गाउँमा किताब: प्रथम अध्याय
पृष्ठभूमि
गाउँमा किताब अभियान: पहिलो मिसन: श्री नेपाल राष्ट्रिय सामुदायिक उच्च माध्यामिक विद्यालय, जर्बुटा-४ करैखोला, सुर्खेतमा पुस्तक हन्तान्तरण कार्यक्रम।
२०६९/०२/२६ गते शुक्रबार
समय: २:४० बजे
– टिरिङ् टिरिङ्…!
– हेल्लो….. बाहिर निस्क !
– ए, म निस्किसकें।
गाउँमा किताब अभियान: पहिलो अध्याय
योभन्दा अघि धेरै सम्वाद भएका छन् तर कथा यहाँबाट शुरू गरिएको छ। गाउँमा किताब अभियानको पहिलो मिसनका बारेमा आधिकारिक लेखहरू बिस्तारै आउलान् । तर यहाँ चाहिं यही अभियानका दौरानका घटनाहरूलाई अलि फरक ढंगबाट प्रस्तुत गरिनेछ। (यो कथाका घटना तथा पात्रहरू वास्तविक हुन्। कसैको जिवनमा मेल नखाएमा संयोग मात्र हुनेछ।)
अनुरोध: यो नितान्त मनोरञ्जनका लागि लेखिएको हो। यसले पुरै मिसनका बारेमा आधिकारिक धारणा बताउने छैन। उल्लेख गरिएका पात्रहरूले मनोरञ्जनकै रूपमा लिइदिनुहुन।
२:३५ मा कुपण्डोल हाइटबाट म र प्रकाश लामिछाने ऊर्फ @Baabajee ले ट्याक्सीमा दुई पोका बोकेर पुस्तक वितरणको शुभारम्भ भएपछि नयाँ बसपार्क पुग्दा किताबका पोका १० र पात्र ४ जना भइयो। थपिएका दुवै पात्र मैले पहिलोपटक भेटेको। एकजना शैलेश ज्ञवाली @shagyan र मदन पोख्रेल। ५:१५ बजे गाडीले नयाँ बसपार्क छोड्यो। कलंकीबाट दुईजना उर्मिला थपलिया @t_urmila र प्रमिला थपलिया @prami_t र ढुंगेअड्डाबाट सुधा सुवेदी @sudhasubedi थपिएपछि हाम्रो टिम पूरा भयो। मध्य पश्चिमाञ्चल यातायात, ना ३ ख २३४१।
पात्र १- प्रमिला थपलिया: यिनी म बसेको सिटमा मसँगै साथमा रहिन्। यिनी सहानुभूति पात्र। मलाई केटीहरूसँग बोल्न लाज लाग्छ। बच्चैदेखिको बानी। त्यसको परिणाम यीन्ले राम्रै भोगिन्। म खासै बोल्दिनँ भन्ने त योभन्दा पहिला @tfcNepalको मिसन-६ मा मसँगै साथ रहने समूहले हेटौँडाको एभोकाडो होटलमा रातभरी भोगेकै कुरा हो। यसपाली संयोगले मेरो नबोलाईमा प्रमिला परिन्। यीनलाई कति पिडा भयो होला म अनुमान लाउन सक्छु। बाध्य भएर मैले राती साँढे १ बजे यिनीलाई वचनै दिएँ सुर्खेत नपुगुञ्जेल म तिमीसँग बोल्दिनँ। वचन त तोडिनको लागि न हो दिने। त्यहीपनि बल्ल बुटवल त पुगिएको थियो। ६ बजेदेखि साँढे १ को अवधिसम्मको मेरो नबोलाईले म बिहान ब्यूझिँदा प्रमिलाको टाउको दुखेको थियो। त्यसैले यिनी सहानुभूतिकी पात्र। यिनी जब जब निदाउन लाग्थिन्, मैले गीत गाउँथेङ: आन्टी जी आन्टी जि गेट अप एण्ड डान्स। यो गीतको एक झलक नाचको स्टेप बाबाजी र शैलेशजीले देखे पछि यो गीत एकाएक फेमश भयो।
