सामाजिक सञ्जाल र पुराना पुस्ता
गएको शनिवार साँझदेखि ट्वीटरमा एउटा बम खस्यो। सामाजिक सञ्जाललाई जिवनको अभिन्न अंग मान्नेहरूका बारेमा मुटु दुख्ने गरि नेपाली पत्रकारिता क्षेत्रमा सम्मानका साथ लिइने नाम ‘किशोर नेपाल’ज्यूले सोसल मिडिया प्रयोगकर्ताका बारेमा गरेको निकृष्ट टिप्पणीले ट्वीटर प्रयोगकर्ताहरूको दिमागमा ठूलो झापड हानेको महशुस गरियो।
सामाजिक सञ्जाल माथि केटाकेटीहरू अथवा अनुहार नचिनिनेहरूको नियन्त्रण छ भनेर एकजना वरिष्ठ वरिष्ठले गरेको टिप्पणि जति निन्दनीय छ त्यो भन्दा पछाडि यस्तो टिप्पणिको कारण खोज्नु जरूरी छ। यो टिप्पणिलाई हेर्ने हो भने उहाँको भनाइमा केही सत्यता छ। कारण: सामाजिक सञ्जालबाट उहाँहरू जस्तो बूढापाकाहरूको पक्कड खुस्किँदै गएको छ, र उहाँहरूले नचिनेका अनुहारहरू सामाजिक सञ्जालमा प्रख्यात भएका छन्। यो पक्कै पनि उहाँहरूका लागि असह्य कुरा हो। स्वभाविक छ, नेपालमा वा विश्वमै सामाजिक सञ्जालहरूको लोकप्रियता जुन गतिमा विकसित भैरहेको छ त्यसले सञ्चारका पुराना माध्यमहरू माथि धावा बोलेको छ। आजको पत्रकारिता कुनै एउटा पत्रिका वा रेडियो वा टेलिभिजनमा मात्र सिमित छैन। विश्वमा अहिले नागरिक पत्रकारिता (Citizen journalism) र एक-व्यक्ति-पत्रकारिता (One-Man-Journalism)ले दिनदिनै ठूलो फड्को मारिरहेको छ। अब पत्रकार हुन कुनै पत्रिका वा रेडियो टिभीमा कार्यरत हुनु आवश्यक छैन।
किशोर नेपालज्यूको टिप्पणी यही विकासको विरूद्धमा हो। उहाँको यो टिप्पणीले सूचनाको प्रवाह उहाँहरूजस्तै केही सिमित व्यक्तिहरूका मार्फत् मात्र होस भन्ने चाहनाको पक्षपोषण गर्छ। ट्वीटरमा उहाँको टिप्पणीको व्यापक आलोचना भएपछि उहाँले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सामाजिक सञ्जाललाई एउटा नोटिस बोर्डको रूपमा मात्र लिएको र समाजप्रतिको उत्तरदायित्वलाई बेवास्ता गरिएको दोष लगाउनु भएको छ। यो कुरालाई केही हदसम्म स्वीकार गर्न सकिएला तर उहाँले के बिर्सनु हुँदैन भने आफूलाई राष्ट्रिय र मूलधारको पत्रकारिता गर्ने भनेर बकिएका पत्रिकाहरूले डा. भक्तमान श्रेष्ठको अपहरणका बारेमा वा अनुजाका समाचार छाप्दा सामाजिक दायित्वलाई कहाँ लुकाएर राखेका थिए? समाज परिवर्तनको ठेक्का लिएका मूलधारे पत्रकारिताको नाममा ‘बोकेगफ’ पत्रिकाहरू चलाउँदा पत्रकारिताको सामाजिक उत्तरदायित्वको सिद्धान्तलाई हेरिनु पर्छ कि पर्दैन? कृपया हामीलाई भनिदिनुस्: नेपाली समाजमा सेक्स, क्राइम र ड्रग्सलाई समाजको जरा जरामा पुर्याउन सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको भूमिका बढी छ वा तपाईंहरू जस्ता मूलधारे पत्रकारहरूको? खुलम्खुल्ला अर्काका लेखहरू जस्ताको तस्तै चोरेर छाप्दै पाठकहरूलाई मुर्ख बनाउने मूलाधारे पत्रकारिता गर्नेहरू कि सामाजिक सञ्जालका प्रयोगकर्ताहरू?
