बसि बियाँलो

कैलेकाईं खोज्दै नखोज्दा, पढ्दै नपढ्दा र चाहँदै नचाहँदा पनि रमाइला कुरा भेटिन्छन् संकलन केन्द्रमा  सारै अल्छि लाग्यो भने, मन बेचैन भयो भने वा समय कटाउन हम्मे हम्मे पर्‍यो भने पुराना कागजपत्र केलाउन थाल्दा हुन्छ- केही न केही भेटिहालिन्छ। नारायणप्रसाद उपाध्यायको सम्पादकत्वमा बनारसबाट आफुलाई ‘सचित्र नेपाली मासिक पत्र’ भनेर चिनाउँदै एउटा पत्रिका छापिन्थ्यो- दीपक प्रेसमा- दीपक भन्ने २०१३ सालताका। सो समयमा प्राय: पत्रिकाहरूले एउटा स्तम्भ राखेका हुन्थे- पाठकले रमाइला प्रश्न सोध्ने अनि सम्पादकले ती प्रश्नहरूको रमाइलो तवरले उत्तर दिने। ‘दीपक’को वर्ष १, अंक ३, २०१३ आषाढ १९ गते तद्‌अनुसार सन् १९५६ जुलाई २ को अंकमा छापिएको ‘बसि बिञालो’ स्तम्भ केही ज्ञानमूलक जस्तो लाग्यो र यहाँ जस्ताको तस्तै राखिएको छ।



- होइन संपादक जी? हामीले देखदा देखदै भारत यत्रो उन्नतिशील भै सक्यो, हाम्रो नेपाल भने किन पिछडिएको यसरी? उकालो लागने ठाउँमा झन् ओह्रालो लाग्दैछ भने पनि हुञ्छ। किन यस्तो स्थिति भएको यस अभागी देशको? …. लौ न आँखा खोलाई दिनुहोस् बा !! … दुरा डाँडाका सोभारत्न पराजुलीको यो प्रश्नको जवाफ हेरौं। ‘पराजुलीजी !- तपाँञी देउताको देशको स्वयं देवप्रतिकृति हुँदाहुँदै हामी मनुष्यलोकबासी संग आँखा खोलाई दिन भन्नुहुञ्छ, खैर !! भैगयो सुन्नुहोस्. (१) ऐयाशी छोडी दिनुहोस, आफूले खाने साँमल आफैले असनमा बेसाई, आफै बोकेर ल्याई, आफ्ना जहानहरूसंग पकाउनलाई (पकाउन लगाएर भन्या) खानुहोस्। (२) यो साँमल किन्ने पैसाको आगम (स्रोत) पवित्र हुनुपर्छ… तपाञीको परिश्रमको कमाई हुनुपर्छ। (३) काम-क्रोध-लोभ-मोह-मद-मात्सर्य- यी छवै सहज शत्रु तपाञीका घरभित्र पस्न नपाउन् … अनि बल्ल आँखामात्र होइन, कान मगज पनि खुल्लान्। अनि देख्नुहोला, सुन्नुहोला र गम्नुहोला … अनि पो उकालोको मेलातिर लाग्नुहोला।” कति रमाइलो जवाफ, तर भावमा गहनता उस्तै। लमजुङ् दुरा डाँडाका सोभारत्नलाई असनमा साँमल किन्न आइज भन्दिए सम्पादकले  अर्को एउटा कुरा याद गर्नुभयो- त्यो बेला ‘ञ’को प्रयोग कहाँ कहाँ कसरी हुन्थ्यो भन्ने कुरा !!