पात्र २- शैलेश ज्ञवाली: यिनीसँग मेरो पहिलो भेट। सामान्य कुराकानीबाट शुरू भयो। मभन्दा पछिल्लो सिट यिनको। संयोग यीनको सिटमा हामी जुन स्कूल जाँदै थियौं त्यही स्कूलकि म्याडम् सीट पार्टनर। यीनी पेशाले इन्टरनेट सेक्युरिटी एनालाइजर रे। जम्मा एकपटक मात्र ह्याकिङको निहुँमा जेल गएका। तो पनि कुनचैं बैंकलाई तेरो पासवर्ड सेक्यूर छैन भनेछन्, बैंकले जेल पठाइदे’छ। १८ घण्टा जति बसेर आ’छन्। यीनको नाम कालान्तरमा मैले RT राख्देको। डाक्टर उपाधि नदेको हो एमफिल चैं दिएँ। मैले त केही बोल्नै नहुने RT हानिहाल्ने। यी बडा घ्यू मान्छे। जताबाट कुरा गरेनि यीनका बुवासँगै आउने। यीनले प्रमिलालाई आफ्नो कामको बारेमा भनेको कन्सुत्ली लागेर सुनेको चाहिँ: ‘बाउको पैसा खर्च गर्ने काम’ रे। बाबुको परिचय नदिम् तर यति चैं भन्दिन्छु: राष्ट्रिय अनुसन्धानका डिएसपी। यीनी उत्तरी ध्रुव म दक्षिणी ध्रुव। तर केही समानता। यीनीलाई गाडीको टिकट देखाएपछि निन्द्राले छोप्ने, मलाई टिकट देखाएपछि निन्द्रा भाग्ने। सुर्खेतसम्म पुग्दा यीनी भात वा खाजा खाने समयबाहेक मुश्किलले १ डेढ घन्टा जागा थिए होलान्। यिनीसँगबाट पनि एउटा कुरा बडो प्रख्यात भयो: ‘तोइट, दुईटा थोप्लो पी ‘
पात्र ३- मदन पोख्रेल: मैले पहिलोपटक देखेको र सायद हामीले औपचारिक परिचय पनि गरेनौं। सुर्खेतको भ्याली भ्यू होटलमा राती एकछिन गफ गर्ने मौका पाइयो। त्यो पनि झोलको सुरमा यीनको मेरो स्वभाव नि मिल्ने। यीनी नबोलेसम्म बिल गेट्ससँग नि नबोल्ने, अनि बिल गेट्स नबोलेकोले मैले पनि बिल गेट्ससँग अहिलेसम्म संवाद नगरेको। बाबाजीले जहिल्यै काण्डकारी भन्थे तर के काण्डकारी भनेर हल्का यीनकै मुखारविन्दबाट त्यही बेलुकी सुनेको। काण्डकारी भनेका छन् बाबाजीले डरै लाग्छ
पात्र ४- सुधा सुवेदी: योभन्दा पहिला गाउँमा किताब अभियानमा एकपटक भेट भएको अनि ट्वीटरमा एकादुईपटक भन्दा बढी संवाद नभएको। बाटोमा पनि सामान्य संवाद भयो। तर कार्यक्रमका दौरान अलि बढी संवाद भयो। कार्यक्रम सकेपछि हाइवे फिल्मका बारेमा धेरै गन्थन भयो। मैले फेरि मार्केटिङ गर्ने मौका पाएँ। यो यात्राले हामीले अलि बढी अन्तरक्रिया गर्ने मौका पायौं।
पात्र ५- उर्मिला थपलिया: पहिल्यै दिदी भनेर चिनेको। साँच्चै दिदी निस्किनु भयो। म त भन्छु तपाईंहरूपनि कतै यात्रा गर्नुहुन्छ भने दिदीसँगै गर्नुस्। उहाँ अभिभावकै हुनुभयो। केही खायो पैसा तिर्नै नदिने। हामी त भाइबहिनी दिदीका अगाडि पैसा तिर्नै नपर्ने। दिदीसँगको कथा अहिले जोड्छु। किनकी दिदीकै कारणबाट यात्रामा थप रमाइलो भएको छ।
पात्र ६: प्रकाश लामिछाने उर्फ बाबाजी: यिनीसँगको उठबस (उठबस भनेको संगतको कुरा गरेको हो, त्योभन्दा अन्य अर्थ लाग्ने छैन) भएको लामै समय भयो। यो पहिलो मिसनका कम्याण्टर-ईन-चीफ। यिनको कुरा गर्दिनँ भने पनि फुत्त फुत्त आउँछन्।
सुर्खेतमा अभियानमा थपिनुभयो: विनय शेखर @binayashekar, विष्णु खत्री@bishnu_dai र इन्द्रध्वज क्षेत्री @indradhoj.
