‘गोजी यन्त्र’ यात्रा

बिए तेस्रो वर्षमा पढ्दै थिएँ पहिलोपटक ‘गोजी यन्त्र’ किन्दा। यो ‘मिडिल क्लास’ हुनुको फाइदा। आफूलाई मन लागेको कुरा किन्न सधैं आफ्नै योगदान रहन्छ। मलाइ थाहा छैन मेरो बुबाले मलाइ घडीसम्म किनेर दिएको। घडी, मोबाइलजस्ता कुरा माग्‍नुपर्दा जवाफ पहिलानै थाहा हुन्थ्यो- ‘आफैं कमाउने अनि मन लागेको कुरा किन्ने।’ त्यसैले सारै दिमागलाई चलाउनु परेन यस्ता सामान किनीमाग्‍न एक-दुई पटक बाहेक।

इन्टरनेटसँग जानपहिचान भएको त पहिला नै हो तर यसलाई आफ्नो लागि प्रयोग गर्न भन्दा अरूकै लागि प्रयोग गरिंदै आइएको हो। ‘मिडिल क्लास’ हुनुको अर्को गजब फाइदा छ- सधैं पेण्डुलम। यता ठोक्कियो, उता ठोक्कियो अनि जहाँको तहीं घुम्यो। ब्याट्री हुञ्जेल। सकिएपछि के गर्ने? अन्योल नै रहन्छ। फेर्ने हैसियत राम भरोसा, अनि पेण्डुलम हल्लिन बन्द हुन्छ, त्यसपछि ‘जय नेपाल’। अँ जेहोस् अहिले आफ्नै लागि ब्लग लेख्‍ने सुर कसियो। शुरुवात यन्त्रबाटै गरौं भनेर ‘गोजी यन्त्र’ (मोबाइल) रोजियो। मोबाइललाई ‘गोजी यन्त्र’ भन्नुमा पनि अर्थ छ।Mobile-story

भनिसकियो, घरबाट पढ्नको लागि पनि पर्याप्त रकम आउँदैनथ्यो, मोबाइल किन्ने त परको कुरो। क्याम्पस आउँदा र फर्किंदा गाडी भाडाबाट फिर्ता आउने सिक्काले काम गर्‍यो। धन्न, गाडी भाडा ६ रुपिँया मात्र थियो र, त्यसको ठाउँमा ५ रुपिँया भाडा भएको भए यो ‘गोजी यन्त्र’ किन्न अरू कति वर्ष लाग्थ्यो थाहा छैन। तीन महिना लगाएर जम्मा पारेको सिक्काले नेपाल टेलिकमको एउटा पातलो पातो किनियो, सिमकार्ड। सिक्का थिए होलान् २ किलो जति त्यो सबै दिएर तौल नभाको पातो ल्याइयो।

सिमकार्ड त किन् मोबाइल सेट त भैहाल्छ नि भन्नेलाई अरू एक-दुई दिन चिन्ता थपियो। सिमकार्ड किन्न तीन महिना सिक्का बटुलेर बसेको मलाई सिमकार्ड राख्‍ने भाँडो फेला पार्न गार्‍हो भएन। भेटियो ‘नोकिया ११००’। यो यन्त्रको खुब खाँचो परेको हो नहुञ्जेल त। तर यसलाई गोजीमा राखेपछि पो थाहा भयो यो ठाँडोको मलाई केही काम रहेनछ। यसलाई गोजीमा बोकेको दुई साता बितिसक्दा पो थाहा भयो मोबाइल भनेको ‘गोजी यन्त्र’ पो रहेछ। दुई सातासम्म यसको घण्टी सुन्न ‘रिङ् टोन’मा गएर प्ले गर्नुपरेपछि चेत खुल्यो तीन महिना लगाएर जम्मा गरेको सिक्का खेरै गएछ।

जसोतसो ‘गोजी यन्त्र’लाई कानसम्म त पुर्‍याउनै पर्‍यो। तर के गर्ने? कोठामा टेलिकमको ‘ल्याण्डलाईन’ त थियो तर पनि यसको तङ्द्रयाङ्तुङ्रुङ् भन्दा सानो भाँडो कानमा राखेर बोल्दा अर्कै आनन्द छँदैथियो। अनि शुरु भयो ‘तिर’ हान्ने काम भन्नाले ‘मिस कल’। दुई-चारओटा नम्बर मा ‘तिर’ चलाउँदा कसो एकदुई जवाफ नभेटिएला त ! आँट त गरियो तर चुनौती उत्तिकै थियो। मस्की मस्की गफ गर्ने सुर कसेको मान्छे गालीले भरिपूर्ण भइयो भने त ‘कान यन्त्र’ हुने जोशमा ‘गोजी यन्त्र’ मै सिमित हुने सम्भावना छँदैथियो। ‘हेरेर मर्नु भन्दा त छेरेरै मर्नु जाती’ ।