अर्को हेरौं, पाल्पा तानसेनका नौरंगीलाल श्रेष्ठले सोधेको प्रश्न- ‘विदेशीय सहायताको धनले हाम्रो भरमुलुकमा पक्की सटक ओच्छिँदैछ। देखारमा यो हाम्रालागि भनिए तापनि- वस्तुत: मोटर र पेट्रोलको खपतको मार्केट नै खोलिएको हो- हाम्रो अबूझ राजाको आँखा किन न खुलेको हो? …’ लौ हेर्नुस् त, सो समयमा देशमा बाटो घाटो बनाउँदा सर्वसाधारणले के सोच्दा रै’छन्। यो हाम्रो सुविधाको लागि बनेको हो भन्ने त सोचेकै रहेनछन् नि !! अब जवाफ सुनौं सम्पादक ज्यूको: ‘श्रेष्ठजी ! एक्लो राजाले बाँदर हिन्न अकचकाउने, घिनाउने,- तपाँञीको भरमुलुकको बाटो घाटोलाई बिना पैसा मोटर हिन्ने पक्की रोड बनायो, अब तपाञी एक करोड नेपालीका दुई करोड बाहुलीले त्यही रोडमा फलांको लीक ओछ्याउनुहोस्… अनि ठाऊँ ठाऊँका छहराहरूबाट बिजुली निकासी गरी चलाउनुहोस् न “ट्राम” गाडी-कलकत्ता- बंबई-दिल्ली-कानपुरको जस्तै;- “देशखाई शेष” हुनुहुञ्छ सक्नुहुन्न यति !!!’ हिर्काउनु हिर्काएछन् नि सम्पादकज्यूले राजाको आड लिएर यहाँ त। हुनत सम्पादक जो परे सानातिना कुरा किन गर्थे, अर्ति र उपदेश दिन त सम्पादकहरूले पहिलेदेखि नै जानेका रै’छन् नि ;-)



अन्तिममा एउटा अर्को पनि पढौं। यो अलि राजनीतितिर नजिक पनि छ। पोखराबाट रामचन्द्र जी सोध्नुहुन्छ- ‘संपादकजी ! हामीले आफ्नो ज्यानको बाजी लगाई, रगतको खोलो बगाई, त्याग-तपश्या-बलिदानको असह्य आँचमा खरिई ल्याएको मुलुकको स्वतंत्रता-एकतंत्रीय शासनमा परिणत भयो; मुलुक दिनदिनै बर्बाद हुँदैछ,-तपाँञीहरू किन केही बोली दिनुहुन्न? …’ प्रश्न अहिलेकै जस्तो लाग्छ अनि यो प्रश्नले सो समयमा पत्रिकाको सम्पादकलाई जनताले कतिसम्म मान्थे भन्ने कुराको सानो उदाहरण पनि हो यो। जवाफ हेरौं- ‘महाशय ! तपाँञीको प्रश्नले पष्ट बुझियो… तपाँञी “नेताजी” हुनुहुँदोरहेछ। हाम्रो मासिक-पत्र, धर्म र संस्कृतिको- प्रचारक हो; राजनीतिको होइन। हाम्रो सांस्कृतिक परंपरामा राजालाई ईश्वरको अंश मानेको छ, हामी राजालाई ईश्वरकल्प मान्दछौं,- औ उस्को ईश्वरत्वलाई अक्षुण्ण गराउन दधीचीको जस्तै आत्मबलिदान गर्न हमेशा उद्यत रहञ्छौं।



महाशय, “वेश्याङ्गनेव नृपनीति रनेकरूपा”का अनुसार फुँणी राजनीतिको फेरो छाडी- “सेवाधर्म:परम गहनो योगिनामप्यगम्य:”का अनुसार सेवाधर्मको अबलंबन गर्नुहोस्, गराउनुहोस्- अनि हेर्नुहोस्… तपाँञीको देश कति ऊँचा उठदोरहेछ। नरिसाउनुहोला… यो बसि बिञालोको गन्थन् हो… साँच्चि भन्नुहुञ्छ भने… तपाँञीहरू जस्ता सुयोग्य व्यक्तित्वहरूको राजनीति (फुँणी) परस्तीले नै देश रसातलतिर लागेको हो; बबुरो राजा बिचरो व्यर्थ बदनाम हुँदैछ, एक्लो संरक्षणको भार बोकेर।’



आम्मामा !! सम्पादकज्यूलाई नेताहरूदेखि कति रीस उठेको रै’छ राजाको विरोध गरे भनेर होला  जेहोस्, सो समयमा पत्रिकाका सम्पादकले ठट्यौली पारामा यसरी पाठकहरूसँग अन्तर्क्रिया गर्दा पनि केही त फाइदा हुन्थ्यो होला भलै अर्ति र उपदेश सुन्नु परोस्। आजकालका हाम्रा वरिष्ठ सम्पादकहरूले यस्तै एउटा स्तम्भ शुरू गरेर पाठकसँग अन्तर्क्रिया गरे कस्तो हुन्थ्यो होला? अनुमान गरौं त कति गाली गलौजपूर्ण प्रश्नोत्तर हुन्थे होलान् :P


Comments

Popular posts from this blog

देश छोडेका ५ बर्ष

भड्किएका हामी, बतासिएको बहश

निद्रा, तन्द्रा, भ्रम र यथार्थ