अब कार्यक्रमतिर लागौं। एउटा गाडीमा १० पोका किताब र १० थान मान्छे चढेर स्कूल गइयो। स्कूलको केही तल्तिर बाबाजीको घर। आँप पनि कति फलेका हुन् यिनका घरमा, तोइट, दुईटा थोप्लो पी। स्कूल जाँदै गर्दा बाबाजीले ठाउँको बयान गर्थे अनि विष्णु दाइको जवाफ: ‘यो सुनेको पैसा त लाग्दैन नि’। करेखोला किन भ’को पनि भने यिनले। खोला भन्थे पत्करभन्दा अरू देखिएन। लाइभ टेलिकाष्ट भ’को छ क्यार यो यात्रा पनि । स्कूल पुगियो, अभिभावक र व्यवस्थापन समितिका साथमा केही विद्यार्थीहरूको उपस्थिति। कार्यक्रम यसरी शुरू भयो:
सञ्चालक: सभापतिको आसनग्रहणका लागि फलानो.. पर्रररर ताली। प्रमुख अतिथिको आसन तिलानो… पर्ररर ताली। अतिथीका रूपमा ढिस्कानो, निस्कानो, तिस्कानो…। भाषण शुरू। पालो प्रकाशको यानेकी बाबाजीको:
प्रकाश: सभाध्यक्ष ज्यू… फलानो, तिलानो…सबै। अँ… माफ गर्नुहोला, म अलि भावुक भएँ।(हाँस्न खोज्दै) कुरा के भने….अँ… माफ गर्नुहोला म अलि भावुक भएँ (चश्मा झिकेर आँखा पुछ्दै)। लास्ट बेन्चे अतिथी इन्द्रध्वज: यी पनि बडा कलाकार रै’छन्। (अरू लास्ट बेन्चे अतिथि… गलल्ल्ल्ल) प्रकाश: अँ… हाम्ले उ गरेऊँ, त्यो गरेऊँ, त्यसरी कुरो भो… उसरी यो भयो र लास्टमा यो भयो। (ताली पर्रररर)
पालो प्रकाशकी आमा अर्थात् सञ्चालक समितिबाट: ‘यस्तो थियो.. उस्तो भएको थियो… खास कुरो यो हो… तर आज… गला अबरूद्ध.. घुँक्क घुँक्क आवाज। लास्ट बेन्चे अतिथि इन्द्रध्वज: ‘खान्दानी कलाकार रै’छन् । गलल्ल्ल। लास्ट बेन्चे पूर्ववक्ता लेखकसँग: रूमाल बोक्न बिर्सेछ तिमीसँग छ?
विष्णु खत्री: खास कुरो यो हो… कुरो यसो भ’को हो। (एकछिन यताउता सहभागीलाई हेर्दे: मुसुक्क) खास हामीले यो गर्न खोजेको र यो भ’को हो… (पल्याकपुलुक हेर्दै: मुसुक्क) लास्ट बेन्चे अतिथिहरू: गाईंगुईं खासखुस… मुँसुमुँसु।
विनय शेखर: म अलि खरो बोल्ने मान्छे। कुरो यो हो। हामीले यो गरेऊँ तर अब तपाईंहरूले यो गर्न सक्नुहुन्छ कि हुन्न हेर्नुछ। यदि यो नभएर ऊ भयो भने हामीले अहिलेसम्म गरेको उ सबै खेर जानेछ। (लास्ट बेन्चे लेखक: मैले बोल्नुपर्ला कि भन्ने डर थियो ढुक्क भयो)
उर्मिला थपलिया: खास कुरा सबै भए। तर मुख्य कुरो पश्मिनाको सल र जुत्ताको हो। पश्मिनाको सलले ३ हजारको जुत्ता पुछ्ने कि २० हजारको पश्मिनाको सललाई भाउ दिने विचार गर्नुस्। (लास्ट बेन्चे अतिथिहरू: पर्ररररर। साथमा अभिभावकहरू पनि: पर्रररर)
व्यवस्थापक समितिका पूर्व: हामी चेली तपाईंहरू माइति। चेलीलाई माईतीको कुकुरको गू पनि प्यारो लाग्छ। किताब हाम्रा लागि त्यही। (पर्रररर ताली)
