर तताउनु पर्ने। सर्ट सिलाइसकेको थाहा हुने बित्तिकै हामी आइरनमा आगो बाल्न थाल्थ्यौं तताउनलाई। तर लुगा सिलाउँदा सिलाउँदै रात पर्थ्यो र आइरन गर्न भ्याउँदैनथे दाजुले। हामी भन्थ्यौं- ‘आज राती म लगाउँछु र भोलि बिहानै आइरन गर्न ल्याउँछु।’ नयाँ लुगा सिलाइसकेपछि मात्र बल्ल दशैं आउँथ्यो हाम्रो। कहिलेकाहीं आफ्नो नयाँ लुगा राम्रो लागेन भनेर कसैले भन्दियो भने खानै रूच्दैनथ्यो। अवोध बालापनको यो झगडाले हाम्रो भोलिको खुशी ग्यारेन्टी गर्थे सायद ! तर आमालाई चिन्ता। यसपाली तिहारमा नयाँ लुगा किन्दिन्छु राम्रो भनेर वाचा कसम गर्नुपर्थ्यो आमाले भात खुवाउन। छोराछोरीको खुशीका लागि बाबुआमाले कति सजिलै झुट बोल्छन् तर पनि हामी त्यही झुटमा आफ्ना सपना देख्थ्यौं- नयाँ लुगा लगाएर ठाँटिएर हिँड्ने सपना।

हाम्रो घरदेखि अलि माथि मगर गाउँमा रोटे पिङ बन्थ्यो। बिहानको भात खाएपछि दिनभरी त्यही रोटेपिङमा बास हुन्थ्यो। दिनभरी पिङ खेल्न पाउने आशाहरू रोटेपिङ्सँगै फनफनी घुम्थे । अनेकौंपटक संघर्ष गर्दा, रूँदा, कराउँदा गरेपछि बल्ल पालो आउँथ्यो एकपटक, त्यो पनि दुई फन्का घुमेपछि सकिन्थ्यो। भोकको पीडाभन्दा ठूलो पीडा पिङ खेल्न नपाएकोमा हुन्थ्यो। कहिलेकाहीं कसैले दुईपटक पिङ खेल्न पायो भने त्यसले बारम्बार पिट्थ्यो- मैले आज दुईचोटी पिङ खेलें भनेर। घर पुग्न नपाई सबैलाई राखेर सुनाउँथ्यो- ‘सप्पैले एकचोटि खेले तर मैले त आज दुईचोटि खेलें।’ ‘पख, भोलि त म तीनचोटि खेल्छु, तँलाईं चढाउँदिन्’ भन्नु बाहेक आफुसँग अर्को जवाफ नहुने। अत्ति नै हेप्यो भने बल्ल जुक्ति निस्किन्थ्यो- नाम्लोको बरियो निदालमा बाँधेर पिङ बनाउने र एक्लै खेल्ने। बदलाको भावना र आफू ठूलो हुने चाहना सबै बालबालिकाहरूको सायद साझा चाहना हो।

हाम्रो घरमा खसी काटेको थाहा छैन सानो हुञ्जेल। गाउँमा, छिमेकमा कसैको खसी आधा-आधामा कुरा मिलाउनुहुन्थ्यो बुबाले। हामी घरमै खसी काट्ने भनेर झगडा गर्थ्यौं तर हाम्रो घरमा खसी काटिएन। SLC पछिको साल दशैंमा मैले काकाको घरमा मार हानें, तीन दिनसम्म मैले घरमा सुत्न पाइनँ- म आत्मा नभएको छोरो, दया माया केही नभएको भनेर। मेरो बुबा आमाले मासु खानै छोड्नुभयो त्यसपछि। अहिले मेरो घरमा म बाहेक कसैले मासु खाँदैनन् तर पनि मेरा बुबाआमाले कहिल्यै मासु न’खा वा मासु बाहिर प’का भन्नुभएको छैन। छोराछोरीको खुशीका लागि कति पीडा सहन्छन् बाबुआमा। त्यसैले उनीहरू महान् छन्।

लुगा सिलाइसकेपछि महत्वपूर्ण दिन हुन्थ्यो- टीकाको दिन। मामाघर पुग्न २ घन्टाजति लाग्थ्यो। हामीलाई घरमा भन्दा मामाघरमा टीका लगाउन हतार हुने। घरमा बुबाको पैसा राखेर ढोग्नुपर्थ्यो काका काकी, ठुलोबुबा ठूलीआमालाई। उता मामाघरमा भने उल्टै पैसा दिएर आफुलाई ढोग्ने पनि। मामाघरमा टिका लगाइसकेपछि बेलुकी हिसाबकिताब हुन्थ्यो कसले बढी पैसा पायो कसले कम भनेर। एकअर्काको भन्दा पैसा कम बेसी भयो भने मामाघरमै हामी टीका लगाउने ठाउँ खोज्थ्यौं। आमाका काका पर्नेसम्मकोमा हामी टीका लगाउन पुग्थ्यौं। धेरै पैसा कमाएर हामीले गर्ने त केही थिएन एकहप्ता ढुक्कसँग चकलेट र बिस्कुट खाने बाहेक। तैपनि त्यो प्रतिस्पर्धा सम्झन लायकको हुन्थ्यो। त्यसमा न त हार स्वीकार्य थियो न त जितेर अबीर नै लगाइन्थ्यो।

अनि अहिले हेर्छु म आफूलाई- अझै पनि मैले दशैं मनाउनको लागि बाबुआमालाई सघाउन सकेको छैन। मेरा आफ्नै असिमित चाहनाहरू र सपनाहरू छन्। अनि तिनै सपना र चाहनाहरूलाई म मेरा बाबुआमाका सपना र चाहनाहरूसँग तुलना गर्छु। दशैं हो, छोरोलाई पनि त चाहिएला नि पैसा भन्छन् बाबुआमाले। खै, यो दशैंले अरू के नाफा वा घाटा गराउँछ मलाई थाहा छैन तर म हरेक दशैंमा मेरा बाबुआमाका सपनाहरू र मेरा सपनाहरू एकै ठाउँमा मिलेको देख्छु। सायद त्यसैले पनि यसलाई महान चाड भनिएको हो कि !!

Comments

Popular posts from this blog

देश छोडेका ५ बर्ष

भड्किएका हामी, बतासिएको बहश

निद्रा, तन्द्रा, भ्रम र यथार्थ