व्यवसायिकता भर्सेस अलपत्रकारिता

आफ्नो चासो र आफ्नो शिक्षा दुवै मिल्ने भए’सि नेपाली पत्रकारिता सधैँ छनौटमा पर्छ केही लेख्नु पर्दा। पोष्टपो सम्पादक त तर खरदारको काम नि गरिन्छ पुस्तकालयमा। दिनदिनै प्रकाशित हुने नेपाली पत्रिकाहरू दर्ता गर्दा धेरै कुरा फाइदा छ, पत्रिका पढन पाइन्छ। त्यसैले त विरक्तिन्छु म। खै अरू चाहिँ के गर्छन् यति धेरै पत्रिका सित्तैमा पढ्न पाउँदा म चाहिँ रून्छु। रुन्छु किनकि पत्रकारिता नगर्दा पनि यो पेशा मेरो मनको एकदमै नजिक छ।




[caption id="attachment_91" align="alignleft" width="360"]professional-journalist-image professional-journalist-image via www.mediamum.net[/caption]

मैले पढेको पत्रकारिता र मैले देखेको पत्रकारितामा आकाश जमिनको फरक देखिन्छ। दैनिक पत्रिका दर्ता गर्दा मैले अनुभव गरेको नेपाली पत्रकारिता सारै टीठ लाग्दो लाग्छ।




नेपाली दैनिक पत्रिकामै काम गर्ने साथी ‘रमेशकुमार‘जीको फेसबुक स्टाटसले नेपाली पत्रकारिताको वास्तविकता ओकल्छ- “सात वर्ष पत्रकारिता पढ्दा सिकेको कुरो थियो – ‘पत्रकारिताको धर्म युद्द लड्नु हो – झुटो विरुद्धको, असत्य विरुद्धको ।’ अहिलेका ‘जानिफकार’ हरु भन्छन – ‘पत्रकारिताको कुनै धर्म हुँदैन, रक्सी उत्पादन गर्नु र समाचार लेख्नु उस्तै हो ।’ कठै ! म जस्ता विचराले कुनथरी ‘मठाधिस’ को कुरो पत्याउनु ! पी. साईनाथ भन्ने विद्दानले ‘फोर्थ इस्टेट’ फेरिएर ‘रियल इस्टेट’ भयो भन्थे अरे, त्यसै चैँ भनेका होइन रैछन ।”


एउटा पत्रकारिता अध्ययन गर्दै दैनिक पत्रिकामा काम गर्ने पत्रकारको यो अनुभव निश्चयनै सुखदायी देखिँदैन। स्वभाविक छ कुनै पनि व्यवसाय गरेपछि त्यसबाट नाफा आर्जन गर्ने कुरा, तर नेपाली मिडियामा लगानी गर्नेहरूले पटक्कै नबुझेको कुराचाहिँ के हो भने ‘सपिङ मल’ र ‘मिडिया हाउस’ फरक व्यवसाय हुन्। साना तिना साप्ताहिक पत्रिकाको कुरा नगरौं तर आफूलाई राष्ट्रिय स्तरको भनेर दाबी गर्ने पत्रिकाहरूले राष्ट्रियको अर्थ बुझ्नु जरूरी छ। नेपालको पत्रकारितामा सारै धेरै लोकप्रिय शब्द चाहिँ “पहिलोपटक” हो। हाम्रा विद्वान पत्रकार साथीहरूले हरेक कुरा पहिलोपटक भएको लेख्न कुनै कन्जुस्याँई गर्नुहुन्न किनकि पहिलोपटक भनेपछि त ‘स्कूप’ जो हुन्छ। अनि आज बानेश्वरमा दुईजनाले पहिलोपटक एकैपटक पाधे भनेर स्कूप मार्छन् हाम्रा पत्रकारहरू।


संचारगृहमै लामो समय काम गरेका गोकर्ण पौडेलको यो भनाई पनि हेरौं न- “मैले पनि करिब १३ बर्ष पत्रिका कार्यालयमै काम गरे । दुःखका साथ भन्नु पर्दा साच्चै आचारसंहिता [Ethic] मा बसेर पत्रकारिता गर्ने संचार गृह कुनै छैनन् । कि पार्टीका मुखपत्र, कि नाफामुखी ब्यबशायका लागि, कि त कालो धनलाई चोख्याउन कै लागि मात्र पनि संचालित छन । समय सन्दर्भ आएमा त्यस्ता संचालकहरुले कस्तो सम्म कर्तुत गरेर ब्यबशाय गर्दै आएका छन्…बसेर छलफल गरौंला।” यदि यही कुरालाई सत्य मान्ने हो भने हामीले पत्रकारितालाई कसरी मर्यादित पेशा भन्न सक्छौं? पत्रकारिता ईतरको एउटा ठूलो समूह छ जस्ले ‘पत्रकारले पैसाका भरमा जे पनि लेख्छ’ भन्छन्। आजकालका पत्रिकाहरू हेर्दा यो कुरालाई नकार्न सकिने ठाउँ पनि छैन।