अन्त्यमा सभापति तथा व्यवस्थापक समितिका अध्यक्ष: मलाई गाउँलेहरूले उ बनाउनु भो.. बनाएपछि उ भयो.. उ गरें। उ गर्दा यस्तो भयो (५मिनेट)… उनीहरूले उ पनि भने… उ गर्न सारै उ गरियो… तर पनि उ भयो… उसको त हिसाबै छैन। र उ गर्दा उ पनि भयो… अहिले ऊ भएको छ (१० मिनेट) लास्ट बेन्चे अतिथिनी दुईवटा हातलाई ताली बजाउने मुद्रामा राख्दै खुइय्य) भाषण जारी छ… उ भएपछि उ को आवश्यक भयो। (लास्ट बेन्चे लेखक: सल छैन म आत्महत्या गर्छु… अन्य अतिथिहरू… गलल्ल) फस्ट बेन्चे अतिथिबाट लास्ट बेन्चे अर्का अतिथिलाई एउटा एसएमस्: ‘चुप लाग्नु।’ लास्ट बेन्चबाट जवाफ: ‘लास्ट बेन्चे विद्यार्थी न परियो।’ (१५ मिनेट) भाषण जारी: उ गरेर उ गर्न उ नमिल्ने। उ त भयो तर उ भएन। अन्त्यमा कार्यक्रम समापन गर्दछु।
फिर्ती: अभियानकर्मीहरूलाई भाषण धेरै भएछ क्यारे। प्रकाशजीको घरमा काँचो आँप चियासँग चोबेर खुबै खा’को हो। बेलुकी सेकुवा खान गइयो थकालीतिर। सेकुवा भएपछि हल्का झोलको व्यवस्था हुने नै भयो। बील २५७० रुपैयाँ भएछ। ७० पहिल्यै डिस्काउण्ट, विष्णु दाइको तर्फबाट १०० फेरि। १७० डिस्काउण्ट भए’सि अर्को एउटाले दु:ख पायो। काउण्टर अगाडि नै डिस्काउण्ट खलास भयो। बेलुकी लोकल कुखुरोसँग फेरि दुईचार बोतल खुले। अझै नपुगेर बेडसम्मै पुगे दुईचार बोतल त।
यसपाली अनौठो भयो: आफूँ खुलिएन अरूलाई खोलाइयो। भोलिपल्ट बिहान लोकल पत्रकारहरूसँग बित्यो। तापक्रम ३९ डिग्री पुगेपछि विनय दाइ र मैले चिसो बनाउने जमर्को गर्यौं। परिणाम ३ बजे गाडीको समय ३:३०सम्म होटलमै। होटलको गाडीमा दौडादौड। ४० डिग्री तापक्रम। फर्किनेमा जम्मा चारजना मात्र: लेखक, प्रमिला, शैलेश र उर्मिला दिदी। क्याबिनमा दुई सिट। सेकुवाको भुंग्रो माथि बसेजस्तो। कसरी बस्ने, धन्न दिउँसोको चिसोले हल्का काम गरेको हो। भित्र बस्न नसक्ने निर्णयका साथ मुढाको व्यवस्था। अनि कैले एउटा सिटमा तीनजना।
कोहलपूरमा खाजा खान गाडी रोकियो। गन्नाको जुस (उखुको रस) दुईदुई गिलास प्रमिला बाहेक। खाजा खान रोकेको बसको पछाडि एउटा पुलिसको गाडी। प्वालैप्वाल भएको बन्दुक बोकेका दुईजना बर्दीधारी धडाधड ओर्लेर अगाडिको ढोका खोले। एकजना एसपी सा’प दुईजना बन्दुकधारीसहित गाडीतिर प्रस्थान। हाम्रो टिम हतारहतार हाँस्दै नमस्कार गर्न र हात मिलाउन व्यस्त। अन्य प्यासेञ्जर अवाक्।
एसपीसा’पको आदेश: ‘ओई, त्यो गाडीको स्टाफलाई सोध् कतिबेर रोक्छ?’ ‘१५ मिनेट रे सा’प’- जवाफ। ‘अरू १५ मिनेट रोक् भन्’- आदेश। गाडी गुरुजीलाई: ‘२५/३० मिनेट रोक्नु।’- आदेश। चारजना पायल चप्पल र हाफपेन्ट धारीहरू धडाधड् पुलिसको गाडीमा प्रस्थान। साइरन बज्दै कोहलपूर शसस्त्र ब्यारेकतिर। बाटोभरी सलाम्को हिसाबै छैन। गाडी क्याम्पभित्र रोकियो। धडाधड ढोका खोलिए। पायल चप्पल खोलिए। क्यामेरा खिटिक्, खिटिक्।