सामाजिक सञ्जाल भित्र विकृति नभएका पक्कै होइनन्। स्वभाविक छ: सबै मानिसहरू एकै किसिमका हुँदैनन्। जसरी सामाजिक सञ्जालको लोकप्रियताका लागि यसका प्रयोगकर्ताको हात रहन्छ त्यसैगरी यसका चुनौति पनि प्रयोगकर्ता नै हुन्। तर त्यसो भन्दैमा सारा सामाजिक प्रयोगकर्तालाई ‘साधारणीकरण’ गर्दै बच्चा, परिचय लुकेका वा आदिमानवको संज्ञा दिनु दरिद्र सोचको उपज हो। यदि त्यसो हो भने नेपालका मूलधारे पत्रकारिता गर्नेहरू सबैभन्दा बढि भ्रष्ट छन् भन्न मिल्छ कि मिल्दैन? देशमा सबैभन्दा बढि बिक्री हुने भनिएका र लाखौं पाठक भएको दाबी गरिएका पत्रिकाहरूका कुन कुन पत्रकारले १५ हजार तलबबाट काठमाडौंमा महल ठड्याएका छन् भन्ने कुराको डाटा चाहिएको भए आउनुस् म तपाईंलाई उपलब्ध गराउँछु र तपाईं फेरि ट्वीट गर्नुस्- ‘नेपालको पत्रकारिता भ्रष्टहरूको पकडमा छ’। एउटा राजनैतिक दलको झण्डा बोकेर वा एउटा राजनैतिक नेतालाई काँधमा बोकेर कम्तिमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले देशलाई गद्दारी गरेका छैनन् जति मात्रामा मूलधारे पत्रकारिता गर्ने तपाईंहरू जस्ता बुद्धिजीविले गरेका छन्। स्वतन्त्र पत्रकारिता गर्ने नाममा खुलम्खुल्ला कुनै अमूक पार्टी वा अमूक नेताको चाकरी गर्नेहरू सामाजिक सञ्जालमा कमै होलान्।
नेपालका राजनैतिक दलहरू अथवा नेताहरूलाई भ्रष्ट बनाउन जति त्यो व्यक्तिका घर परिवारको हात छ त्यत्ति नै अमूक मन्त्रिको सल्लाहकार वा सरकारी सञ्चार माध्यमको निर्देशक सम्पादक बन्ने सपना बोकेर चाकरी गर्ने तपाईंहरू जस्ता वरिष्ठको हात छ। सत्य सँधै तितो हुन्छ तर पनि सत्य त सत्य नै हो। विश्व राजनीतिमा सामाजिक सञ्जालकै माध्यमबाट भएका परिवर्तनकारी आन्दोलन हुन् वा नेपालका मूलधारे पत्रकारितामाथि खबरदारी गरेका घटना हुन् सामाजिक सञ्जालले समाज परिवर्तनमा उल्लेख्य योगदान गरेका छन्। यसलाई देख्न नसक्नु दृष्ट्रिभ्रम मात्र हैन सोचमा रहेको दरिद्रताको उच्चतम नमूना हो।
नेपाली समाज परिवर्तनका संवाहक भनिएका र हजारौं मान्छेले सम्मानका साथ हेर्ने गरेका व्यक्तिहरूबाट यो स्तरमा टिप्पणी आउनु दुखद मात्र हैन सोचको दरिद्रता हो। सामाजिक सञ्जालको मूख्य अवधारणा नै प्रत्येक व्यक्तिको भावनाको स्वतन्त्र अभिव्यक्तिको लागि भएको हो भन्ने नबुझ्नु भएको हो भने योभन्दा दुखद अरू के हुन सक्छ? किशोर नेपालज्यूको अन्तिम टिप्पणीले हाँसो लाग्छ। यदि सामाजिक सञ्जाल नोटिस बोर्ड हो भने मेरो व्यग्तिगत सूचनामा कि यति धेरै अनावश्यक विवाद?” ‘भीरबाट लड्ने गोरूलाई राम राम मात्र भन्न सकिन्छ, काँधै हाल्न सकिँदैन।’ उहाँको स्तरमा रहेको मान्छेलाई किशोर नेपाल र साधारण मान्छेको सूचना (बोली)मा फरक छ भन्ने पनि अब सामाजिक प्रयोगकर्ता तन्नेरी बूढाहरूले सिकाउँने दिन आए। यो भन्दा ठूलो दुर्भाग्य के हुन सक्छ? अन्त्यमा ब्रजेश खनालको यो टिप्पणी:”नयाँ पुस्तालाई नगन्ने, स्वीकार नगर्ने र मै जान्ने मै सुन्ने, म मात्र बिद्वान, अरु सबै उल्लू हुन् भन्ने सोच राख्ने पुराना पुस्ताले यस्ता भ्रम पालिराख्ने हो भने कालगति भन्दा पहिले नै वैचारिक रूपमा उनीहरूको अवसान हुन्छ।”
आगो यसरी सल्किएको थियो: किशोर क्रन्दन
Comments
Post a Comment