नेपाली मूलधारे पत्रकारिता अहिले पनि गोरखापत्र युगबाट अगाडि बढ्न सकेको छैन। त्यही घीसिपिटि, त्यही प्रेस कन्फरेन्सका समाचार, त्यही नेताहरूको भाषण: यीनै हुन् मूलधारे पत्रकारिताको दैनिक बिषय। रमाइलो त के छ भने हाम्रामा प्रकाशित हुने सबै पत्रिका राष्ट्रिय पत्रिका हुन्। लाज लाग्नु पर्ने हो… राष्ट्रिय भनेको के हो? दैनिक पत्रिकाका समाचारमा आफ्नो भर्सन समेत राखेर गर्नु गाली गरेर निकाले पछि राष्ट्रिय हुने हुन् साप्ताहिक पत्रिका? नेपाली पत्रिकाहरूले बढीमा नेपालका १०वटा जिल्लाका सम्चार छाप्छन् । कुनै मन्त्री वा राजनैतिक पार्टीको ठूलै टाउके जिल्ला नपुगुञ्जेल कुनै समाचारै आउँदैनन् जिल्लाका। अनि कसरी भए यी राष्ट्रिय पत्रिका? जताततै समावेशी कुरा चलिरहँदा समाचार पत्रहरूमा पनि समावेशी हुनुपर्ने नि क्षेत्रगत रूपमा। खै त त्यसो हुन सकेको !


अर्का एकजना दैनिक पत्रिकाका पत्रकार लेनिन बन्जाडेको यो ठट्टा ठट्टा मात्रै होइन शतप्रतिशत साँचो छ- “नेपालमा तीनथरी पत्रिका छन्, (१) पसलमा सामान प्याक गर्ने (२) भात खाँदा थालमुनि ओच्छ्याउने (३) आपतै परेको बेला छोराछोरीको आची पुछ्ने :P ” यो वास्तविकता हो, नेपालका पत्रिकाको हैसियत योभन्दा माथिल्लो छँदैछैन। केही अपवादका बारेमा कुरा नगरौं तर समग्रमा हेरौं न। ठूला कर्पोरेट हाउसका पत्रकारहरू हाकिम भैहाले..टेबुलमुनिबाट मात्र लिने। यिनीहरू ठूला होटलमा अथवा अफिसका हाकिमसँग मात्र ‘डिल’ गर्छन्, जुन तलका कर्मचारी र हामीजस्ता सोझाले थाहै पाउँदैनौं। अनि साना साना साप्ताहिकका पत्रकारहरू दुई थरीका छन्- १) सम्चार लेखिसकेर प्रेसमा पठाउनु अघि बार्गेनिङ गर्ने र २) गलत भएको था’पाउने बित्तिकै बार्गेनिङ गर्ने। अब तपाईं भन्नुहोला- ‘पत्रिकामा त खुफै गाली गरेका हुन्छन् नि’। ती सबै बार्गेनिङ नमिल्नाका परिणाम हुन्। तपाईं १ महिनाका १० पत्रिका हेर्नुस् सबकुरा छर्लङ्गै हुन्छ।


अर्को अहिलेको चुनौति पत्रकारको सुरक्षाको बारेमा पनि छ। यी माथि उल्लेख गरिएका उदाहरणहरूले पत्रकारहरूलाई असुरक्षित बनाइदिएको छ। जहाँ व्यवसायिकताको कमि हुन्छ त्यहाँ स्वभाविक रूपमा बाहिरी आक्रमण हुन्छ। पत्रकार समाजका ऐना हुन्, एकजना पत्रकारले लाखौं जनतालाई सूसुचित गर्छ, एउटा गलत सूचनाले धेरैको घरबार उजाडिन सक्छ। तर व्यवसायिकताको र सुरक्षाको कुरा गरिरहँदा हामी यी कुरामा कति संवेदनशील छौं भनेर एकपटक सोचौं त ! पहिलादेखि कै बहस हो- पत्रकारिता पढने कुरा हैन, गरिने कुरा हो र पत्रकारिता गर्नलाई पढनु पर्दैन भन्ने। पत्रकारिताका क्षेत्रमा लामो समय बिताएका र आदर्शका रूपमा चिनिएकाहरू पनि पत्रकारिता पढने हैन गरिने बिषय हो भन्ने कुराको पक्षपाति छन्। लाज मर्दो कुरा हो। त्यसो भए अब भनौं न त- कैंची चलाउन जान्नेले अप्रेशन गरे हुन्छ भनेर। नत्र डाक्टर हुन एमबिबिएस गर्नै पर्ने, इन्जिनियर हुन इन्जिनियरिङ नै पढनुपर्ने, बैंकमा काम गर्न कमर्सनै पढेको हुनुपर्ने अनि पत्रकारिता गर्न चैं पत्रकारिता पढ्नु नपर्ने किन? हो समस्याको केन्द्रविन्दु यहीं छ। जब पत्रकारिता गर्नेले पत्रकारिताका न्यूनतम मान्यताका बारेमा पढेकै छैन भने त्यसबाट व्यवसायिकताको अपेक्षा गर्नु मुर्खता सिवाय केही होइन। अनि जबसम्म कुनै पनि क्षेत्र व्यवसायिक हुँदैन तबसम्म त्यो क्षेत्र सुरक्षित हुँदैन।


