विजयकुमारलाई खुला पत्र

आदरणिय दाइ विजयकुमारज्यू,

नमस्कार !

पत्रकार र प्रहरी मात्र यस्ता व्यक्ति हुन सक्छन् जस्ले समाजका कुरिती विरूद्ध लडन आफ्ना बाबुसम्मलाई नंगाउनु पर्छ भन्ने सामान्य कुरा मैले पत्रकारिता पढेर जानेको हुँ। तर समयक्रमसँगै मेरा यी मान्यताहरू बारम्बार बलात्कार भएको पाएको छु, त्यो पनि संरक्षणको जिम्मा लिएर बसेकाहरूबाट। मैले यहाँ तपाईंलाई व्यक्तिगत रूपमा लान्छना लगाउन यो पत्र लेख्दै छैन तर मेरो चिन्ता प्रवृत्तिको हो। तपाईंले पत्रिकामा लेख्ने प्रेरणादायी लेखहरू, अन्तर्वार्ता लिने शैली र आफूलाई प्रस्तुत गर्ने शैलीको कायल व्यक्ति भएकोले र आफूले आदर्श व्यक्ति मानेकोले तपाईंको अनुमति बेगरै यो पत्र लेख्ने जमर्को गरेको छु।

२०६९ साल बैशाख १४ गते साँझ कान्तिपुरबाट प्रसारित तपाईंको कार्यक्रम ‘दिशानिर्देश’मा तपाईंले तपाईंको मोबाइल फोनप्रति देखाउनु भएको आशक्तिले तपाईंको बारेमा केही लेख्ने प्रेरणा दियो यसका लागि तपाईंलाई धन्यवाद।

[caption id="attachment_270" align="alignleft" width="300"]विजयकुमारज्यूले आफ्नो फेसबुक वालमा दिनुभएको स्पष्टिकरण विजयकुमारज्यूले आफ्नो फेसबुक वालमा दिनुभएको स्पष्टिकरण[/caption]

अब मूल कुरो:

हामीले (तपाईंजस्तै वरिष्ठहरूले) व्यवसायिक मर्यादाका बारेमा दिने ठूला ठूला प्रवचनका बारेमा यहाँ चर्चा गर्नु उपयुक्त नहोला। चोर, फटाहा, अपराधि, राजनैतिक नेतृत्व, पुलिस प्रशासन र साधारण नेपाली जनतालाई मान र मर्यादा तथा नैतिकताका ठूला ठूला दृष्टान्त तपाईंका कलम र बोलीबाट बारम्बार प्रष्फूटित भएका छन् र भविश्यमा पनि हुनेछन्। तर कृपा गरेर तपाईंहरूले आफ्नो नैतिकता र अरूलाई गर्नुपर्ने मर्यादाका बारेमा कहिल्यै सोच्नुभएको छ? यदि थियो भने अवश्यपनि तपाईंले आफ्नै कार्यक्रमको अतिथिका अगाडि अन्तर्वार्ताकै क्रममा फोन उठाएर संवाद गर्नुहुन्थेन होला।

अझ रमाइलो कुरा, तपाईंले आफ्नो फेसबुक वालमा दिनुभएको स्पष्टिकरणले म अवाक् भएँ। तपाईंले भन्नुभएको छ- ‘भूलबस मैले फोन साइलेन्स वा स्वीच अफ गर्न बिर्सेछुँ।‘ पक्कै पनि भूल मान्छेबाट हुन्छ नै। तर रेकर्ड गरिएको अन्तर्वार्तामा भूलबस भएको कुरा सम्पादन गर्दा काट्ने हिम्मत किन गरिएन? यदि त्यसो भएको भए तपाईंले तपाईंको अतिथिलाई गर्नुभएको अपमानको बारेमा कम्तिमा दर्शकले थाहा पाउने थिएनन् र उनीहरूले अपमान बोध गर्ने थिएनन्। यदि मैले यसरी गल्ति गरें तपाईंहरूबाट पनि गल्ति हुनसक्छ भनेर अरूलाई सावधान गराउन खोज्नु भएको हो भने तपाईंको साहसलाई सलाम !!