चिसो पानी आयो। घटघट घटघट सबले खाए। लस्सी आयो। घटाघट पिइयो। आँप र लिची आए अनि गाडीवाला माल्दाइको फोन पनि आयो। लेखक: अब माल्दाइले भात आफैं ख्वाउँछन् तर बाहिर जान दिँदैनन्। धन्न RT ले पहिलोपटक RT हानेनन्, एसपी सा’पको डर लागेछ क्यार। एसपी सा’पको एउटा एल्बम् केही समयपछि विमोचन हुँदैछ रे। त्यही विषयमा पनि सामान्य गफ भए। पश्चिमतिरको बोली र पूर्वेली बोलीका फरकका कुरा भए। धडाधड आँप र लिची सकियो। फेरी चिसो पानी आयो। घटाघट पिइयो र धडाधड बाहिर। खिचिक् खिचिक् फोटो। गाडीमा साइरन, फेरि क्याबिन।
कुरो पस्ट पारौं: एसपी सा’प चाहिँ हाम्रो उर्मिला दीले चिन्नुभएको। उहाँले हाम्रो १० जनाकै टीमलाई निम्तो दिनुभा’थ्यो तर भाग्दा भाग्दै हामी ४ जना चाहिँ फेला परेका
क्याबिन छिरेको २ मिनेटमा मुढामा आइपुगियो। गाडीलाई गरेको एकघण्टा ढिलाईको परिणाम खाना खाने बेलामा माल्दाइले भने: ‘धेरै टाढा नजानुहोला। रोटी भात जे खाए नि यहीं छ। RT ले भात चाखे र समीक्षा गरे: ‘१० मा ७.५ दिएँ।’ भात मागियो, देख्ने बित्तिकै प्रमिला र मैले रोटी माग्यौं। RT को समीक्षाले हावा खायो। खाना खाएर टिकट देख्दा निदाउने RT सुते ३ घण्टा। म मुढामा जाग्राम। कावासोती आइपुगेर पिशाब गर्न झरेको क्याबिनको हाम्रो सिटमा बसेको भाइले भन्यो: ‘मेरो जुत्ता त पग्लेछ।’ धन्न क्याबिनमा बसिएनछ तोइट, दुटा थोप्लो पी ।
चार बजे मुग्लिन आएर चिया खाइयो शैलेशजी र मैले। मोबाइल चार्ज गरें र ट्वीटें एकछिन्। त्यतिबेलासम्म झिमिक्क आँखा लाएको थिएन। ढाड कति दुखेको थियो त्यसको कुनै अन्दाजै छैन। मुग्लिनमा चिया पिएपछि बस चढेर ढोकाको छेउमा उभिरहँदा सारै पिडा अनुभव भयो। वाक्वाकी लाग्न शुरू भैसकेको थियो। शैलेशजी क्याबिनतिर छिरे। प्रमिला आफैं बिरामी भएकी थिइन्। दिदी पनि सुत्नुभएको थिएन। दिदीले मलाई बारबार सिटमा बस्न भन्नुभएको थियो तर बिरामी प्रमिला र दिदीलाई सिटबाट उठाएर आफू सीटमा बस्न मनले मानेन। यत्रो लामो यात्रामा रातभरी मुढामा बसेर यात्रा गर्न सकेको देखेर आफ्नो स्टामिनालाई सलाम गरें मैले। यही दौरान मेरो दिमागले यो क्याबिन सीट र मेरो जाग्रामलाई यसरी प्रस्तुत गर्ने जमर्को गरेको हो।
मुग्लिन पछि निदाउने जमर्को त गरेको हो। तर जब ड्राइभरको सिटमा माइला दाइ बसे त्यसपछि मेरो निन्द्रा त्यसै भाग्यो। बाब्बा, के सारो कुदा’का हुन्। जेजसो भएपनि ८:३० मा काठमाडौं आइपुगियो। बहुत रमाइलो भएको झैं लागेको छ।
समुहका सबैलाई धन्यवाद। गाउँमा किताब अभियानका सबै सहयोगीहरूलाई झन् धन्यवाद। आशा छ यो लेखले कसैको छवीमा केही असर पार्ने छैन। यो विशुद्ध मनोरञ्जनका लागि लेखिएको हो। खासगरी कम्याण्डर-ईन-चीफ बाबाजीले क्याबिनको सीट नमिलाएको भए यो लेख मरे नि लेखिंदैनथ्यो। त्यसैले उनलाई विशेष धन्यवाद।
ईति श्री गाउँमा पुस्तक पुराणे सुर्खेत-काठमाण्डु खण्डे नेपालवर्षे गाउँमा किताब वितरणे प्रथम अध्याय: !!
Comments
Post a Comment