तर त्यसो भनिरहँदा सँगै अर्को कुरा पनि जोड्न मन लाग्छ- पढेर मात्रै मान्छे व्यवसायिक बन्दैन त्यो त व्यक्तिको नैतिकता, बानी र त्यसको स्कूलिङ्ले फरक पार्ने कुरा हो। आरआर कलेजको मास्टर्स्‌मा मभन्दा एक ब्याज जुनियर एकजना साथी एउटा मासिक पत्रिकाका सम्पादक छन्। उनको पत्रिकाको खुपै चर्चा नि हुन्छ बजारमा। एकदिन जावलाखेलको एउटा कलेजमा भाइलाई भर्ना गर्न जाँदा तीनै साथीको चर्चा गरे कलेजका फाउण्डरले। “हाम्रो कलेज गैरकानुनी रूपमा दर्ता भएको भनेर कभर पृष्ठमै फोटो सहित समाचार छापेछ, दुईदिन पछि पत्रिकाको सम्पादक पत्रिका बोकेर आएर भने- ५० हजार दिनुस् अर्को अंकमा भुलसुधार छाप्दिन्छु भनेर, म के गरौं”। उनको यो प्रश्नले म के बोल्ने भनेर अवाक् भएँ। मैले मानेको आदर्श क्षेत्र, मैले सँधै माया र इज्जतले नाम लिने एउटा पेशामाथिको यो बलात्कार थियो। अनि ती मेरा साथीलाई भोलि कसैले मार्‍यो भने मैले पेशाप्रतिको धर्म निँभाउदै गर्दा मेरा साथीले ज्यान गुमाए भनेर म कसरी भनुँ !! कुनै व्यक्ति वा संस्थाको बारेमा जासुसी गरेर पैसाको बार्गेनिङ गर्ने चलन नेपाली पत्रकारितामा २०३६ सालको जनमत संग्रहपछि शुरू भएको हो। कालान्तरमा यसमा सुधार हुने आशा र अनुमानसम्म गरिएको थियो तर अहिले निस्केका साप्ताहिक तथा मासिक पत्रिकाहरूले यसलाई खुल्म्खुल्ला आफ्नो जीविकोपार्जनको मुख्य बिषय बनाएका छन्। अनि कुनै एक व्यक्ति वा संस्थालाई आक्षेप लगाएर वा त्यसको समर्थनमा जुलुसै निकाल्ने पत्रकारिता व्याप्त छ नेपालमा अहिले।


साप्ताहिक वा मासिक मात्र हैन मुलधारका भनिएका र आफूलाई नम्बर वान भनेर दाबी गर्नेहरू पनि यसबाट अछुतो छैनन्। डाबर नेपालसँगको झगडाले नै धेरै कुरा बोल्छ। आजसम्म जस्ले जे जे दाबी गरेपनि व्यापारिक घरानाका नराम्रा कुराहरू एउटा पत्रकारले फेला पारेजति मिडियामा आएकै छैनन्।जति आएका छन् बिचमा बसेर आएका छन्।स्वभाविक छ- पत्रिकाको मुख्य आम्दानी विज्ञापन हो तर यसको मतलब चाकरी गरेर विज्ञापन लिनु पर्छ भन्ने चाहिँ अनैतिक नै हो यदि हामी व्यवसायिकताको कुरा गर्छौं भने।२०३५/३६ सालताका देखिको ‘पत्रकारहरूलाई आफ्नो पक्षमा समाचार लेखाउन कोसेली दिनुपर्छ भन्ने चलन अहिले पनि हराएको छैन। नत्र सधैँ दशैंमा कार्टूनका कार्टून कोसेली हात पार्ने पत्रकार साथीहरूलाई सोधे हुन्छ। मैले पढेको पत्रकारिताको सिद्धान्तले भन्छ- “पत्रकारले कुनै पनि समाचार स्रोतले दिने कुनै पनि किसिमको सहयोग (समाचार दिने बाहेक) लिनु हुँदैन”। अनि मैले देखेको पत्रकारिताले कक्‌टेल पार्टी दिनेको मात्र समाचार छाप्छ। पाँचतारे होटलमा हुने कार्यक्रममा पत्रकारहरूको भीड लाग्नु र सुकुम्बासी बस्तीमा हुने कार्यक्रममा पत्रकारै नजानु यसैको उदाहरण हो। त्यसमाथि कार्यक्रम सकिएपछि आयोजकले दिने खाम त छँदैछ। अनि कसरी हुन्छ समाचारमा ब्यालेन्स? अनि कसरी गर्ने पत्रकारको सुरक्षा र कसरी ल्याउने व्यवसायिकता !!!


Comments

Popular posts from this blog

देश छोडेका ५ बर्ष

भड्किएका हामी, बतासिएको बहश

निद्रा, तन्द्रा, भ्रम र यथार्थ