आँट गरियो। तर दिमाग लगाएर नम्बर छनौट गर्ने। ९८४१४२—- भन्दा तलका नम्बरको निवेदन सोझै रद्द। ‘रिस्क’ थियो नि त। यो भन्दा तलका नम्बर बोक्‍ने महाशयहरूले त ‘इनकमिङ्’ को पैसा तिरेको थाहा थियो, त्यसैले यी महाशयहरू भद्र भलाद्‍मी हुने पक्का थियो। त्यसैले यो भन्दा माथिका नम्बरलाई मनलागि थिचियो अनि अरुको शान्तिलाई भङ्ग गरियो।

पेण्डुलम त पहिलानै भइएकै हो के भो र। तर यो ‘गोजी यन्त्र’ ले काम गर्‍यो। दुई तीन दिनमै १५।१६ वटा ‘मिस कल’ बजे। अब भने यो यन्त्र गोजीबाट कानमा पुग्‍ने भयो। भलै कानसम्म पुर्‍याउन खाजाको पैसाको तिलाञ्जली दिनुपर्ने भयो। सारै दु:ख लागेन। ‘गोजी यन्त्र’ले कमाल गर्‍यो। अहिलेसम्म नभएको काम यसले त केही दिनमै गर्‍यो। यो त गजबै भयो। अनुहारले काम गरेको थिएन, बोलीले काम गर्‍यो। यो यन्त्र नहुञ्जेल ‘डेटिङ’ गएको देखेको हो, यो यन्त्रले ‘डेटिङ’ लग्यो। लौ जा ठूलै छलाङ् पो मारियो त। तीन वर्ष मात्रै त भयो यो यन्त्रलाई आत्मसात् गरेको। ६ ओटीसँग त ‘डेटिङ’ नै लगेछ यसले, ६ महिनालाई एउटा। भलै सबै ‘डेटिङ’ ‘सेटिङ’ भएनन् होला। तर जति भए ती सम्झन लायककै भए।

धन्न कलियुगमा जन्म लिइएछ। आँखाले हेर्दै गर्भ रहने युगमा जन्मेको भए गर्भै रहने गरी यो यन्त्रमा बोल्दा धृतराष्ट्र पछि पर्ने थिए। अहिले मेरो यो यन्त्रलाई मैले ‘सामाजिक यन्त्र’ भन्ने गरेको छु। कारण छ। आफ्ना श्रीमान् विदेशमा बसेर गरेको दु:खलाई यही यन्त्रका कारणले खेर जान दिएनन्। धन्न यो यन्त्र थियो र यसैले रातीको महत्वपूर्ण समय सदुपयोग भयो। बोल्दैमा के बिग्रिने हो र! हो डरलाग्दो पनि छ यो यन्त्र। दुईओटीका श्रीमान् त बाहिरै पो रहेछन्। सधैंको सुरिलो आवाज  रातको ११ बजे एकाएक कर्कस पुरुषको आवाजमा परिणत हुँदाको पिडा पनि कति मिठो थियो।

गजबको कुरो त अर्कै छ- पेण्डुलम। उनको बुढो आयो, रात उनको रङ्गीन भयो। आफू फेरि पेण्डुलम। दुई चारओटी दुईचार महिना रमाए, जे जे गर्ने गरे, गए। आफू फेरि पेण्डुलम। यो पेण्डुलम हुने क्रम चलिरहेकै छ। ‘गोजी यन्त्र’ कानसम्म पुग्यो अनि गोजीमा हुने चीज पनि गोजीमा रहेन। मोबाइल त फेरि पनि सधैं गोजीमा रहने वस्तु हैन यसको कुरै भएन।

२०६७ सालमा मोबाइलको ठाउँ गोजीमा हुनुपर्ने वस्तुलाई नै दिने सोचका साथ यसको खान्की खर्च २,००० हजारबाट थोरै घटाएर २०० मा मात्र सिमित राख्‍ने विचार गरेर यसलाई यी शब्द श्रद्धाञ्जली दिन मात्र खोजिएको हो। यो ‘गोजी यन्त्र’ को अरू महिमा त लाखौं जनताले गाउन सकेका छैनन्। म त ‘मिडिल क्लास’। भो के हिम्मत गर्नु।

नोट: यो ब्लग पोष्ट मेरो पहिलो ब्लग हो। पहिला मेरो ब्लग sanubhai.wordpress.com बाट उत्खनन् गर्न ट्विटरका @ipanku ले सघाएका हुन्। पंकुलाई हार्दिक धन्यवाद)

Comments

Popular posts from this blog

देश छोडेका ५ बर्ष

भड्किएका हामी, बतासिएको बहश

निद्रा, तन्द्रा, भ्रम र यथार्थ