दुई जोइका पोई भानुभक्त

[caption id="attachment_464" align="alignleft" width="300"]Bhanu Bhakta Acharya, Art by Indra Khatri भानुभक्त आचार्य Art by Indra Khatri[/caption]

हामी अनुसन्धानमा एकदमै पछाडि छौं। किनकी हामीलाई इतिहासप्रति चासो नै छैन। हुन पनि हो किन सम्झिने इतिहास? यहाँनेर गिरिजाप्रसाद कोइरालाको एउटा भनाइ याद आउँछ: ‘मान्छेले आफ्नो इतिहास बिर्सियो भने त्यो मान्छे रहँदैन, पशु हुन्छ’। (गिरिजाप्रसाद कोइराला: आफ्नै कुरा) हुनत इतिहास सम्झिन इतिहासको अध्ययन जरूरी छ तर हामीकहाँ इतिहासै निष्पक्ष र पूर्ण रूपमा लेखिएका छैनन्। यसको कारण एउटै कारण हो: हामीसँग उपलब्ध साधन स्रोतको कमि र यसमा लाग्ने समयको लागि आवश्यक धैर्यता।


जे होस्, यो कुरा यहीं छोडेर अहिलेको विषयमा प्रवेश गरौं। तल प्रस्तुत लेख २०३४ साल माघ १५ गते शनिवारको गोरखापत्रमा छापिएको शनिवासरीयबाट जस्ताको तस्तै साभार गरिएको हो। यसमा ह्रस्व र दिर्घ पनि जस्ताको तस्तै उतारिएको छ। हामी मध्ये कतिलाई थाहा होला भानुभक्तको नाम र वैवाहिक जिवनका बारेमा? नत्र यो लेख हेरौं:


दुई जोइका पोई भानुभक्त


“नेपालका आफ्ना बेलाका प्रसिद्ध पण्डित सुब्बा विरेन्द्र केशरीसित अनेक वर्ष अघि काशीमा भेट हुँने सौभाग्य प्राप्त भएको थियो। उहाँको भानुभक्तसित केही नाता पनि थियो क्यार। भानुभक्तका दुई जना स्त्री थिए। भानुभक्त मीठो खान मन पराउँथे औ उनी यही कारणले स्वयं पाकी थिए भनी भन्नुभएको सम्झना हुन्छ।“ (सुर्य विक्रम ज्ञवाली, ‘भारती’ वर्ष ३, संख्या २, २००८, पृष्ठ ४१-४२)


भानुभक्तले पहिलो विवाह उनकै माहिली बुहारी (रमानाथकी दोस्री पत्नी रमाप्रिया) अर्थात् आफ्नै बज्यैबाट सुनेको भनी भानुभक्तका पनाती मुक्तिनाथले भन्नुभएअनुसार, भानुभक्त ११ वर्ष हुँदा वि.सं. १८८२ सालमा भएको थियो। ब्राम्हण परिवारमा विवाहको चौथो दिन पत्नीको नाम आफ्नो नामसँग मिलाएर राख्ने चलन अनुसार भानुभक्तले आफ्नी धर्मपत्नीको नाम चन्द्रकान्ता राखे।


भानुभक्तका आफ्नै नाती शिवभक्त (१९६४) र पनातीहरू सूर्यनाथ (१९८०) र मुक्तिनाथ (१९८३) का अनुसार उनको चिनाको नाम चिन्तामणी हो। त्यसैले उनको पत्नीको नाम उनको चिनाको नाम अनुसार ‘च’ बाट उठेको नाम राखेका हुन्। यहाँ स्मरणीय छ- भानुभक्त मणिमाला (१९९८) को रङ्गनाथ शर्माद्वारा लिखित ‘परिचय’ अनुसार भानुभक्तको चिनाको नाम देवीभक्त हो। ‘चन्द्रकान्ता’ सन्तान नपाईकनै मरेकीले भानुभक्तले १८८५ सालमा आफु १४ वर्ष हुँदा १० वर्षकी चन्द्रकलासँग दोस्रो विवाह गरे। श्री मुक्तिनाथ आचार्य लिखित ‘भानुको भावना’, २०२९, पृष्ठ १३ मा पनि दोस्री पत्नी बारे चर्चा छ। लेखकले उक्त कुराको प्रमाणको रूपमा २०३० साल कार्तिक १ गते भानुभक्तका पनाती सूर्यनाथ (वि.सं. १९८०) बाट बढी जानकारी पाएँ भनिएको छ।


“भानुभक्तको दुई पत्नी भएको कुराको जानकारीले उनको जीवनमा यसले पारेको प्रभावबारे थाहा पाउन मद्दत गर्नेछ। व्यक्तिगत जीवनमा मात्र यसले प्रभाव नगरी उनको साहित्यिक मान्यतामा पनि यसले असर पारेको देखिएकोले यो सानो खोज कामलाग्दो नै ठहरिने छ भन्ने आशा गरिन्छ।“ (यो लेखका लेखक काशीनाथ तमोट हुन्, काशीनाथ तमोटको सामान्य परिचय यहाँ छ)


यो सामान्य रूपमा गरिएको अध्ययनको कुरा भयो। तर २०३४ सालमा यो लेख प्रकाशित भएपछि कसैले भानुभक्तको साहित्यिक जिवनमा दुई श्रीमती हुनाका कारण के कस्तो असर पर्‍यो? उनको साहित्यिक लेखनमा के कस्तो प्रभाव पार्‍यो भनेर कसैले खोजी गरेजस्तो लाग्दैन। अझ रमाइलो कुरा त वरिष्ठ चलचित्रकर्मी यादव खरेलद्वारा निर्देशित भानुभक्तको जिवनीमा आधारित चलचित्र ‘भानुभक्त’मा समेत यो कुरा उल्लेख गरिएको छैन।


सायद हामीले अझै पनि इतिहासप्रति न्याय गर्न सिकेका छैनौं। जिवनी लेख्दा र पढ्दा जहिल्यै खड्किने कुरा नै यही हो: कैले लेखिएला पूर्ण इतिहास जहाँ एउटा मान्छेका सबै पक्षका बारेमा जान्न र पढ्न पाइयोस् !!

Comments

  1. इतिहास जुन मूलप्रवाहबाट अलग्गिएको छ, वा जस्को पक्षमा बिश्वसनीय तथ्य जीबित छैनन्, त्यो पूर्णतया ब्याख्या/बिश्लेषणमा निर्भर रहने गर्दछ । भानुभक्तको पहिलो बैवाहिक जीवनको दुखद अन्त्य र दोश्रो गृहस्थीले उनको मानसमा सम्भवत: केहि बदलाव आएको हुनु पर्छ । तर, यति तथ्यलाई मात्र मानसमा राखेर उनको साहित्यलाई ब्याख्या गर्नु पनि कतिपय अवस्थामा अन्यायपूर्ण ठहरिन सक्छ । उनको समय, सामाजीक अवस्था र संस्कृतिको प्रभावका कारण, उनको लेखनीमा माथि उल्लेखित बिषय न्युन प्रभावयुक्त भएको पनि हुनसक्छ ।

    ReplyDelete
  2. हो, अझ उनको लेखनीमा त्यसको सकारात्मक नै प्रभाव पनि परेको हुनसक्छ। तर अध्येताहरूले यसको बारेमा अनुसन्धान नै नगरेको देखिन्छ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

देश छोडेका ५ बर्ष

भड्किएका हामी, बतासिएको बहश

निद्रा, तन्द्रा, भ्रम र यथार्थ