 

 

तर मैले बुझेको तपाईंको त्यो मानसिकताको जड अर्कै छ। तपाईंको दिमागमा सन् १९३०को दशकमा मान्ने गरिएको ‘मिडियानै सर्वशक्तिमान हो’ भन्ने धङ्धङीको तुष अझै बाँकि रै’छ। तपाईंले बुझ्न सक्नुपर्थ्यो ‘मिडिया सर्वशक्तिमान हो’ भन्ने कुरा त सन् १९४० र ५० को दशकमा नै निकालिएको ‘समाजका हरेक सदस्यहरू संचारका लागि मिडियामा मात्र निर्भर हुँदैनन् बरू उनीहरू आफ्नो कुनै बेग्लै समूह र समूदायमा समेत निर्भर रहेर संचार गरिरहेका हुन्छन्’ भन्ने निचोडबाटै शहिद भैसकेको थियो।

हो, फेरि ७०को दशकसम्म आउँदा मिडियाले ‘विवाद’को उत्पादन गर्छ वा समाजमा देखिरहेका र घटिरहेका तर समाजले विचार नगरेका कुराहरूमाथि मिडियाले छलफल गर्न बाटो बनाइदिन्छ भन्ने एकथरीको दाबी रहेकै हो। तरपनि यसमा मिडिया सर्वशक्तिमान नभएर एउटा मध्यस्तकर्ता मात्र हुन्छ र सबै कुराको निर्क्यौल मिडिया एक्लैले गर्न सक्दैन भन्ने कुरा पनि सँगै जन्मिएको थियो। मिडियाले दिएका कति कुरा लिने र कसरी लिने भन्ने कुरा ‘अडियन्स’ले निर्क्यौल गर्छन् भनेर नै मिडिया प्रभावमा पढेको कुरा हो। समाचारले दिने सन्देश व्यक्तिले कसरी लिन्छ भन्ने कुरा व्यक्तिको सामाजिक, आर्थिक, शैक्षिक पृष्ठभूमि अनुसार फरक पर्छ भन्ने कुरा तपाईंहरूले बिर्सिनु भएजस्तो लाग्छ।

बिडम्बनाका साथ भन्नुपर्छ, हामीकहाँ आफूलाई पत्रकारिताको सगर थामेको दाबी गर्ने तपाईंहरूजस्तै स्वघोषित वरिष्ठहरू अहिलेसम्म पनि १९३० को दशकको ‘मिडिया सर्वशक्तिमान’को धङ्धङेबाट बाहिर निस्किन सक्नुभएको छैन। केही महिना अघि ‘वरिष्ठ’ मध्येकै एक किशोर नेपालज्यूले सामाजिक सञ्जालका बारेमा गर्नुभएको टिप्पणि र आफूलाई टेलिभिजन ‘आइकन’का रूपमा चिनाउन रूचाउने तपाईं र भुषण दाहालज्यूहरूका बिचमा हामीले कुनै अन्तर देखेनौं।

नैतिकता र शरम बेचेर जिविकोपार्जन गर्न खोज्नुभएको हो भने अथवा ‘नाम होस्, बदनाम होस् तर गुमनाम नहोस्’ भन्ने मात्र सोच्नुभएको हो भने तपाईंहरूको ३०को दशकको दिमागी धङ्धङेलाई ‘राम राम’। तपाईंहरूले नै हामीलाई पढाउनु भएको हो- अन्तर्वार्ता अघिका तयारी, अन्तर्वार्ताका क्रममा ध्यान दिनु पर्ने कुरा, अन्तर्वार्ताका समयमा अतिथिसँग गर्ने व्यवहार, समाचार रिपोर्टिङ्का क्रममा ‘समाचार स्रोत’ प्रति गरिने व्यवहार आदिका बारेमा।

हामी चाहान्छौं, व्यवसायिकता, मर्यादा र नैतिकताको संकटबाट गुज्रिरहेको नेपाली पत्रकारितालाई तपाईंहरूजस्तो आफूलाई आदर्श व्यक्ति भएको देखाउन रूचाउनेहरूले सही बाटोमा ल्याउनुस् ताकि हामीले नयाँ पुस्तालाई भन्न सकौं केही सिकौं पुराना पुस्ताबाट भनेर। तपाईंलाई त थाहा छ, नेपाली पत्रकारितामाथि कहाँ कहाँ कसरी कसरी आक्रमण भैरहेको छ। त्यसमाथि तपाईंहरू आफैंले कोरेका नैतिकता र मर्यादाका पर्खालहरू किन भत्काइरहनु भएको छ?

कृपा गरेर अघि लागेर हिंडेपछि बाटो बनाउन सक्नुहुन्न भने अरूले सुरक्षितसाथ हिंडन खोजेको बाटो त नभत्काइदिनुस्।

तपाईंको र नेपाली पत्रकारिताको शुभ चिन्तक

२०६९-०१-१५ गते शुक्रबार

Comments

Popular posts from this blog

देश छोडेका ५ बर्ष

भड्किएका हामी, बतासिएको बहश

निद्रा, तन्द्रा, भ्रम र यथार्थ